एसियाली खेलकुदको नालीबेली : जापान र चीन शक्तिशाली, नेपाल स्वर्णविहीन

ध्रुव तुलाधर

काठमाडौँ — एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २–२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् ।

एसियाली खेलकुदको नालीबेली : जापान र चीन शक्तिशाली, नेपाल स्वर्णविहीन

जापानले १९५८ को टोकियो र १९९४ को हिरोशिमा एसियाड आयोजना गरेका छन् भने चीनले १९९० को बेइजिङ र २०१० ग्वाङझाउमा ।


एसियाडमा जापानको सहभागिता सुरुआतदेखि नै रहे पनि चीन भने १९७४ को तेहरान एसियाडबाट एसियाली खेलकुदमा छिरेको हो ।


अहिलेसम्म यी दुई राष्ट्रमात्र पदकका हिसाबमा अब्बल स्थानमा रहेका छन् । पहिलोदेखि आठौं संस्करण (नयाँदिल्ली १९५१ देखि बैंकक १९७८) सम्म जापानले वर्चस्व जमाएको थियो भने त्यसपछि चीनलाई पछाडि पार्ने कुनै राष्ट्र निस्किएको छैन । जापानको उत्कृष्ट प्रदर्शन भनेको १९६६ को बैंकक एसियाड हो, जहाँ ७८ स्वर्ण, ५३ रजत र ३३ कांस्य पदक जितेको थियो । जापानमात्र एक्लो राष्ट्र हो, जसले हरेक संस्करणमा २० भन्दा बढी स्वर्ण पदक जितेको छ ।


तर चीनले आफूले आयोजना गरेका दुवै संस्करणमा जापानलाई नराम्ररी पछाडि पार्‍यो । सन् २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा चीन १९९ स्वर्णसहित अगाडि थियो । १ हजार ५ सय ७७ पदकलाई प्रतिस्पर्धा हुँदा चीनले थप ११९ रजत र ९८ कांस्य पदक जितेको थियो । जहाँ ४५ राष्ट्रका ९ हजार ७ सय ४ खेलाडीले ४२ वटा खेलमा सहभागिता जनाएका थिए । बेइजिङमा भने चीनले १८३ स्वर्ण जितेको थियो ।

पछिल्लो इन्चोन एसियाडमा चिनियाँ खेलाडीले १९९ स्वर्ण, १०९ रजत र ८५ कांस्य पदक जितेर चीनलाई पदकतालिकाको शीर्षस्थान राखेका थिए । जापान भने तेस्रो स्थानमा थियो । उसलाई दक्षिण कोरियाले पनि उछिन्यो । १ हजार ४ सय ५४ पदकका लागि प्रतिस्पर्धा हुँदा जापानको खातामा ४७ स्वर्ण, ७७ रजत र ७६ कांस्य थियो । पछिल्लोपल्ट ४५ राष्ट्रका ९ हजार ५ सय १ खेलाडीले ३६ खेलमा सहभागिता जनाएका थिए ।


एसियाली खेलकुद फन्को मार्दै सन् १९८२ मा फेरि जन्मस्थल भारतको नयाँ दिल्ली फर्कियो, तब चिनियाँ शक्तिको उदय भएको हो । चीनले दिल्ली फर्किएको नवौं संस्करणमा प्रभावशाली जापानलाई पदक तालिकामा पछाडि पारेको थियो । ६१ स्वर्ण, ५१ रजत र ४१ कांस्य पदक जितेर चीन शीर्षस्थानमा रह्यो । २३ राष्ट्रका ३ हजार ४ सय ११ खेलाडीहरू २३ खेलमा ६ सय १४ पदकलाई भिडेका थिए ।

१८ औं संस्करणसम्म आइपुग्दा चीन १३५५ स्वर्णसहित कुल २९७६ पदकसाथ शीर्षस्थानमा छ । ५५७ स्वर्णसहित २८५८ पदकसहित जापान दोस्रो तथा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६९७ स्वर्णसहित कुल २०४८ पदक जितेको छ । समग्र पदकतालिकाको टपटेनभित्र पर्ने चार राष्ट्र इरान, भारत, काजकिस्तान र थाइल्यान्डले मात्र १ सयभन्दा बढी स्वर्ण पदक जितेका छन् । यसपल्टको आयोजक इन्डोनेसियाले ९१ स्वर्णसहित आठौं स्थानमा छ । सबैभन्दा धेरै चारपल्ट आयोजक बनेको थाइल्यान्डले १२१ स्वर्णसहित कुल ५१२ पदक जितेर सातौं स्थान ओगेको छ । एसियाडको जन्मदाता भारतको खातामा १३९ स्वर्ण छ ।


