कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘बंगबन्धुको पुरस्कार अझै आएन’

२५ हजार डलर नपठाए नेपालले पाँचौं संस्करण नखेल्ने
कान्तिपुर संवाददाता

काठमाडौं — डिफेन्डिङ च्याम्पियन नेपालले पुरस्कारबापत पाउन बाँकी २५ हजार अमेरिकी डलर (२५ लाख रुपैयाँ बढी) हात नपारे यसपालि हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागी नहुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

‘बंगबन्धुको पुरस्कार अझै आएन’

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा २२ जनवरी २०१६ मा भएको फाइनलमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठको गोलसँगै बहराइनको यू–२३ टिममाथि ३–० को जित हात पार्दै नेपालले अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि उपाधि हात पारेको थियो । त्यससँगै नेपाली फुटबलको स्वर्णिम युग सुरु भएको थियो । र, ढाकामा सफल भएको ११ महिनाभित्र नेपाली टिमले १२ औं दक्षिण एसियाली खेलकुद (यू–२३) मा स्वर्णपदक र एएफसी सोलिडारिटी कपको ट्रफी पनि कब्जा गरेको थियो ।


बंगबन्धु गोल्डकपको आयोजक बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले चौथो संस्करणको च्याम्पियनलाई ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो । तर, प्रधानमन्त्री शेख हसिनाबाट कप्तान विराज महर्जन र प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी थापेको ३० महिना बितिसक्दा पनि पुरस्कारको आधा बीएफएफले दिएको छैन । एन्फाले पटकपटक ताकेता गरेपछि बीएफएफले २५ हजार डलर २ मार्च, २०१८ मा एन्फालाई पठाएको थियो ।


‘पुरस्कारको बाँकी रकम नपठाउँदै बीएफएफले पाँचौं संस्करणका लागि निमन्त्रणा पठायो,’ एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आइतबार भने, ‘च्याम्पियनको पूरा पुरस्कार प्राप्त नभएसम्म सहभागी हुन नसक्ने आशयको जवाफ हामीले दिएका छौं । बाँकी पुरस्कार नपाएसम्म बंगबन्धु गोल्डकपमा नेपाली टिम सहभागी हुने कुरा आँदैन ।’


बंगबन्धु गोल्डकपको पाँचौं संस्करण अक्टोबर १–१२ मा सञ्चालन गर्ने घोषणा गर्दै त्यसमा नेपालसहित फिलिपिन्स, प्यालेस्टाइन र आयोजक बंगलादेशको सहभागिता निश्चित भइसकेको बीएफएफका अध्यक्ष काजी सलाउद्दिनलाई उद्धृत गर्दै उसको वेबसाइटमा लेखिएको छ । सिल्हेट र बंगबन्धु रंगशालामा हुने प्रतियोगितामा ६ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने पनि उनले बताएका छन् ।


बंगबन्धु गोल्डकपमा नेपाल दुईपल्ट सहभागी भएको थियो । सन् १९९९ मा भएको दोस्रो संस्करणमा नेपाल सुरुका दुवै खेल हारेपछि समूह चरणबाटै बाहिरिएको थियो । त्यसको १७ वर्षपछि भने श्रीलंकामाथि १–० को जित हात पारेको नेपाली टिम मलेसियन क्लब फेल्डा युनाइटेड र बंगलादेशको राष्ट्रिय टिमविरुद्ध गोलरहित बराबरी खेल्दै समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । नवयुग श्रेष्ठको ह्याट्रिक र विशाल राईको एक गोलसँगै माल्दिभ्सविरुद्ध ४–१ को सनसनीपूर्ण जित रच्दै नेपालले फाइनल यात्रा तय गरेको थियो । फाइनलमा बहराइन यू–२३ लाई ३–० ले पन्छाउँदै नेपालले उपाधिको खडेरी तोडेको थियो ।


मैत्रीपूर्ण खेल
बंगबन्धु गोल्डकपको सहभागिता अनिश्चित भए पनि नेपाली राष्ट्रिय टिमको तयारीलाई नियमित गर्न मैत्रीपूर्ण खेलहरू तय भएको एन्फाले जनाएको छ ।


नेपालले १४ नोभेम्बरमा सातदोबाटोमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने निश्चित गरिसकेको छ । थाइल्यान्ड पनि मैत्रीपूर्ण खेलका लागि डिसेम्बरमा काठमाडौं आउने एन्फाले जनाएको छ । म्यान्मारले पनि मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव पठाएको छ । त्यसअघि नेपालले बंगलादेशमा सेप्टेम्बर ४–१५ मा हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । १८ औं एसियाली खेलकुदमा सहभागी हुन यू–२३ टिम बैंककमा १० दिने क्याम्पपछि आइतबार जकार्ता पुगेको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?