सन्दीपको उत्कृष्ट प्रदर्शन कायमै

काठमाडौँ — नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विदेशी फ्रेन्चाइज लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शनको क्रमलाई जारी नै राखेका छन् ।

सन्दीपको उत्कृष्ट प्रदर्शन कायमै

उनले बिहीबार बिहान सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अर्को सानदार प्रदर्शन गरेका छन् । तर सेन्ट किट्सले ३ खेलमा दोस्रो पराजय भोगिसकेको छ ।

सन्दीपले किंग्स्टनमा ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । इनिङस्मा सन्दीपले सबैभन्दा बढी १५ डट बल फालेका थिए । प्रतियोगितामा तेस्रो खेल खेल्ने क्रममा सन्दीपले कुनैमा पनि ६ भन्दा बढीको रन रेटमा रन दिएका छैनन् र ५ विकेट लिइसकेका छन् । गुयाना एमेजनसँगको पहिलो खेलमा ४ ओभरमा १२ रन मात्र दिएर २ विकेट लिएका थिए भने त्यसपछि ट्रिनबागो नाइट राइडर्ससँग ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका थिए ।

सन्दीपको सानदार प्रदर्शनका बाबजुद टस हारेपछि ब्याटिङको निम्तो पाएको जमैका तल्लाहवाजले ४ विकेट गुमाई १ सय ७८ रन बनायो । १८ वर्षे सन्दीपको सुरुवात राम्रो थिएन । उनको पहिलो ७ बलमा तल्लाहवाजका ब्याट्सम्यानले १६ रन प्रहार गरेको थिए, त्यसमा २ छक्का म्यान अफ द म्याच केनार लुइसले हिर्काएका थिए ।

पछिल्लो १७ बलमा उनले ५ रन दिएर २ विकेट लिए । सातौं ओभरमा आफ्नो पहिलो बलमा छक्का खाएका सन्दीपले अर्को बलमा लुइसलाई लङ अफ बाउन्ड्री लाइनमा टम कुपरबाट क्याच गराए । दुई बलपश्चात् उनले गुगली बलमा एन्ड्रयु म्याककार्थीलाई शुन्यमा एलबीडब्लू आउट गरे ।

लुइसले तल्लाहवाजबाट २४ बलमा ४९ रन बनाउने क्रममा ४ चौका र ४ छक्का प्रहार गरे । ग्लेन फिलिप्लसले ३८ बलमा १ चौका र ३ छक्का प्रहार गरी ४१ रन बनाए । रोस टेलर ३५ बल खेली २ चौका र ४ छक्का प्रहार गरी ५१ रन बनाई अविजित रहे ।

सेन्ट किट्सले जवाफमा ९ विकेट गुमाई १ सय ३१ रन मात्र बनाउँदै ४७ रनको पराजय भोग्यो । कप्तान क्रिस गेयलले टोलीबाट सर्वाधिक रन जोड्ने क्रममा कुल २५ बलमा २४ रन बनाए । ६ टोली सहभागी प्रतियोगितामा सेन्टकिट्स पाँचौं स्थानमा छ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?