१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

साफ यू–१५ गर्ल्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–१५ गर्ल्स फुटबल टोलीले भुटानमा जारी साफ यू–१५ गर्ल्स च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानलाई ४–० ले पराजित गरेको छ । चाङलमिथाङ रंगशालामा पाकिस्तानी टोलीमाथि पूरै समय हाबी रहेको नेपाली टोलीले दुवै हाफमा २–२ गोल गरेको थियो ।

साफ यू–१५ गर्ल्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

नेपालले आठौं मिनेटमा अनुष्का शेर्पाको गोलबाट अग्रता लिएको हो । सुष्मा तामाङको सुरुआती हेडर पोस्टमा लागेर फर्केपछि अनुष्काले त्यसमै हेडर गोल गरिन् । त्यसको ६ मिनेटपछि नै नेपालले दोस्रो गोल थप्यो । अनुष्काको पासमा सविता रानामगरले दायाँ विंग्सबाट क्रस गरेको बल सिधै पोस्टभित्र छिरेको थियो ।


दोस्रो हाफमा नेपालले दुई गोल थप्यो । सविताले ५६ औं मिनेटमा खाली पोस्टमा गोल गर्दै अग्रता बढाइन् । रजनी ठोकरले बायाँ विंग्सबाट दिएको क्रस पाकिस्तानकी गोलरक्षक आयशा नसिमले ठम्याउन नसक्दा सविताले सहज गर्ने मौका पाइन् । तीन मिनेटपछि रजनीले नेपालका लागि चौथो गोल गरेर अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको फितलो प्रहारलाई गोलरक्षक नसिमले रोक्न सकिनन् ।


शनिबारै अर्को खेलमा आयोजक भुटानले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हरायो । भुटानको जितमा फरवार्ड सोनाम ल्हामोले ह्याट्रिक गरिन् । नेपालले समूह ‘बी’ को अन्तिम खेलमा सोमबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले पराजित गरेको थियो । श्रीलंकालाई १२–० ले पराजित गरेको भारत र भुटान पनि समूह ‘ए’ को अन्तिम खेलमा सोमबार नै भिड्ने छन् । जित हासिल गरेका चारै टोली सेमिफाइनल पुगिसकेका छन् ।

प्रकाशित : श्रावण २६, २०७५ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?