२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यू–१९ लाई खुला छनोट गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सेप्टेम्बरमा हुने एसीसी यू–१९ एसिया कप तथा त्यसअघिको सम्भावित भारत भ्रमणका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको खुला छनोट हुने भएको छ । प्रशिक्षक विनोद दासले साउन २८ देखि ३० सम्म खुला छनोट गर्दै प्रारम्भिक टोलीमा पर्ने सम्भावना बोकेका प्रतिभाको छनोट गर्ने बिहीबार जानकारी गराए ।

यू–१९ लाई खुला छनोट गरिने

रातोपुलस्थित भेलोसिटी एरिनाको इन्डोर कोर्टमा हुने छनोटमा उमेर हदबन्दी पार नगरेका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । सन् १९९९ सेप्टेम्बर १ पछि जन्मने जो–कोही पनि छनोटलाई योग्य हुने प्रावधान छ । यसअघि यू–१६ टोलीमा परेका खेलाडीलाई भने सिधै प्रारम्भिक छनोटमा समावेश गरिनेछ । यसबाहेक हरेक क्षेत्रबाट ३–३ खेलाडी प्रारम्भिक छनोटमा पर्नेछन् । खुला छनोटबाट ९, क्षेत्रबाट आएका २१, यू–१६ टोलीबाट १४ सहित कुल ४४ खेलाडी प्रारम्भिक छनोटमा पर्नेछन् । त्यसपछि प्रशिक्षण तथा अभ्यास खेलबाट १२ खेलाडी छनोट गरी पछिल्लो यू–१९ टोलीका ७ सहित १९ खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् ।
नेपालमा क्रिकेट बोर्ड नरहेको अवस्थामा आईसीसीले नेपालको सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे समन्वय गर्दै आएको छ । प्रशिक्षक दासका अनुसार नेपालले भारत भ्रमणबारे प्रस्ताव पठाइसकेको र आईसीसीको निर्णय कुरेर बस्दा टोली छनोटमा ढिलाइ हुने कारणले अहिले नै छनोट प्रक्रिया सुरु गरेको बताए । ‘हामीले आइसीसीको निर्णय कुर्ने बेलासम्म छनोट प्रक्रिया अगाडि बढाउँदै गर्ने जमर्को गरेका हौं । निर्णय कुर्दासम्म तयारीमा कम समय हुने भएकाले प्रदर्शनमा असर पर्छ । भारत र अफगानिस्तानसँग मुख्य प्रतियोगिताअघि खेल्न पाउनु सम्भवत: उत्कृष्ट तयारी हुनेछ । सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छौं,’ दासले भने ।


नेपालले भारतमा खेल्ने मैत्रीपूर्ण सिरिजमा नेपाल, भारत र अफगानिस्तानको यू–१९ तथा भारतको नेसनल क्रिकेट एकेडेमी (एनसीए) को यू–१९ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता सेप्टेम्बर दोस्रो साता कोलकातामा हुँदै छ । यू–१९ एसिया कप भने बंगलादेशले आयोजना गर्नेछ ।


राष्ट्रिय टिमको प्रारम्भिक छनोट
काठमाडौं– नेपालले एसीसी एसिया कप छनोट २०१८ का लागि १९ सदस्यीय क्रिकेट टोलीको बिहीबार घोषणा गरेको छ ।


अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने प्रतियोगिताको बन्द प्रशिक्षणमा गत साता वान–डे शृंखलामा सहभागिता जनाएका दुई खेलाडी उपस्थित रहने छैनन् । स्पिनर शक्ति गौचनसँगै शृंखलाको पहिलो खेलमा चोट बोकेका शरद भेषावकरले एसिया कप छनोट गुमाउने छन् । शरदलाई ठीक हुन चार साता लाग्ने बताइएको छ ।


नेपाली टोलीमा एसिया कप छनोटका लागि भारतका अपूर्व सुबोध देशाई ब्याटिङ कन्सल्टेन्टमा नियुक्त भएका छन् । टोली तयारीका लागि अगस्ट २० मा तीन अभ्यास खेल खेल्न श्रीलंका जानेछ । खेलाडी छनोट समितिको नेतृत्वमा मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का छन् । नेपालले अगस्ट १४ देखि प्रशिक्षण थाल्नेछ ।


टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहित पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुसन भारी छन् ।

प्रकाशित : श्रावण २५, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?