प्रदर्शन सुधार्ने लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ यू–१५ गल्र्स फुटबल च्याम्पियनसिप खेल्न भुटान पुगेको नेपाली टोलीले शनिबार पहिलो खेल खेल्दै छ । प्रतियोगिता बिहीबारै सुरु हुनेछ । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालले राम्रो तयारी गरेको बताएकी छन् ।

प्रशिक्षक गंगा गुरुङ र कप्तान प्रीति राई । तस्बिर साैजन्य : एनएसजेएफ

‘हाम्रो तयारी राम्रो भएको छ । अब योजनाअनुसार मैदानमा राम्रो प्रदर्शन गर्ने विश्वास छ,’ प्रशिक्षक गुरुङले थपिन्, ‘हाम्रो समूहका अन्य दुवै टोली राम्रा छन् । हामीले सक्दो प्रयास गरेर नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं ।’ टोलीकी कप्तान प्रीति राईले पछिल्लो संस्करणमा पनि खेलेको अनुभव रहेकाले राम्रो नतिजा निकाल्न सक्दो प्रयास गर्ने बताइन् ।

सन् २०१७ मा आयोजित पहिलो संस्करणमा नेपाली टोली समूहको पुछारमा जितविहीन रहँदै घर फर्केको थियो । त्यसबेला आयोजक बंगलादेशसँग ६–० तथा भारतसँग १०–० ले पराजित नेपालले अन्तिम खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो । चार टोलीसम्मिलित प्रतियोगिताको उपाधि घरेलु टोली बंगलादेशले फाइनलमा भारतलाई १–० ले हराएर जितेको थियो ।

Yamaha

यसपालि नेपाल रहेको समूह ‘बी’ मा बंगलादेश, नेपाल र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, आयोजक भुटान र श्रीलंका छन् । पहिलो दिन भारत र श्रीलंका तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले शनिबार पाकिस्तान र सोमबार बंगलादेशसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउने छन् । फाइनल १८ अगस्टमा हुनेछ ।

Esewa Pasal

प्रकाशित : श्रावण २४, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

केपा महँगा गोलरक्षक

एएफपी

म्याड्रिड — इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लबबाट गोलरक्षक केपा अर्रिजाबालागालाई भित्र्याउन ८ करोड युरो तिर्ने भएको छ ।

स्पेनको राष्ट्रिय टोलीबाट एक खेल खेलेका २३ वर्षीय केपालाई अनुबन्धन गर्न चेल्सीले गोलरक्षकका लागि विश्व कीर्तिमानी रकम खर्चने भएको हो । स्पेनिस क्लब बिल्बाओले बुधबार विज्ञप्ति जारी गर्दै चेल्सीले केपाको रिलिज क्लज तिर्न स्विकारेको जनाएको छ । केपा बुधबार नै आवश्यक प्रक्रिया पूरा गर्न इंग्ल्यान्ड प्रस्थान गरिसकेका छन् ।

केपाको आगमनसँगै चेल्सीका नियमित गोलरक्षक थिबाउट कोर्टियसको स्टामफोर्ड ब्रिज छाडेर रियल म्याड्रिड जाने सम्भावना बढेको छ । चेल्सीले ८ करोड युरो खर्चने भएसँगै लिभरपुलले यसै ट्रान्सफर विन्डोमा ब्राजिलियन गोलरक्षक एलिसनलाई अनुबन्धन गर्न तिरेको ७ करोड ५० लाख युरो कीर्तिमान तोडिने भएको छ ।

केपाले एथलेटिक बिल्बाओका लागि पछिल्ला दुई सिजनमा ५३ खेल खेलेका छन् । उनले नोभेम्बर २०१७ मा कोस्टारिकाविरुद्ध ५–० को जितमा खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु पनि गरेका थिए । उनले रुसमा सम्पन्न विश्वकपमा पहिलो रोजाइका डेविड डे हेयाको वैकल्पिकमा स्थान बनाए पनि खेल्ने भने पाएनन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT