कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खेल पूर्वाधार अधुरै

प्रतियोगिता प्रभावित हुने आशंका
ठाकुरसिंह थारु

नेपालगन्ज — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन चार महिना बाँकी छ । तर, त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण धेरै बाँकी छन् । अधिकांश खेलस्थल अधुरा छन् । पूर्वाधार पूरा नभएको खण्डमा राष्ट्रिय प्रतियोगिता प्रभावित हुने खतरा बढेको छ ।

खेल पूर्वाधार अधुरै

केन्द्रले समयमै बजेट निकासा नगर्दा निर्माण कार्यले गति लिन सकेको छैन । यसले यहाँ हुने प्रतियोगिता प्रभावित हुने आशंका बढाएको छ ।

‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका लागि हामी तीव्र गतिमा लागिपरेका छौं तर सबै कुरा पैसामै ठोकिन्छ,’ क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने, ‘समयमै भौतिक पूर्वाधार निर्माण गर्न नसकिने हो भने राष्ट्रिय प्रतियोगिता प्रभावित हुनसक्छ ।’

मंसिर २१ देखि २८ सम्म हुने प्रतियोगितालाई आवश्यक १३ ठूला आयोजना निर्माणाधीन छन् । ती सबै आयोजनालाई पूरा बजेट आएको छैन । कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भइरहेको छ । ९० लाख रुपैयाँ खर्च भइसकेको मैदानमा पिच निर्माणका लागि थप १० लाख छुटयाइएको छ । यति रकमले एकछेउको काम पनि पूरा नहुने अध्यक्ष ओली बताउँछन् ।

नेपालगन्ज रंगशालाको ट्रयाक र फिल्ड निर्माणका लागि साढे ६ करोड रुपैयाँ खर्च भइसकेको छ । दर्शक र भीआईपी प्यारापिट निर्माणका लागि २१ करोड लाग्ने अनुमान गरिएको छ । त्यसका लागि पनि राष्ट्रिय खेल परिषद् (राखेप) ले बजेट निकासा गरेको छैन । नेपालगन्जको काराकाँदोमा जुडो एकेडेमी निर्माण भइरहेको छ । त्यसलाई २३ लाख रुपैयाँ निकासा भएको छ । उक्त रकम एकेडेमी निर्माणमा अपुग हुने जनाइएको छ ।

नेपालगन्जमा भारोत्तोलन प्रतियोगिता भवनका लागि ५५ लाख खर्च भइसकेको र अझ ३० लाख रुपैयाँ माथिल्लो तलाका लागि आवश्यक देखिएको छ । सुटिङ रेन्जका लागि एक करोड आवश्यक पर्नेमा ४५ लाख रुपैयाँमात्रै बजेट आएको अध्यक्ष ओलीले बताए । पौडी पोखरीका लागि १५ करोडको काम भइरहेको छ । करिब अन्तिम चरणमा रहेको निर्माणका लागि थप रकम आवश्यक पर्नेछ । बाँकेको खजुरामा शुक्र भलिबल स्टेडियम निर्माण भइरहेको छ । २ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको स्टेडियमका लागि ८८ लाख रुपैयाँ निकासा भएको छ ।

कबड्डी प्रतियोगितालाई बर्दियाको बाँसगढीमा हल निर्माण भइरहेको छ । १ करोड ७५ लाखमा निर्माण हुने भनिएको कभर्डहलका लागि जम्मा १५ लाख निकासा भएको छ । बर्दियाको ठाकुरबाबा गाउँपालिका भुरिगाउँमा खोखो कभर्डहल निर्माण जारी छ । १ करोड ७५ लाखमा निर्माण हुने हलका लागि १५ लाखमात्रै बजेट निकासा भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

बर्दियाको गुलरियामा कभर्डहल निर्माण गर्न १ करोड २० लाख रुपैयाँ बजेट तोकिएको छ । तर त्यसका लागि पनि १५ लाख बजेट निकासा भएको छ । देउखुरीको लमहीमा क्रिकेट मैदान निर्माण भइरहेको छ । ६० लाख खर्च भइसकेको र थप १५ लाख छुट्याइएको छ । तर, त्यति बजेटले भने क्रिकेट मैदान निर्माण हुन नसक्ने जनाइएको छ ।

दाङको बेलझुण्डीमा रंगशाला निर्माण भइरहेको छ । २५ करोड लागतमा निर्माण भइरहेको रंगशालाका लागि बजेट निकासा हुन सकेको छैन । दाङको तुल्सीपुरमा कराँते कभर्डहल निर्माणका लागि एक करोड लागत लाग्नेछ । तर, त्यसका लागि २५ लाख रुपैयाँ मात्रै निकासा भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट हात्तीको छावा राखिएको छ । प्रतियोगिताको नारा र गीत यसअघि नै सार्वजनिक भइसकेको छ । प्रतियोगिताको नारा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । उक्त नारा सदस्यसचिव केशवकुमार विष्टले लेखेका हुन् । प्रतियोगिताको गीत नारायण खतिवडाले लेखेका छन् ।

प्रदेश ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवद्र्धनका लागि मस्कट हात्तीको छावा तय गरिएको हो । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरिएको छ । लोगोमा सात प्रदेश झल्काइएको छ ।

राष्ट्रियताको पहिचानका लागि चन्द्रसूर्यअंकित झण्डा पनि समेटिएको छ । ३५ खेलमा प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब डेढ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?