सिटीलाई कम्युनिटी सिल्ड

रोयटर्स

लन्डन — सर्जियो अगुइरोले दुई गोल गर्दै म्यानचेस्टर सिटीलाई सिजनको सुरुआती खेल कम्युनिटी सिल्डमा आइतबार चेल्सीविरुद्ध २–० को जित दिलाएका छन् ।

सिटीका कप्तान भिन्सेन्ट कम्पनी टोलीसँग कम्युनिटी सिल्ड उचाल्दै । तस्बिरहरू : रोयटर्स

वेम्बली रंगशालामा अगुइरोले क्लबका लागि २ सय गोल पूरा गर्दा सिटीले पछिल्लो सिजनको लयलाई कायम राख्यो ।

पछिल्लो सिजन लिग उपाधि र एफए कप विजेताबीचको खेलमा सिटीले सुरुआतबाटै दबाब बनायो । पछिल्लो सिजनमा दुई क्लबबीच रहेको ३० अंकको दूरी आइतबारको खेलमा पनि देखियो । चेल्सीले नयाँ प्रशिक्षक माउरिजियो सार्री र जोर्गिन्होको आगमन भए पनि खेलमा पकड जमाउन सकेन ।

Yamaha

अगुइरोले १३ औं मिनेटमा युवा खेलाडी फिल फोडेनको पासको सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाए । केभिन डे ब्रुएनको स्थानमा मैदान उत्रिएका फोडेनले आक्रामक मुभ सिर्जना गर्दै चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरलाई छक्याएर अगुइरोलाई पास दिएका थिए । अगुइरोले कुनै गल्ती नगरी सिटीलाई अग्रता दिलाए । स्टार खेलाडी इडेन हाजार्डबिना उत्रिएको चेल्सीले सिटीको पोस्टमा पहिलो आक्रमण गर्न २५ मिनेट लगाएको थियो ।

आक्रमणमा फितलो देखिएको चेल्सीले सिटीको डिफेन्सलाई बिरलै दबाब दिन सक्यो । अगुइरोले बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे । यस जितसँगै सिटी सन् २०१३ पछि कम्युनिटी सिल्ड जित्ने पहिलो प्रिमियर लिग विजेता टोली पनि बन्यो । अघिल्लो चार संस्करणमा एफए कप विजेताले नै यो उपाधि जितेका थिए ।

सर्जियो अगुइरो (बीच) गोल गरेपछि खुसी मनाउँदै  ।

डेब्यु खेलमा चेल्सीका जोर्गिन्हो।

चेल्सीका प्रशिक्षक माउरिजियो सार्री। तस्बिरहरू : रोयटर्स

Esewa Pasal

प्रकाशित : श्रावण २१, २०७५ ०७:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल यू–१९ क्रिकेट टोलीले इडेन गार्डेन्समा खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–१९ क्रिकेट टोलीले भारतको प्रख्यात कोलकाताको इडेन गार्डेन्स मैदानमा खेल्ने भएको छ । हालै मात्र राष्ट्रिय टोलीले विश्व क्रिकेटको ‘मक्का’ इंग्ल्यान्डको लर्डसमा खेलिसकेको अवस्थामा युवा टोलीले पनि त्यस्तै ठूलो अवसर पाएको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली रहेको छ । बीसीसीआईको एकेडेमी टोली हो एनसीए ।

प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म आयोजना हुनेछ । खेल भने सेप्टेम्बर १२ बाट सुरु हुनेछ । नेपालले भारतको यू–१९ सँग सेप्टेम्बर १४ मा इडेन गार्डेन्समा खेल्नेछ । नेपाली यू–१९ टोलीले भने अफगानिस्तान यू–१९ र एनसीए यू–१९ सँगको खेल जादवपुर युनिभर्सिटी (जेयू) क्याम्पस मैदानमा खेल्नेछ । गत सिजनमा यस प्रतियोगितामा श्रीलंका यू–१९ ले खेलेको थियो ।

भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यसलाई विश्वकपको तयारीका रूपमा हेरेको छ । नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो । भारतसँग कुनै पनि प्रतिस्पर्धामा नेपालको त्यही एक जित हो । त्यो प्रतियोगिता भने अफगानिस्तानले जितेको थियो ।

विनोद दासको प्रशिक्षणमा नेपालले मलेसियामा त्यो सफलता पाएको थियो । ‘मैले भारतमा हुने प्रतियोगिताको खेल तालिका पाएको छैन, तर सेप्टेम्बर ९ बाट हुँदैछ भन्ने थाहा छ । यू–१९ एसिया कप अक्टोबरमा हुन्छ होला हामीलाई त्यसका लागि यो प्रतियोगिता राम्रो तयारी हुनेछ,’ दासले कान्तिपुरसँग भने, ‘भारतमा यस्तो प्रतियोगिता खेल्न पाउनु हाम्रा लागि ठूलो एक्सपोजर हो ।’

चार टोली सम्मिलित एकदिवसीय शृंखला
सेप्टेम्बर १२
भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १४
भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
सेप्टेम्बर १६
भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १८
टिम १ विरुद्ध टिम २
टिम ३ विरुद्ध टिम ४
सेप्टेम्बर १९
वैकल्पिक दिन

प्रकाशित : श्रावण २१, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT