पारसको चाहना र आवश्यकता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका क्रिकेट कप्तान पारस खड्काले खेलाडी जीवनपछि आफू क्रिकेट व्यवस्थापनमा छिर्ने स्पष्ट पारेका छन् । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजद्वारा मंगलबार आयोजित एक कार्यक्रममा प्रशंसकसँग अन्तरक्रिया गर्दै पारसले विवादले घेरिएको नेपाली क्रिकेटभित्र खेलाडी जीवनपछि छिर्न सकिने बताए ।

पारसको चाहना र आवश्यकता

क्रिकेट व्यवस्थापनमा जाने भन्नुभएको छ । त्यो तपाईको चाहना हो कि त्यहाँ मेरो आवश्यकता छ भनेर जान लाग्नुहुन्छ भन्ने एक प्रशंसकको प्रश्नमा पारसले भने, ‘चाहना पनि हो र आवश्यकता पनि छ ।’


पछिल्लो समय विद्यालय स्तरको क्रिकेटमा क्रियाशील एक्सपर्टले सोही कार्यक्रममा पारसलाई सद्भावना दूत बनाएको थियो । दुवैले आर्थिक पक्ष नखुलाए पनि एक्सपर्टको सद्भावना दूत भएर पारस अझ क्रिकेटमा क्रियाशील हुनेछन् । पारससँग एक्सपर्टले तीनवर्षे सम्झौता गरेको हो । त्यसलाई लम्ब्याउन कुनै कठिनाइ नरहेको एक्सपर्टका सीईओ सञ्जिव शर्माले बताए ।

शक्ति गौचनको स्टार एकेडेमीलाई नगद सहयोग प्रदान गर्दै एक्सपर्टका पदाधिकारी ।


नेपालले दुई साताअघि नेदरल्यान्ड्समा वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेको थियो । एमस्ट्राडममा नेपाललाई दोस्रो खेलमा १ रनको जित दिलाउनेक्रममा पारसले अन्तिम ओभरमा सानदार बलिङ गरेका थिए । पारसले त्यस जितयताको यस्तो पहिलो कार्यक्रम भएकाले यसले नेपाली क्रिकेटमा राम्रो प्रभाव पार्ने अपेक्षा लिए ।


‘नेपालमा खेल्ने वातावरण बनोस् भनेर लागिरहेको छु, अहिले ग्रासरुटका कार्यक्रमहरूमा एक्सपर्टले लगानी गरेर नेपाली क्रिकेटलाई माथि आउने बाटो बनाइदिएको छ,’ पारसले भने, ‘केही नेपालले वान–डे अन्तर्राष्ट्रिय खेल्छ भन्दा धेरै जना हाँस्नुहुन्थ्यो । तर हामीले खेलेर देखाइदियौं । अबको हाम्रो लक्ष्य टेस्ट खेल्ने छ, मेरो उमेरले टेस्ट खेल्न नभ्याउला, त्यसका लागि हातेमालो गर्न जरुरी छ ।’


सीईओ शर्माले खेलकुदले विभिन्न समुदायलाई जोड्नुका साथै दायित्वबोध गराउने भएकाले यसको छुट्टै विशेषता रहेको जनाए । आफूहरूले क्रिकेट संस्कार बसाल्न खोजेको उनले जनाए । सोही अवसरमा भेट्रान स्पिनर शक्ति गौचनले रूपन्देहीमा खोलेको स्टार क्रिकेट एकेडेमीलाई एक्सपर्टले १ लाख ५० हजार रुपैंया सहयोग गरेको थियो ।


एक्सपर्टले नेपालय इन्टरनेसनलमार्फत स्कुल, कलेज र राष्ट्रिय प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । नेपालयका निर्देशक तथा पूर्व खेलाडी सुवास प्रधानले क्रिकेटको वातावरण वनाउन जरुरी रहेको जनाए । एक्सपर्टका नेपाल निर्देशक खेम संग्रौलाले नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बनमा रहेको अवस्थामा पनि आफूहरूले लगानी रहेको स्मरण गरे ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?