अनुको दोस्रो अध्याय

नेपालले भारतमा सम्पन्न साफ च्याम्पियनसिप खेल्दा अनु शल्यक्रिया गरेर विश्राममा थिइन् । उनले त्यतिबेला प्रतिज्ञा गरिन् अर्कोपल्ट साफ च्याम्पियनसिपको उपाधि जित्ने ।
‘भारतलाई हराउने मेरो पहिलादेखिको लक्ष्य हो । त्योभन्दा बढी राष्ट्रिय टोलीबाट उपाधि जित्नु छ । सायद दुवै लक्ष्य प्राप्त गर्ने मेरा लागि यो अन्तिम मौका हुनेछ ।’
सुबास हुमागाईं

काठमाडौँ — राष्ट्रिय फुटबलर अनु लामा दुई वर्षअघि भदौरे घाममा हल्चोकस्थित एपीएफ मैदान प्रशिक्षणरत थिइन् । आसन्न प्रधानसेनापति कप र त्यसपछि हुने साफ च्याम्पियनसिपको तयारीमा रहेकी उनीमाथि त्यसैक्रममा बज्रपात पर्‍यो ।

अनुको दोस्रो अध्याय

प्रशिक्षणकै क्रममा उनको घुँडामा चोट लाग्यो । पछि विस्तृत परीक्षणमा हेर्दा शल्यक्रिया गर्नुपर्ने भयो । यसको मतलब अनुले आसन्न प्रतियोगिता गुमाउने त भइन् नै, उमेरका कारण उनको पुनरागमनबारे पनि शंका थियो । जतिखेर उनी विभागीय टोली एपीएफ एवं राष्ट्रिय फुटबल टोलीकी कप्तान थिइन् ।

अनुको अनुपस्थितिमा एपीएफले प्रधानसेनापति कपको उपाधि त जित्यो तर राष्ट्रिय टोलीमा उनको स्थान सायदै कसैले लिनसक्थे । तत्कालीन महिला टोलीका प्रशिक्षक कुमार थापासँग अनुको विकल्पमा अर्की अनुभवी खेलाडी निरु थापा थिइन्, जो अनुको शैलीमा खेल्न सक्थिन् र राष्ट्रिय टोलीको पनि अनुभव थियो । तर प्रशिक्षणमा निरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा अन्तिम टोलीमा अटाउन सकिनन् । प्रशिक्षक थापाले त्यतिबेला राष्ट्रिय टोलीमा अनुभवभन्दा पनि लयमा रहेका खेलाडीलाई टोलीमा समेटेका थिए । जसका कारण अन्य केही अनुभवी खेलाडी पनि टोलीमा पर्न सकेनन् ।

साफ च्याम्पियनसिपमा अनुको स्थानमा प्रशिक्षक थापाले आर्मीकी शर्मिला थापामगर र एपीएफकी सरु लिम्बूलाई प्रयोग गरे । दुवैले लयमा रहेकी सावित्रा भण्डारीलाई अपेक्षित साथ दिन सकेनन् । मिडफिल्ड र फरवार्डको बीचमा रहेर निभाउने उक्त भूमिकामा दुवै खेलाडी फिक्का देखिए । लिग चरणका सहज जितमा गोल गरे पनि प्रशिक्षक थापा आफैं उनीहरूको प्रदर्शनबाट खुसी थिएनन् । सावित्राको भरमै आक्रमण टिकेको नेपालले सेमिफाइनलमा भारतलाई दबाबमा राखेपनि जित दर्ता गर्न सकेन । अनुको अनुपस्थितिमा आक्रमण त फितलो थियो नै, नेपाली टोलीमा मैदानभित्र अनुभवी नेतृत्वको कमी झल्केको थियो ।

नेपालले भारतमा सम्पन्न साफ च्याम्पियनसिप खेल्दा अनु शल्यक्रिया गरेर विश्राममा थिइन् । उनले त्यतिबेला प्रतिज्ञा गरिन् अर्कोपल्ट नेपालमै हुने साफ च्याम्पियनसिपको उपाधि नेपालमा राख्ने । उनलाई शल्यक्रियापछि ठीक हुन सोचेभन्दा केही बढी समय लाग्यो । उनलाई हतारो पनि केही थिएन र साफलक्षित गरेर तयारी थालिन् । केही महिनाअघि मात्र मैदानमा सामान्य व्यायामबाट फर्केकी उनले सोमबार प्रतिस्पर्धात्मक खेलमा पुनरागमन गरिन् । र, मैदान फर्केको खेलमा गोल पनि गरिन् ।

पुनरागमन गरेकै खेलमा गोल गर्न सक्दा अनु निकै खुसी थिइन् । ‘मैदान फर्केको पहिलो खेलमै गोल गर्न सकें । शल्यक्रियापछि यो अवस्थामा आउन सक्छु भन्नेमा आफैंलाई डर थियो । नियमित डाक्टरको सल्लाहअनुसार आफूलाई तयार गरें र यहाँ आइपुगें,’ जारी लिग फुटबलमा एपीएफको दोस्रो जितपछि उनले भनिन्, ‘अहिले केही दुखाइ छैन । म्याच फिटनेसका लागि निरन्तर मिहिनेत गरिरहेको छु ।’


