एसियाको शक्ति भन्ने सन्देशसहित १८ औं एसियाली खेलकुद सुरु हुँदै

ध्रुव तुलाधर

जकार्ता — इनर्जी अफ एसिया । एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ ।

एसियाको शक्ति भन्ने सन्देशसहित १८ औं एसियाली खेलकुद सुरु हुँदै

एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ । जकार्तामा उद्घाटन र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछ ।


सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजना गरेको हो । पछिल्लो समय द्रुत गतिमा आर्थिक विकास गरिरहेको इन्डोनेसियाले आफ्नो शक्तिखेलकुदमार्फत विश्वमाझ प्रदर्शन गर्दै छ ।

प्रतियोगिताका लागि झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरेको छ । एसियाडभर ट्राफिक व्यवस्थापनलाई सहज पार्न ७० भन्दा बढी विद्यालयको पठनपाठन बन्द गरिएको छ । यसले गर्दा दैनिक ३० प्रतिशत ट्राफिकजामबाट मुक्ति मिल्ने अपेक्षा छ । सन् २०१६ को तथ्यांकअनुसार इन्डोनेसियाको जकार्ता विश्वकै आठौं ट्राफिक जाम हुने सहरको रुपमा चित्रित भएको थियो ।


जकार्ता विमानस्थलदेखि नै सहरका सडकका दायाबाया रंगीचंगी बनाइएको छ । मुख्य स्थान, चोक, ठूला बसहरुमा एसियाली खेलकुदको प्रचार सामग्री बग्रेल्ती राखिएको छ भने ठूला होडिङ बोर्ड र डिप्से राखेर एसियाडबारे त्यत्तिकै प्रचारप्रसार गरिएको छ ।खेलाडी तथा पदाधिकारीको स्वागतका लागि सयौं स्वयंसेवकपरिचालन भएका छन् ।


जेराला बङ कार्नो (जेबीके)मुख्य स्टेडियममाशनिबार साझ हुने उद्घाटनमाडेनी मलिक र इको सुप्रियान्तोको कोरियोग्राफमा चार हजार डान्सरले प्रस्तुति दिनेछन् भने चर्चित इन्डोनेसियन गायक अनगुनलगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगीतकर्मीले कार्यक्रमलाई विशेष बनाउने छन् । उद्घाटनका लागि १ सय २० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २६ मिटर उचाइमा बनाइने स्टेजमापहाडी आकृतिमाइन्डोनेसियाको कलासंस्कृति,बोटविरुवा र फुलहरुले सजाएको झल्को दिइनेछ । हजारौं टापुको देश भनेर चिनिने इन्डोनेसियाको वास्तविक पहिचान झल्काइने छ ।


इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गर्ने कार्यक्रम छ । मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् । एसियाडका लागि जेबीके रंगशाला पुनर्निर्माणलाई मात्रै झन्डै ४० मिलियन डलर खर्च गरेको जनाइएको छ ।


लोगो र मस्कट

एसियाडको लोगोमा रहेको सन्देश हो ‘इनर्जी अफ एसिया’ । सन् १९६२ मा पनि जकार्ताले एसियाली खेलकुद आयोजना प्रयोग भएको मुख्य रंगशाला जेराला बङ कार्नो (जेबीके) हो । लोगोमा यही रंगशालाको एरियल–भ्यु राखिएको छ । यसमा रंगशालाका मुख्य ८ द्वार संकेत गरिएको छ र बीचमा रहेको छ सूर्य । सूर्य एसियाली खेलकुदको लोगो रहँदै आएको छ । आयोजकको दाबी छ, लोगोले ती पक्षको प्रतिनिधित्व गरिरहेको छ ।


एसियाली, इन्डोनेसिया र यहाँको खेलकुद अनि एसियाली देशबीचको मैत्री सम्बन्ध । त्यस्तै मस्कटमा इन्डोनेसियालाई विविधतालाई प्रकट गरिएको छ । यसपल्ट मस्कटमा तीन जनावर छन्, जुन आफैमा एसियाली खेलकुदका लागि नयाँ इतिहास हो । यसमध्ये इन्डोनेसियाको पूर्वको प्रतिधित्व गर्दै चरा ‘बिन–बिन’, पश्चिमको प्रतिधित्व गर्दै गैंडा ‘इका’ र मध्यक्षेत्रको प्रतिधित्व गर्दै मृग ‘अटुङ’ रहेका छन् । यी ३ जनावरले आफ्नो क्षेत्रको प्रतिधित्व गर्दै त्यहाँको विशेषत लुगा पनि लगाएका छन् ।


