३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

नवीन पोखरेल

लन्डन — नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि ९ विकेटको जित हात पार्दै क्रिकेटको मक्का लर्ड्समा पुनरागमन गरेको छ । प्रतिकूल मौसमका कारण ६ ओभरको खेलमा ४१ रनको लक्ष्य सजिलै ८ बल अगाडि पूरा गर्दै नेपालले एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जित हासिल गरेको हो ।

नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

वर्षाका कारण ६–६ ओभरमा छोट्याइएको खेलमा नेपालले श्रीलंकाका विश्व ट्वान्टी–२० विजेता महेला जयबद्र्धनेको कप्तानीमा रहेको एमसीसीलाई ४०–४ को स्कोरमा रोक्यो । सुवास खकुरेलले १६ र ज्ञानेन्द्र मल्ले १२ रनको नटआउट इनिङ्स खेलेपछि नेपाललाई लक्ष्य पछ्याउन खासै गाह्रो भएन । झन्डै २ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सुवासले इन साइड आउटमा चौका प्रहार गर्दै विजयी रन बटुले ।


१५ बल खेलेका सुवासले २ चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्रले ४ बलको इनिङ्समा १ चौका र १ छक्का प्रहार गरे । ओपनर अनिल शाह ९ रन बनाई आउट भएका थिए ।


यसअघि एमसीसीलाई सानो स्कोरमा रोक्ने क्रममा सोमपाल कामीले २ ओभरमा ८ रनमात्र खर्चेर २ विकेट लिए । इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान जोनाथन ट्रोटले सोमपाललाई खेलको पहिलो बलमा चौका प्रहार गरेका थिए । तर दोस्रो बलमा ज्ञानेन्द्र मल्लले उनलाई सीधा थ्रोमा रनआउट गरी नेपाललाई पहिलो सफलता दिलाए । पाँचौं बलमा इंग्ल्यान्डका अर्का पूर्वखेलाडी जेम्स फोस्टरलाई सोमपालले शून्यमा आउट गरेपछि खेलमा नेपाल हावी भएको थियो ।

नेपाली टिमका कप्तान पारस खड्का टसबाट फर्कने क्रममा ।तस्बिर : नवीन


चौथो ओभरमा आएका भेट्रान स्पिनर शक्ति गौचनले जिम्बावेका खेलाडी पिटर मुरलाई आउट गरी नेपाललाई अर्को सफलता दिलाए । सोमपालले छैटौं तथा अन्तिम ओभरमा म्याट कोल्सलाई आउट गर्नेक्रममा २ रनमात्र दिएका थिए । शक्तिले १ ओभरमा ६ रनमात्र दिए । एमसीसीबाट कप्तान महेला जयबद्र्धनेले २४ रन जोडे । जयबद्र्धने १६ बलमा ४ चौका प्रहार गरे ।


यसअघिको पहिलो खेलमा नेदरल्यान्ड्सले एमसीसीलाई १० रनले पराजित गरेको थियो । खराब मौसमका कारण यो खेल पनि ६ ओभरमा छोट्याइएको थियो । खेलमा टस हारेर नेदरल्यान्ड्सले ३ विकेट गुमाएर ७२ रन जोडेको थियो । एमसीसी २ विकेट गुमाएर ६२ रनमा समेटिएको थियो । एमसीसीका वरुण चोपराले २७ र जोनाथन ट्रोटले २१ रन जोडेका थिए । दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्ड्समा नेपाली क्रिकेट टिम उत्रिएको हो । २०१६ को जुलाईमै नेपालले पछिल्लो पटक लर्ड्समा खेलेको थियो । लडर््समा खेल्ने नेपाल पहिलो एसोसिएट राष्ट्र हो ।

लर्ड्समा नेपाली समर्थक ।


मौसमका कारण अनुमान गरिएअनुसार बेलायतवासी नेपाली दर्शक भने आइतबार लर्ड्स क्रकेट मैदानमा देखिएनन् । आयोजकले झन्डै १० हजार दर्शकको अपेक्षा गरेको थियो । तर झन्डै १२ सयको हाराहारीमा मात्र दर्शक खेल हेर्न मैदानमा आएका थिए । यद्यपि, युवायुवती तथा विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएर नेपाली क्रिकेट खेलाडीलाई हुटिङ गर्दै हौसल्ला प्रदान गरिरहेका थिए ।लर्ड्समा नेपाली समर्थक । नेपाली टिमका कप्तान पारस खड्का टसबाट फर्कने क्रममा ।
तस्बिर : नवीन

प्रकाशित : श्रावण १३, २०७५ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?