महिला राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक हरि खड्का अनुजस्तो अनुभवी र स्तरीय खेलाडी टोलीमा फर्कनुलाई सकारात्मक रूपमा हेर्छन् । ‘चोट भनेको जो–कोही खेलाडीलाई लाग्न सक्छ । अहिले अनु चोटबाट भर्खर फर्केकी छन् । मैले दुवै खेलमा उनको प्रदर्शन नियालेको छु । उनीजस्तो प्राविधिक रूपमा निपुण खेलाडी सायदै होला तर फिटनेस पनि मुख्य पाटो हो,’ खड्काले भने, ‘हामीले अब उनको फिटनेस हेरेर प्रशिक्षणको प्रदर्शन पनि हेर्नुपर्छ । लिग समापनपछि हामीले खेलाडीलाई लामो अवधिको प्रशिक्षणमा राख्छौं, त्यसले नै उनको भविष्य निर्धारण हुनेछ ।’

उनले जारी लिगपछि अर्को प्रतियोगितालाई पनि सम्भावना रहेकाले अनुसँग अझै फिटनेसमा आउन समय रहेको बताए ।

राष्ट्रिय टोलीमा अनुले ३५ गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाम राखेकी छिन् । उनको अनुपस्थितिमा सावित्राले गोल गर्ने जिम्मेवारी लिँदै नियमित गरिरहेकी छन् । दुवैले १२ औं दक्षिण एसियाली खेलकुदमा एकैपटक राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यसयता आफ्नो खेललाई निखारेकी सावित्रा अनुको आगमनले टोलीलाई निकै फाइदा पुग्ने तर्क राख्छिन् ।

‘अनु दिदी टोलीमा फर्कनु भनेको निकै राम्रो पक्ष हो । प्राविधिक रूपमा उहाँले मेरो खेल बुझ्नुभएको छ र मैले उहाँको । क्लब फुटबलमा नियमित प्रशिक्षण र खेलले गर्दा हाम्रो तालमेल पनि मिलेको छ,’ पछिल्ला प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गर्दै आएकी सावित्राले भनिन् ।

राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा अनुको पुनरागमनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । ‘अनु दिदीको अनुभव राष्ट्रिय टोलीमा निकै महत्त्वपूर्ण हुनेछ । हामीले राष्ट्रिय टोलीको लामो प्रशिक्षणमा टोलीबाट एकीकृत भएर खेल्ने र उपाधि भित्र्याउने लक्ष्य राखेका छौं । खेलाडीसँगै व्यवस्थापन र प्रशिक्षण पनि राम्रो हुने हो भने हाम्रो लक्ष्य पुरा हुनेछ,’ उनले भनिन् ।

एन्फाले साफ च्याम्पियनसिपलाई ध्यानमा राख्दै जिल्लास्तरका दुई उत्कृष्ट टोलीलाई समेटेर तीन विभागीय टोलीसहित ५ टोलीको सिंगल राउन्डमा राष्ट्रिय लिग आयोजना गरिरहेको छ । खेलाडी छनोटका लागि प्रारम्भिक आधार मानिएको यस लिगमा सबै टोलीले ४–४ खेल खेल्नेछन् । एन्फाले प्रदेशस्तरीय लिग गर्ने तयारी पनि थालेको जनाएको छ । यसपालि साफ च्याम्पियनसिपका लागि लामो तयारी थाल्ने र वैदेशिक प्रतियोगितामा पनि सहभागिता जनाउने एन्फाको योजना छ । कागजी योजनालाई वास्तविकतामा बदले नेपाली टोलीको सम्भावना बलियो देखिन्छ ।

यसअघि नेपालले आयोजना गर्ने भनिएको साफ महिला च्याम्पियनसिप अब डिसेम्बर १७ देखि २६ सम्म श्रीलंकाले आयोजना गर्ने भएको छ । हालसम्मका चार संस्करणमा चारैपल्ट भारतसँग पराजित नेपाल तीनपल्ट उपविजेताको बिल्ला भिर्दै घर फर्केको छ ।

यसपालि भारतलाई हराउने त छँदै छ, अनु उपाधिसहित राष्ट्रिय टोलीबाट बिदा लिन चाहन्छिन् । ‘भारतलाई हराउने मेरो पहिलादेखिको लक्ष्य हो । त्योभन्दा बढी राष्ट्रिय टोलीबाट उपाधि जित्नु छ । सायद दुवै लक्ष्य प्राप्त गर्ने मेरा लागि यो अन्तिम मौका हुनेछ । राष्ट्रिय टोलीबाट बिदा लिने यो सुवर्ण अवसर आफैं सिर्जना गर्न तत्पर छु,’ उनले टुंग्याइन् ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?