२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपालद्वारा नेदरल्यान्ड्स १ रनले पराजित (अपडेट)

कान्तिपुर संवाददाता

काठमाडौँ — नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १ रनले विजयी भएको छ । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा कप्तान पारस खड्काले रनआउट गरेपछि नेपाल विजयी भएको हो ।

नेपालद्वारा नेदरल्यान्ड्स १ रनले पराजित (अपडेट)

नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स अन्तिम बलमा २ सय १५ रन जोड्दै अलआउट भएको हो ।


नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ७१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ तथा ललितसिंह भण्डारीले २ विकेट हात पारे ।


....

नेपाल र नेदरल्यान्ड्सबीच जारी दोस्रो वान-डेमा नेपालले घरेलु टोलीसामु २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारसले ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन जोडे ।


आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन बनाए । दीपेन्द्रसिंह ऐरी र डेब्यु गरिरहेका सुवास खकुरेलले १९-१९ रन जोडे । नेपाललाई ४९ औं ओभरमा अलआउट गर्ने क्रममा नेदरल्यान्ड्सका लागि क्लासेनले सुरुआती ३ विकेट लिए । माइकल रिप्पोन र पिटर सिलारले २-२ विकेट हात पारे ।

बुधबार पहिलो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल आधिकारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्र बनेको थियो । नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले पहिलो खेलमा सानदार सुरुआत गर्नेक्रममा १ विकेट गुमाई ८५ रन बनाइसकेको थियो । तर ४९ रनमा बाँकी ९ विकेट गुमाएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भइ पराजय बेहोर्न बाध्य भएको थियो ।

तर नेपालले एमस्ट्राडमको एमस्टलभिनको भीआरए मैदानमा पहिलो खेलमा ५५ रनको पराजय भोगेको थियो । शुक्रबारको खेल जित्दै दुई खेलको शृंखला बराबरी गर्ने दाउ नेपालको रहेको छ ।

सोही खेलमा फिल्डिङका क्रममा औंलामा चोट लागेका अनुभवी ब्याट्सम्यान शरद भेषावकर आज खेल्ने छैनन । उनको स्थान युवा ब्याट्सम्यान रोहित पौडेलले लिने छन् । त्यस्तै शक्ति गौचनले पहिलो खेलबाट विदेशी भुमिमा संन्यास लिइसकेका छन् । उनको स्थान कसले लिने निर्णय भएको छैन ।

नेपालले २०१६ मा पछिल्लो पटक एमस्ट्राडम भ्रमण गर्दा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्ससँगको दोस्रो खेल जितेको थियो ।


प्रकाशित : श्रावण १८, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?