२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

व्यवस्थापक कि मुख्य प्रशिक्षक ?

बीबीसी

लण्डन — प्रिमियर लिग क्लब आर्सनलले मे महिनामा उनाई एमेरीलाई आर्सनलमा मुख्य प्रशिक्षकको पदमा नियुक्ति दियो । पछिल्लो २२ वर्ष उत्तरी लन्डन क्लबमा आर्सेन वेंगर भने व्यवस्थापकको भूमिकामा थिए ।

व्यवस्थापक कि मुख्य प्रशिक्षक ?

चेल्सीले पनि एन्टोनियो कोन्टेको स्थानमा माउरिजियो सार्रीलाई नियुक्त गर्दा कोन्टेकै मुख्य प्रशिक्षकको भूमिका सुम्पियो ।

सार्री र एमेरी प्रिमियर लिगमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाउने ६ जनाभित्र पर्छन् । अन्य १४ क्लबमा भने व्यवस्थापक मुख्य भूमिकामा रहेका छन् । यी दुवै पदको नाम र कार्यशैली फरक हुन्छ नै । तर आधुनिक फुटबलमा एक व्यवस्थापकको भूमिका पनि परम्परागत जिम्मेवारीको तुलनामा साँघुरिँदै गएको छ ।

म्यानचेस्टर युनाइटेड र इंग्लिस राष्ट्रिय टोलीका पूर्व–खेलाडी ग्यारी नेभिलले आफ्नो पूरा खेलाडी करिअर सर एलेक्स फर्गुसनको नेतृत्वमा खेले । ओल्ड ट्राफोर्ड क्लबका व्यवस्थापक रहेका फर्गुसनले क्लबबाट २६ वर्षमा ३८ उपाधि जिते । तर नेभिलले जब आफ्नो क्लब साल्फर्ड सिटीमा ग्राहम एलेक्जेन्डरलाई नियुक्ति दिए, उनको पद मुख्य प्रशिक्षकको थियो ।

‘औसतमा एक प्रशिक्षकले कुनै पनि क्लबमा उच्च प्रदर्शन गर्नसक्ने अवधि १३ महिना हुन्छ । क्लबहरूले १३ महिना नभएर ३–४ वर्षबारे सोच्नुपर्छ । क्लबले प्रत्येक वर्ष प्रशिक्षक बदले पनि एक किसिमको स्थिरता भने टोलीमा रहनुपर्छ,’ नेभिलले भने । नेभिल डिसेम्बर २०१५ देखि मार्च २०१६ को बीचमा ४ महिनाका लागि भ्यालेन्सियाका मुख्य प्रशिक्षक रहेका थिए ।

फरक के त ?
सन् २०१६ मा माउरिसियो पोचेटिनोले टोटेनहमसँग नयाँ सम्झौता गर्दा उनको पद मुख्य प्रशिक्षकबाट व्यवस्थापक बन्न पुग्यो । ‘हामी सबैले यो भूमिका नै मेरो, क्लब र सबै पक्षको राम्रो हुने ठान्यौं । व्यवस्थापक शब्द आफैं पनि मुख्य प्रशिक्षकभन्दा फरक छ । म क्लबमा आएको पहिलो दिनदेखि नै व्यवस्थापकको भूमिकामा छु र यसले मेरो कार्यशैलीलाई पनि वर्णन गर्छ,’ पोचेटिनोले भनेका थिए ।



ग्यारी नेभिल

मुख्य प्रशिक्षकको भूमिका रहँदा क्लबमा खेलाडी अनुबन्धन र किनबेचमा अन्य व्यक्तिको पनि आबद्धता रहन्छ । चेल्सीमा कोन्टेको क्लबसँग खटपट पर्नु पछाडिको मुख्य कारण पनि उनले ट्रान्सफरसम्बन्धी कार्यमा पाउने कम भूमिका नै रहेको थियो । आर्सनलमा वेंगरकै नेतृत्वमा सबै कार्य हुने गर्दथ्यो भने एम्रीको पालामा त्यसो हुनेछैन । बार्सिलोनाका पूर्व निर्देशक राउल सानेल्हीलाई क्लबले फुटबल सम्बन्धको प्रमुखमा नियुक्त गर्दै क्लबमा अर्को भूमिका दिएको छ ।

