२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एसियाड खेलकुद : नेपालको जापानसँग १-० हार

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को  सम्मानजनक हार बेहोरेको छ । 

एसियाड खेलकुद : नेपालको जापानसँग १-० हार

जकार्ता सबर्सस्थित विबावा मुक्ति स्टेडियममा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विपक्षीका दर्जनौं प्रयास विफल तुल्याएपछि जापानले गोलअन्तर बढाउन नसकेको हो ।


एसियाड फुटबलमा जापानसँग यसअघि नेपाल ३–० ले पराजित भएको छ, जुन १९९८ को बैंकक एसियाडमा थियो ।


प्रतियोगिताको दाबेदार मानिएको जापानले सातौं मिनेटमा गोल गर्दै उत्कृष्ट सुरुआत पाएको थियो । काओरु मिटोमाले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको गल्तीमा फाइदा उठाउँदै सहजै गोल गरेपछि नेपाल पछाडि परेको थियो । त्यसको पाँच मिनेटपछि किरणले रियो हात्सुसेको प्रहार बचाएर खेलमा नेपालको सम्भावना कायम राखे । पहिलो हाफमा नेपालले केही आक्रमणको मौका पाए पनि जापानी डिफेन्सले खतरा सिर्जना हुन दिएन ।


दोस्रो हाफमा थप आक्रामक देखिएको जापानको प्रयासमा गोलरक्षक किरण बाधक बनिरहे । ६७ औं मिनेटमा जापानले सुनौलो मौका पायो । अयासे उयदाको शक्तिशाली प्रहार किरणले बिफल तुल्याए । उक्त बचाउबाट फर्केको बल कोजी मियोशीले पोस्टको दिशा दिए पनि किरणले लगातार दोस्रो बचाउ गर्दै नेपालको सम्भावना कायम राखेका थिए । रक्षात्मक रणनीतिमै ध्यान दिएको नेपालले जापानको पोस्टमा बिरलै बल लाग्न सक्यो ।


नेपालले ४–३–३ को रणनीतिमा खेल्दै सिनियर खेलाडीद्वय विशाल राई र रोहित चन्दसँगै तेज तामाङलाई मिडफिल्डको जिम्मेवारी सुम्पिएको थियो । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ र सुमन अर्यालले पनि चुस्त प्रदर्शन गरे । आक्रमणमा बिरलै मौका पाए पनि विंगर अभिषेक रिजालले बल होल्ड गर्दै विपक्षी खेलाडीलाई दबाबमा राख्ने प्रयास गरे । सुमन लामा र विमल घर्तीमगरको आक्रामक भूमिका भने जम्न सकेन ।


नेपाली टोलीका गोलरक्षक प्रशिक्षक नवीन महर्जनले स्तरीय जापानी टोलीविरुद्ध किरणले राम्रो प्रदर्शन गरेको बताए । ’किरणले कप्तान र एक अनुभवी गोलरक्षकका रूपमा निकै राम्रो प्रदर्शन गरे । सिनियर खेलाडी भएका कारण जस्तो अपेक्षा थियो त्यस्तै प्रदर्शन गरे । जापानले सिफ्टिङ र ट्रान्जिसनमा निकै राम्रो प्रदर्शन गर्‍यो,’ प्रशिक्षक महर्जनले भने । सुरुआतदेखि योजनाअनुसार खेलेकाले नेपाललाई सहज भएको उनको ठम्याइ थियो ।


नेपाल रहेको समूह ‘डी’ कै अर्को खेलमा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गर्‍यो । नेपालले बिहीबार शीर्षस्थानको भियतनामको सामना गर्नेछ । नेपालले समूहको अन्तिम खेल पाकिस्तानविरुद्ध आइतबार खेल्नेछ । समूहका शीर्ष दुई टोलीसँगै ६ समूहमध्ये तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।


सुटिङमा तीन खेलाडी

आसन्न १८ औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा भाग लिन ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्बाङ गएको छ ।


