१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पोखरा प्रिमियर लिग : दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य

दीपक परियार

लेखनाथ — आगामी कार्तिकमा हुने पोखरा प्रिमियर लिग (पीपीएल) मा सहभागी हुने टीमले दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य समावेश गर्नुपर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पहिलोपल्ट क्रिकेट लिगमा स्थानीय खेलाडी अनिवार्य गरेको हो । 

पोखरा प्रिमियर लिग : दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य

प्रतियोगिताबारे जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले अक्सनको माध्यमबाट खेलाडी छनोट गर्ने बताए । उक्त नियमले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न मद्दत पुग्ने उनले बताए । कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा हुने टी–२० क्रिकेट प्रतियोगितामा ‘फ्रेन्चाइज बेस’ मा ६ टीम सहभागी हुनेछन् । पोखरा, काठमाडौं, बुटवलर विराटनगर, नेपालगञ्ज र धनगढी फ्रेन्चाइज टीम हुने बताइएको छ ।


आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार राशी हालसम्मकै सर्वाधिक हुनेछ । यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) मा उपाधि विजेताले २५ लाख पाउँदै आएका छन् । यद्यपि, पुरस्कार रकम भने घोषणा भइसकेको छैन ।


लामाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) लाई पत्राचार गरिसकेकाले छिट्टै स्वीकृति प्राप्त हुने जनाए । प्रतियोगिता सम्पन्न गर्न दुई करोड खर्च लाग्ने उनले जानकारी दिए ।


तयारी धमाधम

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पीपीएललाई लक्षित गर्दै मैदान निर्माण कार्यलाई तीव्रता दिएको छ । प्रालिले आºनै पहलमा मैदान सम्याएको थियो । अहिले पिच निर्माण कार्य भइरहेको छ । भारतका क्युरेटर सन्तोष सिंहसहितको टीमले काम गरिरहेको छ । मैदानमा चार पिच निर्माणाधीन अवस्थामा छन् ।


अन्तर्राष्ट्रिय स्तरको पिच बनाउने लक्ष्य रहेको लामाले बताए । ‘हामीले बनाउने पिच स्पाइक जुत्ता लगाएर खेल्न मिल्ने हुनेछ,’ उनले भने, ‘राजधानीबाहिर यस्तो पिच पहिलो हो ।’ मैदानमा लेभलिङ गर्ने, घाँस रोप्ने, पेभिलियन, स्थायी खालको स्कोरबोर्ड निर्माण कार्य चलिरहेको छ । दर्शकको सुविधाका लागि स्क्रिन राखिने आयोजकले जनाएको छ ।


मैदान निर्माण अन्तिम चरणमा पुगेपछि साढे ४ हजार दर्शक अट्ने अस्थायी प्यारापिट पनि आयोजकले नै निर्माण गर्नेछ । सोमबार राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, क्याप्टेन पारस खड्का, क्रिकेटर ज्ञानेन्द्र मल्लले मैदानको अवलोकन गरेका थिए ।


पोखरा प्रिमियर लिग (पीपीएल) बारे सोमबार पोखरामा जानकारी दिँदै आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामा । तस्बिर : दीपक परियार/कान्तिपुर


खेल पर्यटनमा कोशेढुंगा

गण्डकी प्रदेशको खेल पर्यटनमा पीपीएल कोशेढुंगा बन्ने बताइएको छ । पत्रकार सम्मेलनमा प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरालाई खेल पर्यटनको हब बनाउने प्रदेश सरकारको उद्देश्यलाई पीपीएलले सहयोग पुर्‍याउने बताइन् । प्रदेश सांसद दीपक कोइरालाले पीपीएलले पोखराको क्रिकेटमा नयाँ तरंग ल्याउने बताए । उनले पोखराको मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय भेन्यूको रुपमा स्थापित गर्न प्रतियोगिताले मद्दत पुर्‍याउने उल्लेख गरे ।


राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले प्रतियोगिताबाट पोखराले फाइदा लिन सक्ने बताए । उनले आगामी १० वर्षमा टेस्ट खेल्ने राष्ट्रको रुपमा उभ्याउन पूर्वाधार आवश्यक भएकोले पोखरा लगायतका सहर उपयुक्त हुने उनको भनाइ थियो । क्याप्टेन खड्काले पोखराको मैदानमा माछापुच्छ्रे हेर्दै खेल्नुजस्तो मज्जा अन्त नभएको बताए । उनले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण देशभरी नै गर्ने सोच बनाएकोले आगामी प्रशिक्षण पोखरामै गर्न सकिने सुनाए । ‘सातै प्रदेशमा क्रिकेट मैदान बनोस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘पोखरामा क्रिकेट हुँदा अरु प्रदेशमा उत्साह आउन सक्छ ।’

प्रकाशित : श्रावण २८, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?