कुनै क्लबमा व्यवस्थापक राखिए पनि ट्रान्सफरको क्रममा भने अन्य व्यक्तिहरूको पनि भूमिका रहने गर्छ । वेस्ट ह्यामका म्यानुएल पेलेग्रिनी र एभरटनका मार्कस सिल्भाले व्यवस्थापक पद पाए पनि ट्रान्सफरमा क्लबका अन्य प्रतिनिधि संलग्न छन् । वेस्ट ह्यामका क्लब मालिक डेविड सलिभन आफैं खेलाडी किनबेचमा लागि पर्छन् । एभरटनमा निर्देशक मार्सल ब्रान्ड्सले ट्रान्सफरसम्बन्धी अधिकांस प्रक्रिया हेर्ने गरेका छन् ।

आधुनिक फुटबलमा परिवर्तन
एक पूर्व–खेलाडी, व्यवस्थापक, क्लब मालिक र विश्लेषक नेभिलले आधुनिक फुटबल र यसको व्यापारबारे सकेसम्म धेरै कुरा सिकेका छन् । ४३ वर्षीय उनले ६ वर्ष क्लबहरूले के कस्तो पद्दतिमा क्लब संचालन गर्छन् भन्ने अध्ययन गरेका छन् । उनले आफ्नो अध्ययनअनुसार क्लबमा प्रशिक्षकको भूमिका दिनुपर्ने निष्कर्ष निकाले र आफ्नो क्लबमा त्यसै गरे । उनको क्लब साल्फर्ड इंग्लिस फुटबलको पाँचौं श्रेणीमा छ ।

‘यदि कसैले हरेक सेकेन्ड आफ्नो टोलीको प्रशिक्षण, अर्को खेलमा कसरी खेलाउने, अर्को प्रशिक्षण के गर्ने र हरेक खेलाडीको स्थिति कस्तो छ भन्ने बुझ्नुपर्छ भने उसले नै कसरी ट्रान्सफरबारे सम्पूर्ण जिम्मा लिन सक्छ ? यो निकै कठिन कार्य हो,’ नेभिलले भने, ‘यसको मतलब प्रशिक्षक मुख्य भूमिकामा रहँदा खेलाडी भित्र्याउने सम्बन्धी बैठकमा नहुने भन्ने होइन । प्रशिक्षकको भूमिका पक्कै रहन्छ । नयाँ खेलाडी प्रशिक्षकको योजनामा अटाउनुपर्छ र उनको शैलीमा
खेल्नसक्ने हुनुपर्छ ।’

कुन क्लबमा को ?
आर्सनल – उनाई एमेरी (मुख्य प्रशिक्षक)
बर्नमाउथ – एडी हाउ (व्यवस्थापक)
ब्राइटन – क्रिस ह्युटन (व्यवस्थापक)
बर्नली – सन डाइस (व्यवस्थापक)
कार्डिफ – निल वार्नक (व्यवस्थापक)
चेल्सी – माउरिजियो सार्री (मुख्य प्रशिक्षक)
क्रिस्टल प्यालेस – रोय हड्सन (व्यवस्थापक)
एभरटन – मार्काे सिल्भा (व्यवस्थापक)
फुलह्याम – स्लाभिसा जोकानोभिच (मुख्य प्रशिक्षक)
हडर्सफिल्ड – डेविड वाग्नर (मुख्य प्रशिक्षक)
लेस्टर – क्लाउड पुएल (व्यवस्थापक)
लिभरपुल – योर्गेन क्लोप (व्यवस्थापक)
म्यानचेस्टर सिटी – पेप ग्वार्डिओला (व्यवस्थापक)
म्यानचेस्टर युनाइटेड – जोसे मोउरिन्हो (व्यवस्थापक)
न्युकासल – राफेल बेनिटेज (व्यवस्थापक)
साउथह्याम्पटन – मार्क ह्युज्स (व्यवस्थापक)
टोटेनहम – माउरिसियो पोचेटिनो (व्यवस्थापक)
वाटफोर्ड – जाभी गार्सिया (मुख्य प्रशिक्षक)
वेस्ट ह्याम – म्यानुएल पेलेग्रिनी (व्यवस्थापक)
वोल्भस – नुनो एस्पिरिटो सान्टो (मुख्य प्रशिक्षक)


- सिमोन स्टोन

प्रकाशित : श्रावण १३, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?