कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोउरिन्हो चिन्तित

प्रिमियर लिग आजदेखि
एएफपी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी प्राप्त नगरेपछि टोलीको प्रदर्शनबारे चिन्तित देखिएका छन् । शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लेस्टर सिटीको सामना गर्नुअघि मोउरिन्होले नयाँ खेलाडी नहुँदा स्थिति कठिन रहेको बताएका हुन् ।

मोउरिन्हो चिन्तित

केही सातादेखि ट्रान्सफर विन्डोमा रकम खर्चिनुपर्छ भन्दै आएका मोउरिन्हो उनले चाहेका खेलाडी क्लबले किन्न नसकेपछि रुष्ट भएका छन् । गत सिजन उपाधि विजेता म्यानचेस्टर सिटीभन्दा १९ अंक पछाडि रहेको युनाइटेडले दुई खेलाडी भित्र्याएको छ । ब्राजिलियन मिडफिल्डर फ्रेड र पोर्चुगलका डिफेन्डर डिएगो डालोट क्लबमा आए पनि मोउरिन्होले कम्तीमा एउटा सेन्टर डिफेन्सको माग गरेका थिए । युनाइटेडको ठीक विपरीत लिभरपुलले भने २२ करोड युरो खर्चेर युनाइटेडलाई उछिन्ने तयारी तीव्र पारेको छ ।


शुक्रबार युनाइटेडले लेस्टरको सामना गर्दा मोउरिन्होले क्लबमा ल्याउने इच्छा गरेका डिफेन्डर ह्यारी मगायर विपक्षी टोलीमा हुनेछन् । इंग्ल्यान्डलाई विश्वकप सेमिफाइनल पुर्‍याउन बलियो प्रदर्शन गरेका मगायरलाई लेस्टरले कुनै हालतमा नबेच्ने बताएको थियो । विश्वकपबाट गत साता मात्र फर्केका कारण मगायर लेस्टरको पहिलो रोजाइमा नपर्ने सम्भावना प्रबल छ ।


युनाइटेड समस्यामा
विश्वकप र नयाँ सिजनबीचमा कम समय हुँदा युनाइटेड प्रशिक्षक मोउरिन्होलाई समस्या परेको छ । रोमेलु लुकाकु, मार्कस रासफर्ड, फिल जोन्स र भिक्टर लिन्डेलफले छुट्टी घटाएर शुक्रबारको खेल भ्याउने गरी प्रशिक्षणमा फर्के पनि पाउल पोग्बा अझै छुट्टी बस्नुले क्लब समस्यामा परेको हो । पोग्बा र मोउरिन्होको चिसिएको सम्बन्ध बार्सिलोनाले पोग्बा भित्र्याउने प्रयासले अझै जटिल बनेको छ ।


मोउरिन्हो यसअघि प्रशिक्षक रहेको चेल्सी र रियल म्याड्रिडमा तेस्रो सिजन निकै खराब रहँदै आएको छ । यसपटक सोही सिलसिला नदोहोरिन एलेक्सिस सान्चेज र पोग्बाले राम्रो खेल्नुपर्नेछ । डिसेम्बर २०१५ मा रेलिगेसन क्षेत्रभन्दा १ अंक माथि रहेका कारण चेल्सीले मोउरिन्होलाई बर्खास्त गरेको थियो । त्यसअघि सन् २०१२–१३ मा पनि रियलले कुनै उपाधि नजितेको सिजनमा खेलाडीहरूसँग असमझदारी बढेपछि मोउरिन्हो क्लबमा निरन्तर रहेनन् ।


हालको शैली हेर्दा मोउरिन्होको परम्परागत समस्या दोहोरिने सम्भावना बलियो छ । युनाइटेडले खराब सुरुआत गरेको खण्डमा त्यो अझ जटिल बन्नेछ । नेमान्जा माटिच घाइते हुनुले पनि युनाइटेडलाई थप पिरोलेको छ । पछिल्लो मैत्रीपूर्ण खेलमा डिफेन्डर एरिक बेली र आन्द्रे हरेरा घाइते हुनुले पनि शुक्रबार खेल्नेमा शंका पैदा गरेको हो ।

प्रकाशित : श्रावण २५, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?