१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘लटरपटर’ फुटबल

रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ?
हिमेश

काठमाडौँ — यस्तै परिस्थितिमा हो नेपाली फुटबलमा ललितकृष्ण श्रेष्ठको अनुपस्थिति खडकने । उनी अब फेरि फर्कने त छैनन् तर उनी आफूलाई बेस्वाद र बेथितिको केही काम भयो कि एक शब्द दोहोर्‍याइहाल्थे ‘लटरपटर’ । यति सम्झना नेपाली फुटबलसँग नजिक रहेका सबैलाई छ ।

‘लटरपटर’ फुटबल

अहिले जुन स्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको ‘ए’ डिभिजन गर्न लागेको छ । त्यसको सार एक शब्दमै खिच्ने हो भने त्यसका लागि सबैभन्दा उपयुक्त हुन्छ, त्यही ‘लटरपटर’ ।

यस्तो किन भन्दा यसपालि त्यो लिग हुन लागेको छ, बिना रेलिगेसनको । लिग फुटबलको दुई प्रमुख अत्यावश्यक विशेषता हो, प्रमोसन र रेलिगेसन । हाम्रो पारामा भन्दा, बढुवा र घटुवा । लिग ‘पिरामिड’ शैलीको हुन्छ र यसमा केही टिम माथि चढिरहेका हुन्छन्, केही टिम तल झरिरहेका हुन्छन् । यस्तो हुन्न त लिग किन हुन्थ्यो ? एन्फा भने अहिले पनि जिद्दी गरिरहेको छ, हामी लिग गर्छौं र यो रेलिगेसनबिनाकै हुन्छ । विशेषत: एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको दाबी छ, नेपाली फुटबल अहिले रेलिगेसनसहितको लिगलाई तयार नै छैन ।

यसका लागि त एक वर्षदेखिको तयारी चाहिन्छ, जुन समय अहिले उनीहरूलाई उपलब्ध छैन । भलै, उनले एन्फा अध्यक्षमा पहिलोपल्ट आफ्नो उम्मेदवारी घोषणा गर्दा भन्थे, ‘हामी तीन महिनाभित्र लिग गर्छौं, किनभने हामीसँग यस्तो गर्ने क्षमता छ ।’ त्यो घोषणाको ‘रेकर्ड’ धेरैसँग छ । उनले त्यसमा जे जति दाबी गरेका छन्, त्यसमध्ये के–के पूरा गर्ने छैनन्, त्यो भविष्यमा लेखाजोखा गर्न खुबै काम आउने छ । अहिले तत्काल उनी लिगको त्यो वास्तविक स्वरूपबाट टाढिएका छन् ।

रेलिगेसनसहितको लिगका लागि एन्फाले साँच्चै किन यस्तो जिद्दी गरिरहेको छ त ? खासमा यो नै घिनलाग्दो फुटबल राजनीति हो । हाका–हाकी भन्न सक्छौं, चुनावका बेला धेरै ‘ए’ डिभिजन क्लबसँग यस्तै लिग गर्ने सहमति भएको थियो । यही सहमतिका लागि अहिले लिगलाई कुरुप शैलीमा प्रस्ततु गरिँदैछ । यस्तो लिग गर्नुको पछाडि एन्फाले एउटा तर्क दिनसक्छ, तर यस्तो लिग किन गर्नुहुँदैन भनेर त्योभन्दा धेरै गुणा बढी तर्क दिन सकिन्छ ।

रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ? अनि किन धेरै राम्रा खेलाडी टिममा राख्ने ? यस्तो लिग गर्नु भनेको नेपाली फुटबलमा एक पाइला पछाडि सर्नु हो ।

परिवर्तनको नारा दिएर नेतृत्व पाएकाले त एक पाइला अगाडि सरेर पो काम गर्नुपर्ने । केही राम्रो गृहकार्य गरेर अर्ध–व्यावसायिक लिग पो गर्ने कि ? खेलाडीको लिलामी शैली पो ल्याउने कि ? त्यस्तोमा केही रूचि भएन । आउने दिन त क्लब फुटबलका लागि अझ कठिन दिन आउँदै छ । एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सिङ कार्यक्रम लागू हुनेछ । क्लबले धेरै सर्त पूरा गर्नुपर्ने हुन्छ । खासमा एन्फाको काम हाम्रा क्लबलाई त्यसैअनुसार स्थापित गराउन मदत गर्ने हो तर अहिले त्यसको ठीकविपरीत काम भइरहेको छ । असोज १३ बाट साँच्चै रेलिगेसनबिनाको लिग सुरु हुन्छ भने आउने दिन यसलाई खराब उदाहरण दिनमात्र प्रस्तुत हुनेछ ।

इतिहासले यसलाई कलंकको लिग मान्नेछ । अझै पनि सच्चिने दिन छ । किनभने असोज १३ अझै टाढा छ । विश्व फुटबलमा लिगअगाडिको ‘वार्मअप’ लिग भन्ने हुन्न । त्यसो त विश्वमा केही यस्ता लिग पनि छन्, जसमा रेलिगेसन हुन्न । तर यी नितान्त फरक लिग हुन् । यस्ता लिग फ्रेन्चाइज शैलीका हुन्छन् । प्रत्येक टिमले एक निश्चित मोटो रकम खर्चिन तयार हुनुपर्छ । यसको ढंग नै फरक हो । सहिद स्मारक लिग त्यस्तो पटक्कै होइन ।

अध्यक्ष शेर्पाले चुनावका बेला धेरै आश्वासन दिएका छन् । धेरैलाई यस्तो गर्छु र उस्तो गर्छु भनेर वचन दिएका छन् । उनी अहिले त्यसकै मारमा फसिरहेका छन् । उनले नेतृत्व सम्हालेको धेरै दिन भएको छैन, त्यसैले उनले कस्तो काम गर्‍यो भनेर मूल्यांकन गर्ने समय पनि भएको छैन । उनको अहिले नै धेरै आलोचना पनि ठीक हुन्न । तर उनले यस्ता केही काम गर्न थालेका छन्, जसले नतिजा खराब नै हुन्छ । रेलिगेसनबिनाको लिग यस्तै हो ।

शेर्पा मजबुत र शक्तिशाली अध्यक्ष हुन् । नेताले सबैलाई खुसी पार्ने निर्णय गर्नु हुन्न । सायद उनी गलत सल्लाह दिने, कूतर्क प्रस्तुत गर्ने समूहको घेरामा छन् । उनीसामु दुई बाटो छ, पहिलो त्यही समूहको घेरामा बस्ने र भ्रममा रहने । दोस्रो, त्यो समूह र त्यस्तो सोच परित्याग गरेर अगाडि बढ्ने । शेर्पाले दोस्रो बाटो रोज्नैपर्छ । आउने दिनमा नेपाली फुटबल असफल भएमा दोष त्यो समूहलाई जानेछैन, बरु यिनै शेर्पा आलोचित हुनेछन् । नेपाली फुटबललाई ‘लटरपटर’ कामको कुनै आवश्यकता छैन ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?