कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रोनाल्डोको आगमनसँगै लिगलाई पुनर्जीवन

इटालियन सिरी “ए”
बीबीसी

इटाली — सिरी ‘ए’ कहिले पनि एक खेलाडीमा भर पर्ने लिग हुँदैन । अझ भनौं यो लिग क्रिस्टियानो रोनाल्डोको कारण मात्र चर्चित हुने छैन । यद्यपि युभेन्ट्समा रोनाल्डोको आगमनले लिग सुरु नहुँदै परेको असरलाई भने नजरअन्दाज गर्न सकिँदैन ।

रोनाल्डोको आगमनसँगै लिगलाई पुनर्जीवन

करिअरमा ५ बेलोन डी’ओर जितिसकेका ३३ वर्षीय रोनाल्डो पछिल्लो दशकका दुईमध्येका एक उत्कृष्ट खेलाडी हुन् । संसारकै सबैभन्दा चर्चित व्यक्तित्वमध्येका एक रोनाल्डोले सामाजिक सञ्जालमा प्रभुत्व जमाएका छन् । यसले गर्दा पनि विश्वकै ध्यान सिरी ‘ए’ तर्फ तानिने आकलन गर्न सकिन्छ ।

‘अन्तत: पूरै विश्वको ध्यान फेरि इटालियन लिगमा परेको छ । ८० र ९० को दशकमा यो लिग सर्वोत्कृष्ट थियो । त्यसपछि बाटो गुमाएको लिगले फेरि उठ्न निकै कसरत गरेको छ’, इटालियन प्रशिक्षक फाबियो कापेलोले भने, ‘रोनाल्डोको आगमनले हामीले शिर उठाउन सकेका छौं । तर यो पर्याप्त छैन । हामीले रोनाल्डोको माध्यमबाट फेरि पनि आफ्नो सम्पूर्ण शक्ति र चलाखी प्रयोग गरेर पुरानो स्थितिमा लिगलाई फर्काउनुपर्छ’, कापेलोले थपे ।

झन्डै १० करोड पाउन्डमा युभेन्ट्स आएका रोनाल्डोले वार्षिक ३ करोड पाउण्ड कमाउनेछन् । यसलाई युभेन्ट्सका पूर्वप्रशिक्षक क्लाउडियो रानेरीले लिगको रोमाञ्च फर्कन बलियो कदम भएको बताए । ‘सन् २००३ मा इटालीका दुवै टोली च्याम्पियन्स लिगको फाइनल खेलेका थिए । हामी अहिले त्यो अवस्थामा आइसकेका छैनौं । तर खराब परिस्थितिबाट इटालियन फुटबल अगाडि बढ्ने क्रममा छ,’ रानेरीले भने ।

के रोनाल्डोको आगमनले पूरै लिगलाई फाइदा पुग्छ ?
पछिल्ला केही साता रोनाल्डोको आगमनले समग्र लिगलाई हो या युभेन्ट्सलाई मात्र फाइदा हुन्छ भन्ने विषयमा धेरै वादविवाद चले । आर्थिक रूपमा हेर्दा युभेन्ट्सका प्रतिद्वन्द्वीले क्लबविरुद्ध हुने खेलको टिकट मूल्य वृद्धि गरेका छन् । यसले युभेन्ट्सका समर्थक नै विरोधमा उत्रनुपर्ने अवस्था पनि सिर्जना भयो ।

तर यहाँ अन्य क्लबहरूलाई दोषी देखाउने ठाउँ छैन । विश्वका उत्कृष्टमध्येका एक फर्रेरा, फ्रोसिनोने र सासुओलो जस्ता क्लबमा आउँदै छन् । साना क्लबहरूले अन्य खेलविरुद्धको खेलमा टिकट बेच्न नसकेको अवस्थामा युभेन्ट्सविरुद्ध भने टिकट बाँकी नै छैन ।

इटालियन लिगले रोनाल्डोको आगमन हुनुपूर्व नै टीभी प्रसारण अधिकार बेच्नुले पनि लिगलाई केही घाटा पुगेको आकलन छ । युभेन्ट्सका अध्यक्ष आन्द्रिए आग्नेलीले रोनाल्डोलाई भित्र्याउन ग्रिसमा हेलिकप्टर ल्यान्ड गर्दै हात मिलाउँदाको क्षणलाई इटालीको प्रतिष्ठित मिडिया टुट्टो स्पोर्ट्सले ‘शताब्दीको उत्कृष्ट सम्झौता’ को उपमा दिएको छ ।

अहिले नै टीभी प्रसारण अधिकारको मूल्य २० देखि ३० प्रतिशत माथि पुगिसकेको छ । यसको नतिजा आर्थिक रूपमा युभेन्ट्सले मनग्गे आम्दानी गर्ने प्रचुर सम्भावना रहेको छ । रोनाल्डोको बजार मूल्यले युभेन्ट्सलाई निकै फाइदा पुग्ने पक्का छ । युभेन्ट्सको खेलको प्रचारले लिगलाई पनि उत्तिकै फाइदा पुग्नेछ ।