स्वर्णको भोक

एसियाडमा नेपाल अहिलेसम्म स्वर्णका लागि तड्पिरहेको छ । ६७ वर्षे एसियाड इतिहासमा सहभागिता गौरवशाली भए पनि पदक आधार मान्ने हो भने सन्तोष गर्ने ठाउँ छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्ण पदक जित्न सकेका छैनन् । बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालको गौरवशाली एसियाड पदक हो । एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । एसियाडमा नेपालका लागि तेक्वान्दो नै सफल बनेको छ ।


पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्य पदक जितेको छ । त्यसमा तेक्वान्दोको १ रजत र १३ कांस्य पर्दछ ।


नेपाली खेलाडीले दक्षिण कोरियाको सोल एसियाड, १९८६ देखि पदक जित्न थालेका हुन् । यो संस्करणमा बक्सिङ र तेक्वान्दोका खेलाडीले ४–४ कांस्य पदक जितेका थिए । त्यसयता सबै एसियाडमा नेपालले पदक जितेको छ ।


के छ यसपालि

इन्डोनेसिया पहिलोपल्ट आयोजक बन्दा नेपालले भाग लिएको थिएन । यसपल्ट एसियाडकै इतिहासमा सबैभन्दा धेरै खेल र खेलाडी लिएर नेपाल एसियाडका लागि जकार्ता आइपुगेको छ ।

नेपालले २९ खेलमा १ सय ८७ खेलाडीलाई उतार्दै छ । त्यसमा ५६ महिला खेलाडी छन् । विगतका संस्करणमा भन्दा यसपालि धेरै खेलका खेलाडीले वैदेशिक प्रशिक्षण पाएका छन् । त्यसले गर्दा पनि पछिल्ला संस्करणको तुलनामा राम्रो नतिजा ल्याउने दाबी गर्छन् नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्ट । उनले भने, विगतमा भन्दा यसपल्ट राम्रो नतिजा ल्याउछौं ।


तर स्वर्ण पदक जित्न भने कठिन हुने उनको निष्कर्ष थियो । राष्ट्यि खेलकुद परिषदका सदस्यसचिव समेत रहेका विष्टले तेक्वान्दो, कराते, जुडो, उसु, बक्सिङसहित नया खेलका रुपमा एसियाडमा प्रवेश पाएको पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताए । उनले आफूलाई खेलाडीहरुले वैदेशिक भ्रमणमा गरेको प्रशिक्षण र नतिजाका आधारमा प्रशिक्षकले दिएको रिपोर्टका आधारमा पदक जित्ने दाबी गरिएको बताए ।


तेक्वान्दो टोली झन्डै साढे दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गरेर सिधै जकार्ता आएको हो भने करातेले जापान, उसुले चीन, बक्सिङ थाईल्यान्ड, स्केटिङले हङकङमा प्रशिक्षण गरेको थियो । पाराग्लाइडिङले पनि पछिल्लो महिना चीन प्राप्त गरेको पदक र नतिजाका आधारमा एसियाडमा पदकको आस गरेको हो ।


सेभ द मिसन विष्टले एसियाडको प्रदर्शन नेपालका लागि १३ औं साग खेलकुदलाई महत्वपूर्ण हुने भएकाले यसपालि त्यही अनुसार खेलाडी सहभागिता गरएको बताए । उनले वैदेशिक प्रशिक्षणसहित एसियाडकै लागि भनेर सरकारसग ८ करोड माग गरिएको तर हाल ५ करोडमात्र निकासा भएको जानकारी गराए । उनका अनुसार ६ करोडभन्दा बढी खर्च भइसकेको र अन्य शीर्षकबाट खर्च गरिएको छ ।


