कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘ऐतिहासिक खेलमा जितले कोसेढुंगा’

विनोद पाण्डे

काठमाडौँ — नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय ऐतिहासिक हुनुका साथै पहिलो जितले कोसेढुंगा थपिएको कप्तान पारस खड्काले बताएका छन् । नेपालले बुधबार एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै वान–डे अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खोलेको थियो ।

‘ऐतिहासिक खेलमा जितले कोसेढुंगा’

‘नेदरल्यान्ड्ससँगको शृंखलापछि आस गरौं आउँदा दिनमा नेपालले यस्तो द्विपक्षीय र त्रिकोणात्मक शृंखला जतिसक्दो खेल्नेछ । समर्थकमा उत्साह पनि त्यहीअनुसार बढ्नेछ,’ सोमबार युरोप भ्रमणबाट स्वदेश फर्किएपछि कप्तान पारसले भने, ‘यसको प्रभाव भोलिका दिनमा अझ बढी देखिन्छ होला । किनभने यो पहिलो जित हो ।’

नेपालले दुई साता भ्रमणको सुरुआत इंग्ल्यान्डबाट गरेको थियो । लन्डनमा चार अभ्यास खेल खेलेपछि नेपालले लर्डसमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग र नेदरल्यान्ड्ससँग खेल्ने कार्यक्रम थियो । तर वर्षाका कारण लर्डसमा पूरा नतिजा आउन सकेन । एमसीसीसँग ६–६ ओभरमा छोटयाइएको खेलमा नेपालले ९ विकेटको जित हात पारे पनि नेदरल्यान्ड्ससँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल वर्षाले पूरा हुन दिएन ।

नेदरल्यान्ड्ससँग एमस्ट्राडममा दुई वान–डे अन्तर्राष्ट्रिय खेल शृंखला १–१ को बराबरीमा टुंगिएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरे पनि जित हात पार्न सकेन । ज्ञानेन्द्र मल्ल र अनिलकुमार शाहले पहिलो वान–डेमा अर्धशतकीय साझेदारी गरे पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । दोस्रो खेलमा भने पारसले अन्तिम ओभर बलिङ गर्दै १ रनको रोचक र सनसनीपूर्ण जित दिलाएका थिए ।

उनले अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई ६ रन चाहिने अवस्थामा बलिङ गर्न जाँदा आफूलाई कुनै दबाब नभएको जनाउँदै भने, ‘हामी खेलाडीहरूलाई यस्तो दबाबमा खेल्ने बानी परिसकेको छ । मैदानभित्र प्रवेश गरिसकेपछि हरेकपल्ट जिताउन कोसिस गर्ने हो । आशा गरौं नेपाली क्रिकेटले आउँदा दिनमा अझ माथिल्लो स्तरमा यस्तो जित हासिल गर्न सकोस् ।’


सोमपाल कामी


नेपालले लगत्तै एसिया कप छनोट खेल्दैछ । आफ्नो टोलीको ध्यान त्यसैमा हुने पारसले जनाए । मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगितामा यूएई, हङकङ, मलेसिया, ओमान र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोली यूएईमा हुने एसिया कपमा पुग्नेछ । कप्तान पारसले भने, ‘एसिया कप छनोट नजिक आइरहेछ, त्यो पनि महत्त्वपूर्ण छ । हामीले आगामी दिनमा नेदरल्यान्ड्ससँग जस्तै जितको प्रयास गरिराख्नेछौं ।’


शक्ति गौचन


पहिलो खेलमा राम्रो सुरुआत गरेर हार्दा
जहिल्यै पनि राम्रो सुरुआत भएनौं भन्थ्यौं । राम्रो सुरुआत हुँदा त्यसलाई सदुपयोग गर्न सकेनौं । यो स्तर पनि यस्तै छ, सजिलो केही छैन । वान–डे क्रिकेटमा सबै सय ओभर राम्रो खेल्नु जरुरी छ । पहिलो खेलमा हामीले पहिलो इनिङ्स राम्रो गरेका थियौं । तर ब्याटिङमा २० ओभरपछि लय गुमाउन पुग्यौं । साझेदारी गर्न नसक्दा लक्ष्यमा पुग्न सकेनौं ।

दोस्रो खेलमा अन्तिम ओभर बलिङ गर्दा
जसरी हुन्छ खेल जिताउनुपर्छ भन्ने थियो । खेल हो कहिले जितिन्छ, कहिले हारिन्छ । यसपालि जित्यौं । हामी पनि नेपालले जसरी हुन्छ जितोस् भन्ने नै चाहन्थ्यौं । खेलिसकेपछि कति चिजहरू बानी पर्छ । खेलको त्यो मोमेन्ट खासै सोचिँदैन । त्यो मोमेन्टलाई कसरी ल्याउने भन्ने मात्र सोचिन्छ । भाग्य हाम्रै पक्षमा थियो ।

एसिया कप छनोटबारे
प्रतिस्पर्धा राम्रो हुन्छ । यूएई, हङकङ अहिले कागजमा राम्रा देखिएका छन् । ओमान पनि राम्रै छ । एसियामा सबैले एकअर्कालाई चुनौती दिन सक्छन् । त्यसैले आगामी दिनमा हामीलाई पनि चुनौती छ । एसिया कप छनोटमा एउटा मात्र अवसर छ । त्यो हो, जितेर एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने । त्यसैले हामीलाई यो ठूलो अवसर छ । आशा छ हामीले यो प्रतियोगिता जितेर त्यो अवसर आफ्नो पक्षमा पार्नेछौं ।

नेदरल्यान्ड्सको नेपालमा खेल्ने इच्छा
त्यसका लागि आईसीसी र नेपालको क्रिकेट बोर्डले मिलेर यसलाई सुल्झाउनुपर्छ । नेपाल क्रिकेट संघ (क्यान)
निलम्बनमा रहेसम्म हामीले मात्र गरेर केही हुँदैन ।

शरदको चोट
शरद (भेषावकर) लाई औंलामा चोट लागेको हो । एक्सरेहरू गरेपछि २–४ दिनमा अझ पूर्ण विवरण आउँछ । पहिलो खेलमा फिल्डिङ गर्दा बलले हातमा लागेर उनी घाइते भएका थिए ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?