नेपाल यू–१९ क्रिकेट टोलीले इडेन गार्डेन्समा खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–१९ क्रिकेट टोलीले भारतको प्रख्यात कोलकाताको इडेन गार्डेन्स मैदानमा खेल्ने भएको छ । हालै मात्र राष्ट्रिय टोलीले विश्व क्रिकेटको ‘मक्का’ इंग्ल्यान्डको लर्डसमा खेलिसकेको अवस्थामा युवा टोलीले पनि त्यस्तै ठूलो अवसर पाएको हो ।

नेपाल यू–१९ क्रिकेट टोलीले इडेन गार्डेन्समा खेल्ने

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली रहेको छ । बीसीसीआईको एकेडेमी टोली हो एनसीए ।

प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म आयोजना हुनेछ । खेल भने सेप्टेम्बर १२ बाट सुरु हुनेछ । नेपालले भारतको यू–१९ सँग सेप्टेम्बर १४ मा इडेन गार्डेन्समा खेल्नेछ । नेपाली यू–१९ टोलीले भने अफगानिस्तान यू–१९ र एनसीए यू–१९ सँगको खेल जादवपुर युनिभर्सिटी (जेयू) क्याम्पस मैदानमा खेल्नेछ । गत सिजनमा यस प्रतियोगितामा श्रीलंका यू–१९ ले खेलेको थियो ।

भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यसलाई विश्वकपको तयारीका रूपमा हेरेको छ । नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो । भारतसँग कुनै पनि प्रतिस्पर्धामा नेपालको त्यही एक जित हो । त्यो प्रतियोगिता भने अफगानिस्तानले जितेको थियो ।

विनोद दासको प्रशिक्षणमा नेपालले मलेसियामा त्यो सफलता पाएको थियो । ‘मैले भारतमा हुने प्रतियोगिताको खेल तालिका पाएको छैन, तर सेप्टेम्बर ९ बाट हुँदैछ भन्ने थाहा छ । यू–१९ एसिया कप अक्टोबरमा हुन्छ होला हामीलाई त्यसका लागि यो प्रतियोगिता राम्रो तयारी हुनेछ,’ दासले कान्तिपुरसँग भने, ‘भारतमा यस्तो प्रतियोगिता खेल्न पाउनु हाम्रा लागि ठूलो एक्सपोजर हो ।’

चार टोली सम्मिलित एकदिवसीय शृंखला
सेप्टेम्बर १२
भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १४
भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
सेप्टेम्बर १६
भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १८
टिम १ विरुद्ध टिम २
टिम ३ विरुद्ध टिम ४
सेप्टेम्बर १९
वैकल्पिक दिन

प्रकाशित : श्रावण २१, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?