दक्षिण कोरियाको चुनबुक युनिभर्सिटीमा प्रशिक्षण गरेर फर्केका तेक्वान्दो टोलीका प्रशिक्षकमध्ये एक र एसियाडका दोहोरो कांस्य विजेता दीपक विष्टपछिल्लो समय खस्केको तेक्वान्दोका साख जोगाउन सबै खेलाडीले कडा मिहिनेत गरेको बताए । उनले भने, “हामीले दुई महिना कोरियामा कडा परीश्रम गरेका छौं । दुईवटा प्रतिस्पर्धात्मक प्रतियोगितामा पनि भाग लियौं । त्यसमा गरेको प्रदर्शनले गर्दा एसियाडमा राम्रो नतिजा आस गरेका छौं ।’ पछिल्लो दुई एसियाडमा तेक्वान्दो पदकविहीन भएको थियो ।


त्यस्तै करातेलाई पनि इन्चोन एसियाडको साख जोगाउनु छ । करातेले पनि छोटो समय भए पनि जापानमा प्रशिक्षण गरेर आएको छ । पछिल्लो एसियाडमा विमला तामाङले कातामा जितेको कांस्य नै इन्चोनबाट भित्र्याएको नेपालको एकमात्र पदक थियो ।


यसपालि करातेले बन्द प्रशिक्षण पोखरामा गरेको थियो । त्यसपछि १५ दिनका लागि जापानमा विशेष प्रशिक्षणको मौका पाएको थियो ।


साख जोगाउन सक्छ त करातेले ?प्रशिक्षक दीपक श्रेष्ठभन्छन्, “हामीलाई साख जोगाउने चुनौती छ । त्यही भएर पनि हामीले पनि प्राप्त अवसर कठिन प्रशिक्षण गरिरहेका छौं । पदक जितेर साख जोगाउनलाई भने अन्तर्राष्ट्रिय एक्पोजर पुगेको छैन भन्ने ठानेका छौं । हामीले तयारीमात्र गऱ्यौं तर एक्पोजर दिन नपाउदा आफ्नो स्तरबारे थाहा नै पाउँदैनौं । अनि अरुले कस्तो गरिहेको छ भन्ने पनि थाहा हुादैन । दुवैको जाच्नका लागि त अन्तर्राष्ट्यि एक्पोजर नै चाहिन्छ ।’


उद्घाटनको मार्चपासमा नेपालको झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण र १२ औं सागका कांस्य विजेता कमलबहादुरले बेइजिङ ओलम्पिकमा सहभागिता जनाएका थिए । आफ्नो ६९ केजी तौल समूहका कीर्तिमानधारी तथा नेपालका बलिष्ठ व्यक्तिको उपाधि पाएका उनलाई ओलम्पियन र साग स्वर्णधारीको हैसियतमा १८ औं एसियाडको झन्डा बोक्न दिइएको विष्टले जानकारी गराए ।


प्रतियोगिताका लागि कुस्ती, ब्याडमिन्टन र कबड्डीको टोली शुक्रबार बिहान जकार्ता आइपुगेको छ । अन्य खेलका खेलाडी वैदेशिक प्रशिक्षणबाट सिधै जकार्ता आएका हुन् भने केही खेलाडी खेलाडी आफ्नो खेलतालिका अनुसार आइपुग्नै बाकी रहेको जनाइएको छ ।


जापान र चीन हाबी

एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २–२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् । जापानले १९५८ को टोकियो र १९९४ को हिरोशिमा एसियाड आयोजना गर्दा चीनले १९९० को बेइजिङ र २०१० ग्वाङझाउमा एसियाड सम्पन्न गऱ्या । एसियाडमा जापानको सहभागिता सुरुआतदेखि नै रहे पनि चीन भने १९७४ को तेहरान एसियाडबाट एसियाली खेलकुदमा छिरेको हो ।


अहिलेसम्म यी दुई राष्ट्रमात्र पदकका हिसाबमा अब्बल स्थानमा रहेका छन् । पहिलोदेखि आठौं संस्करण (नयाँदिल्ली १९५१ देखि बैंकक १९७८) सम्म जापानले वर्चस्व जमाएको थियो भने त्यसपछि चीनलाई पछाडि पार्ने कुनै राष्ट्र निस्किएको छैन । जापानको उत्कृष्ट प्रदर्शन भनेको १९६६ को बैंकक एसियाड हो, जहाँ ७८ स्वर्ण, ५३ रजत र ३३ कांस्य पदक जितेको थियो । जापानमात्र एक्लो राष्ट्र हो, जसले हरेक संस्करणमा २० भन्दा बढी स्वर्ण पदक जितेको छ ।


