१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लर्डसको उत्साह

विनोद पाण्डे

काठमाडौँ — विश्व क्रिकेटको ‘मक्का’ लर्डसमा खेल्न पाउनु जोकोही क्रिकेट खेलाडीको लक्ष्य हुन्छ । टेस्ट राष्ट्रको पकड रहेकाले अझ एसोसिएट राष्ट्रका लागि यो एउटा सपनाजस्तै हुन्छ । नेपाली क्रिकेट खेलाडी यस मामलामा धेरै भाग्यमानी मान्नुपर्छ । दुई वर्षको अन्तरमा दोस्रोपल्ट नेपाल ‘होम अफ क्रिकेट’ मा खेल्दैछ ।

लर्डसको उत्साह

बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा गरेको मौका छोपेर नेपालले दुई वर्षअघि लर्डसको ढोका खोलेको थियो । ठीक दुई वर्षपछि नेपालले पुन: लर्डसमा खेल्न लागेको हो । एक हिसाबले विश्व क्रिकेटको पवित्रस्थल मैदान नेपालका लागि पानीपँधेरो जस्तै हुँदै छ । भविष्यमा लर्डसले नेपाली क्रिकेटलाई हेर्ने दृष्टिकोण अझै फराकिलो हुने संकेत देखिएको छ ।

नेपालले आइतबार आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्स सम्मिलित एकदिने त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा प्रतिस्पर्धा गर्दै छ । सन् २०१६ मा एमसीसीसँग खेल्दा वान–डेको परम्परागत सेतो कपडामा उत्रिएको नेपाल यसपालि क्रिकेटको छोटो संस्करणमा उत्रँदा रंगीचंगी पहिरनमा हुनेछ ।

दुई वर्षअघि नेपालले एसोसिएट राष्ट्रको हैसियतमा लर्डसमा पहिलो पाइला राखेपछि गत वर्ष त्यसलाई पछयाउँदै अफगानिस्तान लन्डन पुगेको थियो । अफगानिस्तान त्यसयता टेस्ट राष्ट्र बनिसकेको छ । अन्य एसोसिएट राष्ट्रले यस्तो मौका पाइ नरहेको अवस्थामा नेपालले दोस्रोपल्ट ऐतिहासिक रूपमा लर्डसमा खेल्न लागेको हो ।

‘लर्डसमा खेल्न पाउँदा सधैं उत्साहित हुन्छौं,’ नेपालका कप्तान पारस खड्काले लन्डनबाट कान्तिपुरसँग भने, ‘प्रत्येक खेलाडीको लर्डसमा खेल्ने सपना हुन्छ । हामीले फेरि यहाँ खेल्ने अर्को अवसर पाएका छौं ।’ इंग्लिस काउन्टी क्लब मिडलसेक्सको घरेलु मैदान हो लर्डस । मिडलसेक्सबाट १० वर्ष खेलेका निक कोम्टन एमसीसी टोलीमा छन्, जो नेपाल र नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रनेछन् ।

इंग्ल्यान्डका यी ब्याट्सम्यानमात्र एमसीसीका परिचित अनुहार होइनन् । श्रीलंकाको विश्व टान्टी–२० विजेता खेलाडी माहेला जयवद्र्धनेको कप्तानीमा रहने एमसीसीमा इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायत छन् ।

लर्डसको यही खेलले अर्को संयोग जुराइदिएको छ । नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पुनरागमन गर्दै छ । २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग खेले यता नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन । २०१३ को विश्व ट्वान्टी–२० मा छनोटमा तेस्रो भएर विश्वकपमा पुगेसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यो लामो समय टिकेन । २०१५ मा आयरल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा दोस्रो अन्तिममा रहेपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो । त्यसपछि नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

दुई वर्षअघि लर्डसमा नेपालले एमसीसीसँग खेल्दा कप्तान पारस खड्का ब्याटिङ गर्दै र रंगशालामा उपस्थित नेपाली दर्शक । फाइल तस्बिर : कान्तिपुर

एमसीसीले नेपाल र नेदरल्यान्ड्सलाई लर्डसमा तटस्थ भूमिको आतिथ्यता प्रदान गरेपछि आईसीसीले यस खेललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको हो । मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालसँग अहिले चारवर्षका लागि ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि रहेको छ । ‘लर्डससँगै टान्टी–२० अन्तर्राष्ट्रियको प्रतीक्षामा पनि छौं, नेपाली क्रिकेटका लागि यो उत्साहित हुने समय हो,’ पारस भन्छन्, ‘पछिल्लोपल्ट लर्डसमा खेल्दाको सम्झना अद्भूत छ । आशा छ यसपालि पनि त्यस्तै राम्रो प्रदर्शन दोहोर्‍याउँदै इतिहास रच्नेछौं ।’

पछिल्लोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दाका पारससहित ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सुवास खकुरेल गरी ७ खेलाडीमात्र नेपाली टोलीमा छन् । सुवास तीन वर्षपछि राष्ट्रिय टोलीको आधिकारिक खेलबाट पुनरागमन गर्ने प्रयासमा छन् । बाँकी ८ खेलाडी २०१५ को विश्व ट्वान्टी–२० छनोट चरणयताका हुन् । त्यसको झन्डै एक वर्षपछि सन्दीप लामिछानेले उमेरले १५ छँदा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । विश्व ट्वान्टी–२० छनोटपछि टोलीमा आएका ८ मध्ये सन्दीप यस्ता खेलाडी हुन् जसले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्, त्यो पनि लर्डसमा ।

मेमा भारतमा इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्ससँग रहेको बेला सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व ११ को टोलीमा राखेको थियो । सन्दीपले आईसीसी विश्व ११ बाट वेस्ट इन्डिजसँग खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए । पाकिस्तानी अलराउन्डर शहिद अफ्रिदीको कप्तानीमा उनले उक्त खेलमा १ ओभरमात्र बलिङ गर्न पाएका थिए । उनले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेर विकेट लिन बाँकी नै छ । यही आसमा अन्य बलरहरू करण केसी, ललितसिंह भण्डारी र ललितनारायण राजवंशी पनि छन् ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?