एसियाड आयोजना हुने इन्डोनेसियाको दुई सहरमध्ये पालेम्बाङ पनि हो । अर्को राजधानी सहर जकार्ता हो ।


अगस्ट १९ र २० मा हुने सुटिङमा नेपालले दुई महिला र एक पुरुष खेलाडीलाई सहभागिता गराउँदै छ । सुस्मिता नेपाल र कल्पना परियार र पुरुषमा सुसे चौधरी छन् । उनीहरूले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । यसपालि मिक्स टिममा पनि नेपालले भाग लिनेछ । मिक्समा १–१ महिला/पुरुष खेलाडी प्रतिस्पर्धी बन्नेछन् ।


परिवर्तित नियमका कारण यसपालिदेखि महिला/पुरुष दुवैले ६०० सय पूर्णांकमा खेल्नुपर्नेछ । यसअघि महिलाले ४०० पूर्णांकमा प्रतिस्पर्धा गर्थे । मिक्समा ८०० पूर्णांकमा प्रतिस्पर्धा हुनेछ । जसमा महिलाले ४० र पुरुषले ४० शट हान्ने छन् ।


एसियाडलाई छनोट खेलाडीमध्ये सुस्मिताले मात्र एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभव बटुलेकी छन् । कल्पना र सुसे दुवैको पहिलो वैदेशिक सहभागिता हो । सुस्मिताले जापानको वाकोसिटीमा १० औं एसियन एयर गन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् ।


सुटिङ खेलाडीहरू स्वदेशमै प्रशिक्षणरत रहे । पूर्वाधार पुनर्निर्माणका कारण प्रशिक्षणमा केही कठिनाइ भोग्नुपरेको प्रशिक्षक प्रदीप खातीले सुनाए । उनले वैदेशिक प्रशिक्षणलाई कुवेतमा समय पाए पनि छोटो भएकाले नगएको बताए । उनले भने, ‘कम्तीमा पनि दुई महिना जति ट्रेनिङ गर्न पाएमात्र हुन्छ, नत्र सुटिङको तयारी राम्रो हुनसक्दैन ।’


एसियाडमा एमक्युएस (न्युनतम छनोट स्कोर) अन्तर्गत ६ सय पूर्णांकमा ५ सय ७० अंक प्राप्त गरे ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ लाई आवेदन दिन पाइने नेपाल सुटिङ संघले जनाएको छ । प्रशिक्षकमा शकुन्तला श्रेष्ठ र व्यवस्थापकमा ध्रुवबहादुर रायमाझी छन् । मुख्य प्रशिक्षक प्रदीप खातीले एसियाडमा जुरीको भूमिका खेल्ने छन् । सन् १९८२ को दिल्ली एसियाडदेखि सुटिङमा नेपालको सहभागिता रहँदै आएको छ । एसियाडमा भगवती केसीको ३८८ स्कोर नै उत्कृष्ट प्रदर्शन हो ।


एथलेटिक्सको बिदाइ

एसियाली खेलकुदमा सहभागी हुने एथलेटिक्स खेलाडीलाई मंगलबारै नेपाल एथलेटिक्स संघले बिदाइ गरेको छ । अगस्ट २५ र २७ मा जकार्तामा हुने एथलेटिक्स प्रतिस्पर्धामा नेपालका ४ पुरुष र २ महिलाले भाग लिने छन् । पुरुषमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र कृष्ण बस्नेत छन् । महिलामा विश्वरुपा बुढा र सरस्वती भट्टराई छन् ।


खेलाडीलाई पोसाक खर्चवापत राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम पनि प्रदान गरिएको थियो । संघका अध्यक्ष राजीवविक्रम शाहले खेलाडीलाई जनही १० हजार नगद र ट्रयाकसुट हस्तान्तरण गरे ।



प्रकाशित : श्रावण २९, २०७५ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?