तर चीनले आफूले आयोजना गरेका दुवै संस्करणमा जापानलाई नराम्ररी पछाडि पारेको छ । सन् २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा चीन १९९ स्वर्णसहित अगाडि थियो । १ हजार ५ सय ७७ पदकलाई प्रतिस्पर्धा हुँदा चीनले थप ११९ रजत र ९८ कांस्य पदक जितेको थियो । जहाँ ४५ राष्ट्रका ९ हजार ७ सय ४ खेलाडीले ४२ वटा खेलमा सहभागिता जनाएका थिए । बेइजिङमा भने चीनले १८३ स्वर्ण जितेको थियो ।


पछिल्लो इन्चोन एसियाडमा चिनियाँ खेलाडीले १९९ स्वर्ण, १०९ रजत र ८५ कांस्य पदक जितेर चीनलाई पदकतालिकाको शीर्षस्थान राखेका थिए । जापान भने तेस्रो स्थानमा थियो । उसलाई दक्षिण कोरियाले पनि उछिन्यो । १ हजार ४ सय ५४ पदकलाई प्रतिस्पर्धा हुँदा जापानको खातामा ४७ स्वर्ण, ७७ रजत र ७६ कांस्य थियो । पछिल्लोपल्ट ४५ राष्ट्रका ९ हजार ५ सय १ खेलाडीले ३६ खेलमा सहभागिता जनाएका थिए ।


एसियाली खेलकुद फन्को मार्दै सन् १९८२ मा फेरि जन्मस्थल भारतको नयाँ दिल्ली फर्कियो, तब चिनियाँ शक्तिको उदय भएको हो । चीनले दिल्ली फर्किएको नवौं संस्करणमा प्रभावशाली जापानलाई पदकतालिकामा पछाडि पारेको थियो । ६१ स्वर्ण, ५१ रजत र ४१ कांस्य पदक जितेर चीन शीर्षस्थानमा रह्यो । २३ राष्ट्रका ३ हजार ४ सय ११ खेलाडीहरू २३ खेलमा ६ सय १४ पदकलाई भिडेका थिए ।


१८ औं संस्करणसम्म आइपुग्दा चीन १३५५ स्वर्णसहित कुल २९७६ पदकसाथ शीर्षस्थानमा छ । ५५७ स्वर्णसहित २८५८ पदकसहित जापान दोस्रो तथा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६९७ स्वर्णसहित कुल २०४८ पदक जितेको छ । समग्र पदकतालिकाको टपटेनभित्र पर्ने चार राष्ट्र इरान, भारत, काजकिस्तान र थाइल्यान्डले मात्र १ सयभन्दा बढी स्वर्ण पदक जितेका छन् ।


यसपल्टको आयोजक इन्डोनेसियाले ९१ स्वर्णसहित आठौं स्थानमा छ । सबैभन्दा धेरै चारपल्ट आयोजक बनेको थाइल्यान्डले १२१ स्वर्णसहित कुल ५१२ पदक जितेर सातौं स्थान ओगेको छ । एसियाडको जन्मदाता भारतको खातामा १३९ स्वर्ण छ ।


नेपालको एसियाड पदक इतिहास (१ रजत, २२ कांस्य)

१९८६, सोल, दक्षिण कोरिया

बक्सिङबाट ४ कांस्य – स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ

तेक्वान्दोबाट ४ कांस्य – राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी

१९९०, बेइजिङ, चीन

बक्सिङबाट १ कांस्य – चित्रबहादुर गुरुङ

१९९४, हिरोशिमा, जापान

तेक्वान्दोबाट १ कांस्य –मानबहादुर शाही

कराँतेबाट १ कांस्य – सीता राई

१९९८, बैंकक, थाइल्यान्ड

तेक्वान्दोबाट १ रजत – सविता राजभण्डारी

तेक्वान्दोबाट २ कांस्य – सपना मल्ल र किशोर श्रेष्ठ

कराँतेबाट १ कास्य – समरबहादुर गोले

२००२, बुसान, दक्षिण कोरिया

तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई

२००६, दोहा, कतार

तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य

२०१०, ग्वान्झाउ, चीन

बक्सिङबाट १ कांस्य – दीपक महर्जन

२०१४, इन्चोन, दक्षिण कोरिया

कराँतेबाट १ कांस्य – विमला तामाङ

प्रकाशित : भाद्र १, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?