२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सेमिफाइनलमा भारतसँग पराजित

साफ यू–१५ गल्र्स च्याम्पियनसिप

काठमाडौँ — उपाधि लक्ष्यसहित भुटान पुगेको नेपाली यू–१५ गल्र्स फुटबल टोलीको यात्रा भारतले सेमिफाइनलमा रोकेको छ । भुटानमा जारी साफ यू–१५ गल्र्स च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार भारतले नेपाललाई २–१ ले पराजित गरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

सेमिफाइनलमा भारतसँग पराजित

चाङलिमिथाङ रंगशालामा भारतले ३१ औं मिनेटमा लिन्डा कोमको गोलमा सुरुवाती अग्रता बनाएको थियो । डिफेन्सको गल्तीको फाइदा उठाउँदै कोमले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहार नेपाली गोलरक्षक सावित्री किसानले बचाउने मौका पाइनन् । खेलमा पछाडि परेको ६ मिनेट नबित्दै रजनी ठोकरले नेपालका लागि बराबरी गोल फर्काइन् । भारतकी गोलरक्षक मनीषाले बल फुत्काएपछि रजनीले खाली पोस्टमा गोल गरेकी थिइन् ।

प्रतिस्पर्धात्मक खेलमा भारतले ५८ औं मिनेटमा पुन: अग्रता बनायो । कृतिना देवीले दायाँ भागबाट गरेको क्रस सलोनी रानाले फ्लिक गर्दा नेपाली गोलरक्षक सावित्राको टाउकोमाथि हुँदै गोलमा परिणत भयो । खेलको अन्तिम मिनेटमा भारतीय डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र हयान्ड गरे पनि पेनाल्टी रेफ्रीले नदिएको भन्दै नेपाली अफिसियलले विरोध गरेपछि केहीबेर रोकियो ।

पराजयसँगै नेपालले शनिबार तेस्रो स्थानको खेलमा आयोजक भुटानसँग खेल्नेछ । बुधबारै भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ५–० ले पराजित गर्‍यो । फाइनल खेल पनि शनिबार हुनेछ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?