१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विलियन चेल्सीमै बस्ने

एएफपी

लन्डन — ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी विलियनले चेल्सीमै बस्ने वाचा गरेपछि टिमलाई ठूलो उत्साह थपिएको छ । प्रिमियर लिग महारथी टोलीमा थिबाउट कोर्टियस र इडेन हाजार्ड पनि बस्नेमा भने शंका गरिएको छ ।

विलियन चेल्सीमै बस्ने

विलियन स्टामफोर्ड ब्रिजबाट बाहिरिने सम्पर्कमा थिए तर चेल्सीले बार्सिलोनाको स्थानान्तरण प्रस्ताव अस्वीकार गरिदियो । प्रशिक्षक एन्टोनियो कोन्टेको स्थानमा माउरिजियो सार्रीलाई नियुक्त गरिएपछि पनि यी विंगरले क्लब छाड्ने चाहना त्यागेका हुन् । कोन्टेको अन्तिम खेलमा चेल्सीले एफए कपको उपाधि जितेको थियो । त्यसपछि विलियनलाई बेन्चमै राखिएको थियो । उनले पूरा टिमले खुसी मनाइरहँदा इटालियन प्रशिक्षकले तीन ट्रफी विजेतालाई रोकेको इन्स्टाग्राममा तस्बिर हालेका थिए ।

‘म चेल्सी खेलाडी हो,’ विलियनले भने, ‘म यो प्रस्ट पार्न चाहन्छु कि मैले क्लबमै बस्न चाहेको थिएँ । औपचारिक रूपमा मलाई प्रस्ताव गर्ने एक्लो क्लब बार्सिलोना हो । तर मेरो टाउको यहीं छ र क्लबले मलाई बेच्न नचाहेसम्म म यसैमा निरन्तरता दिन चाहन्छु । तर, मेरो टाउको यही क्लबमा हुनेछ ।’

विलियनका समकक्षी डेविड लुइजले बेल्जियन सहकर्मीद्वय कोर्टियस र हाजार्डलाई पनि क्लबमै बस्न आग्रह गरेका छन् । २६ वर्षीय कोर्टियसको सम्झौता अझै १ वर्ष बाँकी छ । उनी रियल म्याड्रिड जाने कुरा दोहोरिएको छ । चेल्सीलाई जनवरीमा उनको मूल्य घट्ने वा अर्को ‘समर’ मा नि:शुल्क पठाउनुपर्ने भन्ने चुनौती छ । एट्लेटिको म्याड्रिडका पूर्वगोलकिपर कोर्टियसले दुई सन्तानसहित स्पेनी राजधानी सर्ने चाहना नजिक पुगेको बताएका छन् ।

हाजर्डको सम्झौता सन् २०२० मा सकिनेछ । नयाँ सम्भौता गर्न ढिलाइ गरिरहेका उनी लामो समयदेखि नै रियल जाने हल्ला चलेको छ । ‘चेल्सीको चाहना उत्कृष्ट खेलाडीलाई राख्ने हो,’ लुइजले भने, ‘उनीहरूलाई चेल्सीबारे धेरै जानकारी छ । यहाँ के गरे भन्ने उनीहरूलाई थाह छ । उनीहरूले यहाँ रमाइलो गरे । सबैले उनीहरूलाई मन पराउँछन् र उनीहरू यहाँ बस्ने आस छ ।’

प्रकाशित : श्रावण २२, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?