१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१८ औं एसियाली खेलकुद: स्क्वास थपियो

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न १८ औं एसियाली खेलकुदमा नेपालले भाग लिने खेलसंख्या थपिएको छ । भदौ २ देखि इन्डोनेसियामा हुने एसियाडमा नेपालले अब २९ खेलमा भाग लिनेछ । थपिएको खेल स्क्वास हो ।

१८ औं एसियाली खेलकुद: स्क्वास थपियो

स्क्वासका चार पुरुष खेलाडी थपिँदा कुल १ सय ८५ खेलाडीले एसियाडमा भाग लिने शुक्रबार नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

यसअघि २८ खेलमा १ सय ८१ खेलाडी पठाउने तय भएको थियो ।

एसियाडमा नेपालले पहिलोपल्ट यति धेरै खेलमा सहभागिता जनाउन लागेको हो । पछिल्लो दुई एसियाड (ग्वान्झाउ र बुसान) मा समान २० खेलमा भाग लिएको थियो ।

जकार्ता र पालेमबाङ यसपालि स्क्वास, भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराँते, ब्याडमिन्टन, पाराग्लाइडिङ, कबड्डी, साइक्लिङ, सेपाकताक्रो, स्पोर्टस क्लाइम्बिङ, पेन्केक सिलात, भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस, बास्केटबल र स्केटबोर्डिङमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पाराग्लाइडिङ, पेन्केक सिलात, स्पोर्टस क्लाइम्बिङ, कुराँस, स्केटबोर्डिङमा पहिलोपल्ट एसियाड खेल्दैछ । यी पनि इन्डोनेसिया एसियाडमा समावेश १० नयाँ खेलमध्ये पर्दछ ।

स्क्वासमा अमृत थापामगर, अरहन्तकेशर सिंह, ज्ञानु चौधरी र राजेन्द्र शाक्यले प्रतिस्पर्धा गर्नेछन् ।

सदस्य–सचिव ‘सेभ द मिसन’
खेलाडी, प्रशिक्षक, पदाधिकारी र अफिसियल गरी झन्डै ३ सय नेपाली एसियाड टोलीको नेतृत्व गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट जाकार्ता जाने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विष्टलाई नेपाली टोलीको ‘सेभ द मिसन’ तोकिएको जानकारी गराए । डेपुटी सेभ द मिसनको कार्यभार भने नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष धिरेन्द्र प्रधानले पाउने भएका छन् ।

भलिबल कोरियाको समूहमा
एसियाडमा नेपाली पुरुष भलिबल टोलीले ३२ वर्षपछि भाग लिन लागेको हो । यसअघि नेपालले सन् १९८६ मा सोल एसियाड खेलेको थियो । यसपालि प्रारम्भिक चरणको ‘ड्र’ अनुसार नेपालको समूहमा दक्षिण कोरिया र चाइनिज ताइपेई परेको छ । २० राष्ट्रको सहभागिता रहने भलिबलमा नेपालले समूह ‘डी’ मा परेको हो । नेपालले अगस्ट २२ मा ताइपेई र २४ मा कोरियासँग प्रतिस्पर्धा गर्नेछ । एसियाड तयारीलाई भलिबल टोली यतिखेर कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षणरत छ ।

टोलीलाई एजिलिटीको पोसाक
नेपाली एसियाड टोलीका लागि चिनियाँ कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस कर्पोरेसनले प्रायोजन गरेको खेलसामग्री शुक्रबार नेपाल ओलम्पिक कमिटीलाई हस्तान्तरण गरेको छ । गत अप्रिल १८ मा एनओसी–कर्पोरेसनबीच भएको सम्झौताअनुसार सम्पूर्ण खेलाडी तथा पदाधिकारीका लागि अफिसियल स्पोर्टस किट उपलब्ध गराइएको हो । कर्पोरेसनका अध्यक्ष अफ्रेड चानले एनओसी अध्यक्षलाई उक्त सामग्री हस्तान्तरण गरे.। सामग्रीमा स्पोर्टस ब्याग, एकजोर ट्रयाकसुट, टीसर्ट, स्पोर्टस सुज, मोजा, क्याप रहेका छन् ।

एजिलिटीसँगको सम्झौताले नेपाली खेलाडी र खेलकर्मीलाई हर्षित तुल्याएको बताउँदै एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘हामीले यो कार्य सुरुआतका रूपमा लिएका छौं । यसलाई निरन्तर दिन इच्छुक छौं । त्यसका लागि पहल गर्नेछौं ।’

कर्पोरेसनका अध्यक्ष चानले एसियाडका सहभागी नेपाली खेलाडीको सफलताको शुभकामना दिँदै यो महान् कार्यमा आफ्नो कम्पनी जोडिन पाएकोमा गौरव महसुस भइरहेको बताए । सम्झौताअनुसार झन्डै ८० लाखबराबरको ४ सय सेट सामग्री उपलब्ध गराइएको एनओसीले जनाएको छ ।

उसु प्रशिक्षणलाई चीनतिर
उसु टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन गएको छ । ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सी गएको हो । करिब २० दिनको प्रशिक्षणपछि टोली साउन ३० मा चीनबाट इन्डोनेसिया जानेछ ।

एसियाडमा उसुको प्रतिस्पर्धा भदौ ३–७ सम्म जकार्तामा हुनेछ । सन् १९९० मा ११ औं बेइजिङ एसियाडदेखि नेपालले उसुमा भाग लिएको हो । त्यो हालसम्म निरन्तरता पाएको छ ।

पुरुषतर्फ चित्रसिंह ठकुरी, मंगलप्रसाद थारु, पदमबहादुर ठकुल्ला, विजय सिन्जाली, युवराज थापाले प्रतिस्पर्धा गर्नेछन् । वीरमान लामा भने हाल टोलीमा छैनन् । उनी ढाडको नसा च्यापिएका कारण शल्यक्रिया गरी उपचाररत छन् । आइतबारसम्म डिस्चार्ज हुने बताइएको छ । वीरमान पनि छनोट खेलाडी हुन् ।

महिलामा १२ औं सागकी स्वर्णधारी निमा घर्तीमगर, जुनी राई, लुमन्ति श्रेष्ठ र सुस्मिता तामाङले प्रतिस्पर्धा गर्नेछन् । चीन गएका प्रशिक्षकमा शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन छन् ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?