कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ औं एसियाली खेलकुद विगतभन्दा उत्कृष्ट हुने दाबी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले १८ औं एसियाली खेलकुदमा नेपाललेअहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।

१८ औं एसियाली खेलकुद विगतभन्दा उत्कृष्ट हुने दाबी

इन्डोनेसियाको जकार्ता र पालेम्बाङ सहरमा एसियाडको शनिबार औपचारिक सुरुआत हुँदै छ । एसियाडका लागि त्यसतर्फ जानुअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव समेत रहेका विष्टले भने, ‘यसपल्ट तयारी लामो र राम्रो भएकाले विगतमा भन्दा उत्कृष्ट नतिजा ल्याउने छौं ।’

उनले थपे, ‘हामी स्वर्ण पदक जित्छौं त भन्दैनौं तर पहिलाको तुलनामा धेरै पदक ल्याउँछौं ।’
जकार्ता एसियाडमा नेपालले २९ खेलमा सहभागिता भाग लिनेछ । त्यसमध्ये १९ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको विष्टले बताए । उनका अनुसार प्रशिक्षणबाट प्राप्त रिपोर्टका आधारमा विगत एसियाडमा भन्दा यसपल्ट राम्रो नतिजा आउने अपेक्षा गरिएको हो ।

नेपालले एसियाड इतिहासमा १ रजत र २२ कांस्य पदकमात्र जितेको छ । पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको थियो । नेपालले भाग लिने २३ खेलमध्ये २३ जकार्ता र ६ खेलको प्रतिस्पर्धा पालेम्बाङमा हुनेछ ।

नेपालका १ सय २९ पुरुष र ५६ महिला खेलाडीले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराँते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकटाक्रो, स्पोर्टस क्लाइम्बिङ र स्केटबोर्डमा प्रतिस्पर्धा गर्नेछन् । पालेम्बाङ भने टेनिस, सुटिङ, ट्रायथलन, सेपाकटाक्रो, स्पोर्टस क्लाइम्बिङ र स्केटबोर्डका खेलाडी पुग्नेछन् ।

नेपालले पाराग्लाइडिङ, पेन्केक सिलात, स्पोर्टस क्लाइम्बिङ, कुराँस, स्केटबोर्डमा पहिलोपल्ट एसियाड खेल्दै छ । यी खेल इन्डोनेसिया एसियाडमा समावेश १० नयाँ खेलमध्येका हुन् । आफ्नो खेलतालिकाअनुसार खेलाडीहरू एसियाडमा सहभागिता जनाउन इन्डोनेसिया जाने छन् ।

सेभ द मिसन विष्टले तेक्वान्दो, कराँते, जुडो, बक्सिङ, पाराग्लाइडिङबाट पदकको बढी आस गरिएको बताउँदै अन्य खेलबाट पनि पदक आउने जानकारी गराए । उनले यस एसियाडका लागि ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको बताए । त्यसमध्ये सरकारबाट ५ करोड उपलब्ध भइसकेको छ । उनले तयारीमा साधन र स्रोतले भ्याएसम्म खेलाडीलाई बढीभन्दा बढी सुविधा प्रदान गरेको बताए ।

‘खेलाडीको प्रशिक्षणका लागि सम्बन्धित संघबाट आएको प्रस्तावलाई सम्बोधन गर्ने प्रयास गरेका छौं,’ विष्टले भने, ‘पदक सम्भावना भएका र नेपालमै हुने १३ औं सागको तयारी मध्यनगर गर्दै एसियाडमा सबैभन्दा बढी खेल सहभागी गराएका छौं ।’

स्वर्ण जिते २५ लाख
विष्टले सरकारले एसियाडमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ लाख, रजतलाई १५ लाख र कांस्य जित्नेलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरे ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?