३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गोलोभिन मोनाकोमा

रोयटर्स

मस्को — रुसमा आयोजित विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका घरेलु टोलीका मिडफिल्डर एलेक्जेन्डर गोलोभिन फ्रान्सेली लिग १ क्लब एएस मोनाकोमा आबद्ध भएका छन् ।

गोलोभिन मोनाकोमा

शुक्रबार दुवै क्लबले विज्ञप्ति जारी गर्दै गोलोभिनले ५ वर्षे सम्झौता गरेको जनाएका छन् ।

२२ वर्षीय मिडफिल्डर गोलोभिनले रुसलाई क्वाटरफाइनलसम्म पुर्‍याउन निकै राम्रो प्रदर्शन गरेका थिए । उनले प्रतियोगिता अवधिभर १ गोल र २ असिस्ट दिएका थिए । रुस क्वाटरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएको थियो । फ्रान्सेली मिडियाका अनुसार मोनाकोले ३ करोड युरो खर्चेर गोलोभिनलाई भित्र्याएको हो ।

‘गोलोभिन निकै प्रतिभाशाली युवा खेलाडी हुन् । उनले विश्वकपमा पनि निकै राम्रो प्रदर्शन गरेका थिए । तर हामीले उनलाई यसअघि नै पछयाउँदै आएका थियौं,’ मोनाकोका उपाध्यक्ष भादिम भासिलेभले भने, ‘उनले सानो उमेरमै रुसको शीर्ष श्रेणी र अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलिसकेका छन् ।’

लिगमा पछिल्लो तीन सिजन सीएसकेएबाट खेलेका गोलोभिनले १ सय १३ खेल खेलेका छन् । यसमध्ये २३ खेल च्याम्पियन्स लिग र युरोपा लिगमा रहेका छन् । उनले सन् २०१६ मा रसियन लिगको उपाधि पनि जितिसकेका छन् । गोलोभिनलाई इंग्लिस क्लबहरूले पनि पछयाएको तथ्य ब्रिटिस मिडियाले लेखेका थिए । चेल्सी र आर्सनलले पनि उनलाई भित्र्याउने प्रयास गरे पनि गोलोभिनले मोनाको जाने निर्णय गरेका हुन् ।

‘यो मेरा लागि नयाँ यात्रा हो र मैले यहाँबाट धेरै अपेक्षा गरेको छु,’ गोलोभिनले भने,’ गोलोभिनले भने, ‘अब म नयाँ क्लबका सहकर्मी र प्रशिक्षकसँग चाँडै भेटेर नयाँ यात्रा सफल बनाउने लक्ष्यसहित अगाडि बढ्नेछु ।’ मोनाकोले मिडफिल्डरद्वय जोआओ मोउटिन्हो र थोमस लेमारको प्रस्थानसँगै मिडफिल्ड बलियो बनाउन गोलोभिनलाई भित्र्याएको हो ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?