युभेन्ट्सलाई कसले रोक्ने ?
युभेन्ट्सले गत सिजन लगातार सातौँ लिग उपाधि जित्ने क्रममा दोस्रो स्थानको नेपोलीलाई ४ अंकले पछाडि पार्‍यो । तेस्रो स्थानमा रहेको रोमाका कप्तान ड्यानिएल डे रोसीले युभेन्ट्सको लगातार सातौं जितपछि लिगको औचित्य केही कम भएको अभिव्यक्ति दिएका थिए ।

त्यसअघिका दुई सिजनमा युभेन्ट्सले नेपोलीबाट गोन्जालो हिगुइन र रोमाका मिरालेम प्यानिच भित्र्याउँदा पनि सोही आरोप लागेको थियो । तर इटालियन लिग गत सिजन निकै प्रतिस्पर्धात्मक रह्यो । युभेन्ट्सलाई सिजनको २ खेल बाँकी हुँदा पनि नेपोलीले उपाधिका लागि पछ्याएको थियो भने शीर्ष ४ र रेलिगेसनमा पर्ने टोलीको छिनोफानो अन्तिम दिन मात्र भएको थियो ।

यसपटक इन्टर मिलान युभेन्ट्सलाई लिग उपाधिका लागि बलियो चुनौती दिने टोलीका रूपमा अगाडि सरेको छ । च्याम्पियन्स लिग खेलेबापत आउने पैसाले क्लब ट्रान्सफर विन्डोमा सक्रिय देखियो । स्टेफान डे भ्रिज, राड्जा नाइनगोलन, सिमे भर्साल्को र किटा बाल्डेको आगमनले पहिलो रोजाइमा सुधार आएको छ । लौटारो मार्टिनेज लिगको अर्का उदाउँदा प्रतिभाका रूपमा अगाडि आएका छन् ।

एसी मिलानको हकमा भने मालिक परिवर्तनले केही आशा दिएको छ । ब्राजिलियन लिओनार्डो निर्देशकका रूपमा क्लबमा आएपछि केही सहज हुने देखिन्छ । विगत केही सिजनयता लयमा रहेका फरवार्ड हिगुइन र युवा डिफेन्डर माटिया काल्डाराको आगमनले टोली मजबुत देखिन्छ । लिओनार्डो बोनुची युभेन्ट्स फर्कनु भने सुखद संकेत रहेन ।

नेपोलीले कार्लो एन्सेलोटीलाई शीर्ष क्लब छाडेर उपाधि पछ्याउने क्लबमा ल्याउन सक्यो । माउरिजियो सार्रीले केही हदसम्म सुधार गरेको यस टोलीमा तीन पटक च्याम्पियन्स लिग जितेका एन्सेलोटीसामु अझ अगाडि लाग्ने चुनौती हुनेछ । गत सिजन च्याम्पियन्स लिग सेमिफाइनल खेलेको रोमाले युवा प्रतिभा आन्टे कोरिच र जस्टिन क्लाइभर्टसँगै हाभिएर पास्तोरे र स्टिभन एनजोन्जीलाई भित्र्याएको छ ।

फिओरेन्टिनामा पनि युवा प्रतिभा र उत्साहमा कुनै कमी छैन । लिगको सबैभन्दा कम उमेरको टोलीमा फ्रान्सेली डोनारुम्माका रूपमा आल्बिन लाफोन्ट छन् । आक्रमणमा फेदेरिको चिएसा, जिओभानी सिमिओनी र मारको प्याचाले सम्भावना देखाएका छन् । पार्माको सिरी ‘ए’ मा पुनरागमनलाई पनि गम्भीर रूपमा हेर्नुपर्छ । टाट पल्टिएर ३ वर्षअघि चौथो श्रेणीमा झरेको क्लब लगातार तीनपटक बढुवा हासिल गर्ने पहिलो क्लब बन्यो । यद्यपि फरवार्ड इम्यानुएल कलाइओ खेल मिलेमतोको आरोपमा मुछिनुले केही असर भने पर्न सक्छ ।

लिगको आफ्नै चुनौती छन् । इटालियन लिगको परिचय नै बनेको विवाद अझै पनि कायम छ । तर त्यसले बहुप्रतीक्षित सिरी ‘ए’ मा अझै रोमाञ्च थपेको छ । सबैको ध्यान लिगतर्फ केन्द्रित भएको छ । इटालियन पत्रिका कोरिएर डेल्लो स्पोर्टले लेखेको नै छ, ‘क्रिस्टियानो रोनाल्डो पछि जीवन सम्भव छ ।’

जेम्स हर्नक्यासल

बीबीसी

प्रकाशित : भाद्र २, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?