१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लक्ष्य एसिया कप

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले वान–डे अन्तर्राष्ट्रिय खेल्छ भन्ने सपना थियो, तर म नै प्रशिक्षक भएको समयमा खेल्छ भन्ने थिएन । यसमा नेपालीदेखि विदेशी सबै प्रशिक्षक, यत्रो वर्षदेखि खेल्दै आएका खेलाडी सबैको योगदान छ । म प्रशिक्षक भएको समयमा खेल्यो, त्यसमा खुशी लाग्नु स्वाभाविक हो ।

लक्ष्य एसिया कप

नेपाली प्रशिक्षकको पालामा पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्नु अनि जित हात पार्नु ठूलो उपलब्धि नै हो जस्तो लाग्छ ।

निश्चय पनि एसिया कप छनोट आउँदै छ । युरोप भ्रमण र नेदरल्यान्ड्ससँग खेल्नु नै हाम्रो तयारी हो । चुनौती छ । यो चुनौती पार गरेर एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने हाम्रा खेलाडीको पनि सपना छ । उनीहरूको मिहिनेत पनि त्यहीअनुसार छ । अब २–४ दिन आराम गरेर एसिया कप तयारी सुरु गरिहाल्छौं । तयारीका क्रममा हामी श्रीलंकामा अभ्यास खेल्न सक्छौं ।

हामीले त्यो प्रस्ताव आईसीसीलाई दिएका छौं । १–२ दिनमा आईसीसीले त्यसको निश्चित गरेपछि हाम्रो प्रशिक्षण सुरु हुनेछ । विदेशी ब्याटिङ परामर्श प्रशिक्षक पनि ल्याउनेबारे छलफल भएको थियो, तर आईसीसीले अन्तिम निर्णय दिएको छैन ।

एसिया कप खेल्नु धेरै ठूलो चुनौती र अवसर हो । हामीले त्यहीअनुसार प्रदर्शन पनि गरेका छौं । खेलाडी पनि त्यो जोस छ, मुख्य भनेको टिममा सन्तुलन छ । जुनियर र सिनियर खेलाडीको सन्तुलन मिलेको छ । यसले टिमभित्र पनि प्रतिस्पर्धाको भावना जगाएको छ । मैले केही गर्नुपर्छ भन्ने खेलाडीलाई अनुभूति गराएको छ । यही विश्वासले गर्दा हामीले प्रदर्शन दिन सकेका छौं ।

नेदरल्यान्ड्सको हाइपर्फोमेन्स म्यानेजरले नेपालमा आएर आफ्नो टोलीले खेल्ने इच्छा देखाएको थियो । तर त्यो हामीले भन्दा पनि आईसीसीले हेर्ने विषय हो यो, किन भने नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अवस्था छ । आईसीसीले पनि आयोजना त गर्ने तर यसको जिम्मेवारी कसले लिने भनेर सोध्छ, त्यही भएर अहिले यो हाम्रो हातमा छैन । ४–५ महिनामा क्रिकेट संघको विवाद समाधन भएर आउँछ भने निश्चय पनि हामीले यस्तो शृंखला घरेलु मैदानमै खेल्न पाउँछौं ।

नेदरल्यान्ड्समा हाम्रो प्रदर्शन राम्रो भएको मान्छु म । हामीले पहिलो खेलमा बलिङ राम्रो गर्‍यांै तर राम्रो सुरुआत गरे पनि ब्याटिङ पतन हुँदा हार्न पुग्यौं । नेदरल्यान्ड्स विश्व क्रिकेट लिग च्याम्पियनसिपको च्याम्पियन टिम हो । दुई वर्षअगाडि हामीले उनीहरूलाई त्यही हराएका थियौं । त्यसैले पहिलो खेल अलि कति बिग्रिए पनि उनीहरूलाई हराउँछौं भन्ने आशा थियो । यही विश्वासले पनि खेल जितेका हौं ।

बलिङ र उत्कृष्ट फिल्डिङ पनि हाम्रो जितको कारण थियो । आगामी दिनमा अझ यस्तो एक्सपोजर पाउने हो भने हाम्रा खेलाडी अझ माथि जाने छन् । यस्तै म्याच खेल्ने हो भने हाम्रो प्रदर्शनमा पनि सुधार आउँछ । हाम्रा खेलाडीमा क्षमता छ, तर एक्सपोजर कम छ । यही हिसाबले अगाडि बढ्यौं भने धेरै त भन्दिनँ ८–१० वर्षभित्र नेपाल पनि टेस्ट खेल्ने राष्ट्र बन्नेछ ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?