नेपालको स्वर्णबिहिन सहभागिता


चारवर्षे चक्र पार गर्ने एसियाडले ६७ वर्षे इतिहास छोइसकेको छ । नेपालले पहिलो संस्करण सन् १९५१ दिल्लीदेखि नै सहभागिता जनाएको थियो । १८ औं संस्करणको सेरोफेरोमा आइपुग्दा नेपालले दुई संस्करणमा भाग लिएको छैन । त्यो थियो, १९५४ को मनिला र १९६२ को जकार्ता एसियाड ।


१९९८, बैंकक, थाइल्यान्डमा तेक्वान्दोबाट रजत पदक बिजेता सविता राजभण्डारी र उनले पाएको पदक । यही नै एसियाडमा नेपालले जितेको सबैभन्दा ठूलो पदक हो । फाइल तस्बिर ।

एसियाडको इतिहास जति पुरानो छ, नेपालको सहभागिता पनि उत्तिकै पुरानो हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) सँग आबद्ध देशले भाग लिन पाउने एसियाडमा नेपाल एक सक्रिय टोलीमा पर्दछ । पहिलो संस्करणमा ११ राष्ट्रले भाग लिँदा त्यसमा नेपाल पनि थियो ।


सुरुआती संस्करणमा नेपालले ट्रयाक एन्ड फिल्डमा मात्र सहभागिता जनाउँदै आएको थियो । त्यसपछि ब्याडमिन्टन, टेबलटेनिस, टेनिसमा भाग लिन थाल्यो । १९७४ को बैंकक एसियाड नेपालले एथलेटिक्स, टेबलटेनिस, बक्सिङ, भलिबल, ब्याडमिन्टन, जिम्न्यास्टिक र भारोत्तोलन गरी सात खेलमा सहभागिता जनायो । २१ खेलमा प्रतिस्पर्धा भएको दिल्ली एसियाड १९८२ मा नेपालले ११ खेलमा भाग लियो, जहाँ १ सयभन्दा बढी नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रिए । १९८६ को सोल एसियाडमा भने नेपालले १२ खेलमा ८७ पुरुष र १९ महिला खेलाडी उतारेको थियो । यही संस्करणबाट नै नेपालले पदक जितको श्रीगणेश गरेको हो ।


एसियाडमा नेपालको सहभागिता इतिहास गौरवशाली भए पनि पदक आधार मान्ने हो भने सन्तोष गर्ने ठाउँ छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्ण पदक जित्न सकेका छैनन् । नेपालले उत्कृष्ट प्रदर्शनको रूपमा बैंकक एसियाड, १९९८ रह्यो । जहाँ नेपालले एक रजत र तीन कांस्य पदक जितेको थियो ।


तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजत नै नेपालको गौरवशाली एसियाड पदक बनिरहेको छ । एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । नेपालका लागि एसियाडमा तेक्वान्दो नै सफल बनेको छ ।


पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनु परेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्य पदक जितेको छ । त्यसमा तेक्वान्दोको १ रजत र १३ कांस्य पर्दछ ।


नेपाली खेलाडीले दक्षिण कोरियाको सोल एसियाड, १९८६ देखि पदक जित्न थालेका हुन् । यो संस्करणमा बक्सिङ र तेक्वान्दोका खेलाडीले ४–४ कांस्य पदक जितेका थिए । त्यसयता सबै एसियाडमा नेपालले पदक जितेको छ ।


जकार्ता र पालेम्बाङमा आउँदो शनिबार सुरु हुने १८ औं संस्करणमा भने नेपालले २९ खेलमा १ सय ८५ खेलाडीलाई सहभागिता गराउँदै छ । ४५ देशका करिब १० हजार खेलाडीलाई आतिथ्यता दिँदा उनीहरूले विभिन्न ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।


नेपालको एसियाड पदक इतिहास (१ रजत, २२ कांस्य)

१९८६, सोल, दक्षिण कोरिया

बक्सिङबाट ४ कांस्य – स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ

तेक्वान्दोबाट ४ कांस्य – राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी

१९९०, बेइजिङ, चीन

बक्सिङबाट १ कांस्य – चित्रबहादुर गुरुङ

१९९४, हिरोशिमा, जापान

तेक्वान्दोबाट १ कांस्य – मानबहादुर शाही

कराँतेबाट १ कांस्य – सीता राई

१९९८, बैंकक, थाइल्यान्ड

तेक्वान्दोबाट १ रजत – सविता राजभण्डारी

तेक्वान्दोबाट २ कांस्य – सपना मल्ल र किशोर श्रेष्ठ

कराँतेबाट १ कास्य – समरबहादुर गोले

२००२, बुसान, दक्षिण कोरिया

तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई

२००६, दोहा, कतार

तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य

२०१०, ग्वान्झाउ, चीन

बक्सिङबाट १ कांस्य – दीपक महर्जन

२०१४, इन्चोन, दक्षिण कोरिया

कराँतेबाट १ कांस्य – विमला तामाङ


प्रकाशित : श्रावण ३०, २०७५ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?