कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम वैदेशिक प्रशिक्षणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराँते टोलीले बुधबार जापानको ओकिनावालाई यात्रा गरेको छ । अगस्ट २५ देखि २७ सम्म हुने कराँतेको स्पर्धामा नेपालका ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

धमाधम वैदेशिक प्रशिक्षणमा

पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले भाग लिनेछन् । महिलामा चन्चला दनुवारले एकल काता, अनु अधिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रीता कार्कीले ६८ केजीमाथिको तौलमा भाग लिने छन् । प्रशिक्षकमा दीपक श्रेष्ठ र हीरासिंह डंगोल छन् । जापानबाटै टोली अगस्ट २२ मा इन्डोनेसिया जानेछ ।


एसियाडमा नेपालले कराँतेबाट तीन कांस्य जितेको छ । सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य जितेका थिए । इन्चोनमा विमलाले जितेको कांस्य नेपालको एकमात्र पदक थियो । नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले बिदाइ गरे । टोलीलाई सोही अवसरमा थापा बिजनेस ग्रुपका प्रोप्राइटर प्रणील थापा र नेपाल कराँते महासंघका उपाध्यक्ष दीपक मल्होत्राद्वारा प्रायोजित ट्रयाकसुट पनि प्रदान गरियो ।


भारोत्तोलन थाइल्यान्डतिर
१८ औं एसियाडकै लागि नेपाली भारोत्तोलन टोलीले थाइल्यान्डमा वैदेशिक प्रशिक्षण गर्ने भएको छ । भारोत्तोलनको पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष/महिलामा २–२ खेलाडीलाई प्रतिस्पर्धामा उतार्दै छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । कमल १० औं साग खेलकुदका स्वर्णधारी तथा विकास १२ औं सागका रजत विजेता हुन् । महिला ५३ केजीमा सन्जु चौधरी तथा ७५ केजीमा १२ औं सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिनेछन् । चारै खेलाडी आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल छन् ।


टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगस्ट १७ सम्म प्रशिक्षणरत रहनेछ । अगस्ट १८ मा टोली इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाडअन्तर्गत भारोत्तोलन अगस्ट २० देखि १७ सम्म चल्नेछ । दुई महिनाको विशेष बन्द प्रशिक्षणपछि भारोत्तोलन टोली शनिबार नेपालगन्जबाट काठमाडौं आइपुगेको हो ।


सन् १९८२ मा भारतमा सम्पन्न एसियाली खेलकुदमा नेपालले पहिलोपल्ट भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता १९९४ मा जापानको हिरोशिमा एसियाडबाहेक सबैमा सहभागिता जनाउँदै आएको छ ।


ट्रायथलन फुकेटमा
एसियाडकै लागि नेपाली ट्रायथलन टोली पनि विशेष प्रशिक्षणलाई बुधबार थाइल्यान्डको फुकेट गएको छ । चार खेलाडीले फुकेटमा २–२३ अगस्टसम्म प्रशिक्षण गर्ने एनओसीले जनाएको छ । खेलाडीमा रोजा केसी, सोनी गुरुङ, बसन्त थारु र दिपेश चौधरी छन् । प्रशिक्षकमा पुष्परत्न वज्राचार्य र व्यवस्थापकमा युवराज सुनुवार छन् । ट्रायथलनले पहिलोपल्ट एसियाडमा भाग लिन लागेको हो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले टोलीलाई बिदाइ गर्दै ट्रायथलनले छोटो समयमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता स्मरण गराए ।


१२ आंै साग खेलकुदमा ट्रायथलनले दुई पदक जितेको थियो । मिक्स रिले टिममा रजत जितेको नेपाललाई रोजा केसीले व्यक्तिगत इभेन्टमा कांस्य दिलाएकी थिइन् । अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमै प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल सेप्टेम्बर २ मा हुनेछ । ३०० मिटर पौडी, ६.३ किमि साइक्लिङ र २.१ किमि दौडमा प्रतिस्पर्धा हुनेछ । नेपाली टोली फुकेटबाट अगस्ट २९ मा पालेम्वाङ जानेछ ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?