मोउरिन्हो चिन्तित

प्रिमियर लिग आजदेखि
एएफपी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी प्राप्त नगरेपछि टोलीको प्रदर्शनबारे चिन्तित देखिएका छन् । शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लेस्टर सिटीको सामना गर्नुअघि मोउरिन्होले नयाँ खेलाडी नहुँदा स्थिति कठिन रहेको बताएका हुन् ।

केही सातादेखि ट्रान्सफर विन्डोमा रकम खर्चिनुपर्छ भन्दै आएका मोउरिन्हो उनले चाहेका खेलाडी क्लबले किन्न नसकेपछि रुष्ट भएका छन् । गत सिजन उपाधि विजेता म्यानचेस्टर सिटीभन्दा १९ अंक पछाडि रहेको युनाइटेडले दुई खेलाडी भित्र्याएको छ । ब्राजिलियन मिडफिल्डर फ्रेड र पोर्चुगलका डिफेन्डर डिएगो डालोट क्लबमा आए पनि मोउरिन्होले कम्तीमा एउटा सेन्टर डिफेन्सको माग गरेका थिए । युनाइटेडको ठीक विपरीत लिभरपुलले भने २२ करोड युरो खर्चेर युनाइटेडलाई उछिन्ने तयारी तीव्र पारेको छ ।


शुक्रबार युनाइटेडले लेस्टरको सामना गर्दा मोउरिन्होले क्लबमा ल्याउने इच्छा गरेका डिफेन्डर ह्यारी मगायर विपक्षी टोलीमा हुनेछन् । इंग्ल्यान्डलाई विश्वकप सेमिफाइनल पुर्‍याउन बलियो प्रदर्शन गरेका मगायरलाई लेस्टरले कुनै हालतमा नबेच्ने बताएको थियो । विश्वकपबाट गत साता मात्र फर्केका कारण मगायर लेस्टरको पहिलो रोजाइमा नपर्ने सम्भावना प्रबल छ ।

Yamaha


युनाइटेड समस्यामा
विश्वकप र नयाँ सिजनबीचमा कम समय हुँदा युनाइटेड प्रशिक्षक मोउरिन्होलाई समस्या परेको छ । रोमेलु लुकाकु, मार्कस रासफर्ड, फिल जोन्स र भिक्टर लिन्डेलफले छुट्टी घटाएर शुक्रबारको खेल भ्याउने गरी प्रशिक्षणमा फर्के पनि पाउल पोग्बा अझै छुट्टी बस्नुले क्लब समस्यामा परेको हो । पोग्बा र मोउरिन्होको चिसिएको सम्बन्ध बार्सिलोनाले पोग्बा भित्र्याउने प्रयासले अझै जटिल बनेको छ ।


मोउरिन्हो यसअघि प्रशिक्षक रहेको चेल्सी र रियल म्याड्रिडमा तेस्रो सिजन निकै खराब रहँदै आएको छ । यसपटक सोही सिलसिला नदोहोरिन एलेक्सिस सान्चेज र पोग्बाले राम्रो खेल्नुपर्नेछ । डिसेम्बर २०१५ मा रेलिगेसन क्षेत्रभन्दा १ अंक माथि रहेका कारण चेल्सीले मोउरिन्होलाई बर्खास्त गरेको थियो । त्यसअघि सन् २०१२–१३ मा पनि रियलले कुनै उपाधि नजितेको सिजनमा खेलाडीहरूसँग असमझदारी बढेपछि मोउरिन्हो क्लबमा निरन्तर रहेनन् ।


हालको शैली हेर्दा मोउरिन्होको परम्परागत समस्या दोहोरिने सम्भावना बलियो छ । युनाइटेडले खराब सुरुआत गरेको खण्डमा त्यो अझ जटिल बन्नेछ । नेमान्जा माटिच घाइते हुनुले पनि युनाइटेडलाई थप पिरोलेको छ । पछिल्लो मैत्रीपूर्ण खेलमा डिफेन्डर एरिक बेली र आन्द्रे हरेरा घाइते हुनुले पनि शुक्रबार खेल्नेमा शंका पैदा गरेको हो ।

प्रकाशित : श्रावण २५, २०७५ १३:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकपको उपाधि जनप्रेमीलाई

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकप प्रतियोगिताको उपाधि कौशलटारमा रहेको जनप्रेमी स्कुलले उचालेको छ । 

युवाको साथसाथ आवाज नेपाले आयोजना गरेको उक्त फुटसल प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका थिए। फाइनलमा मोर्डन स्कुल भक्तपुरलाई टाइब्रेकरमा २-० ले हराउँदै जनप्रेमी च्याम्पियन बन्न सफल भएको हो।

बुधबार दिउँसो भएको फाइनलमा निर्धारित समयमा दुवै स्कुलले १-१ गोल गर्दै खेल बराबरी गरेका थिए। खेल बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा जनप्रेमीले मोर्डनलाई २-०ले हराउन सफल भयो।

विजेताले नगद १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने टिमले ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी जनप्रेमीका सुगम खड्का भए।

प्रकाशित : श्रावण २५, २०७५ १३:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT