कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘डे ब्रुएनको स्थान कसैले लिन सक्दैन’

एएफपी

लन्डन — केभिन डे ब्रुएनलाई स्थानान्तरण गर्न निकै कठिन हुने म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले बताएका छन् । घुँडाको चोटका कारण बेल्जियमका खेलाडी डे ब्रुएन तीन महिना खेल्न नसक्ने भएपछि उनले यस्तो जनाएका हुन् ।

‘डे ब्रुएनको स्थान कसैले लिन सक्दैन’

सिटीले गत सिजनमा एकतर्फी रूपमा वर्चस्व जमाई प्रिमियर लिगको उपाधि जित्दा २७ वर्षे मिडफिल्डर डे ब्रुएनले ८ गोल गर्नुका साथै १६ गोलका लागि पास उपलब्ध गराइदिएका थिए । उनी बुधबार अभ्यासका क्रममा घाइते भएका थिए, तर चोटको शल्यक्रिया भने गर्नुपर्ने छैन ।

उनले चोटका कारण सिटीको उपाधि प्रतिद्वन्द्वीहरू लिभरपुलसँग अक्टोबर ७, नोभेम्बर ११ को म्यानचेस्टर डर्बीसहित च्याम्पियन्स लिगको समूह चरणका धेरै खेल गुमाउनेछन् । ‘केभिन र उनको परिवारका लागि यो स्वीकार गर्न गाह्रो छ, हामीले स्वीकारेका छौं,’ ग्वार्डिओलाले शुक्रबारको पत्रकार सम्मेलनमा भने, ‘मानव शरीरको पनि केही सीमा हुन्छ र यो सब हुन गयो । उनलाई गुमाउनु हामीलाई ठूलो क्षति हो ।’

‘केभिनको स्थान खोज्नु त्यति सजिलो छैन । हामी उनीबिना पनि राम्रो गर्न खोज्नेछौं र उनी आउने बेलासम्म पनि राम्रो स्थितिमा रहने प्रयास गर्नेछौं । हाम्रो उनलाई साथ रहनेछ । उनले सिजन सकिएपछि पनि आरामको मौका पाएका थिएनन्, त्यसैले मेरो सुझावचाहिँ आराम गर्नु र छुट्टीमा बस्नु हो,’ ग्वार्डिओलाले भने, ‘जब उनी तयार हुनेछन्, खुला हृदयले बोलाउनेछौं ।’

सिटीले यसअघि खेलाडीको विस्तृत स्क्यान गरेपछि दायाँ घुँडामा लिगामेन्ट चोटबाट डे ब्रुएन सताइएको जनाएको थियो । बेल्जियमलाई विश्वकपको सेमिफाइनलमा पुर्‍याउने क्रममा पनि डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २०१६ को जनवरीमा एभरटनसँगको लिग खेलको दौरान पनि यस्तै चोट बोकेका थिए, जसका कारण उनी दुई महिना मैदान बाहिर हुनुपरेको थियो ।

आइतबार आर्सनलसँगको प्रिमियर लिग खेलका दौरान उनी एक घण्टाको खेलपछि मैदान छिरेका थिए । सिटीले सो खेल २–० ले जितेको थियो । ग्वार्डिओलाले डे ब्रुयनको स्थान लिने खेलाडी नरहेको बताइरहे पनि सिटीसँग धेरै राम्रा खेलाडी रहेका छन् । अबुधाबीका मालिकको स्वामित्वमा सिटीले खेलाडी खरिदमा ठूलो खर्च गरिरहेकाले ग्वार्डिओलालाई त्यस्तो अप्ठ्यारो नपर्न पनि सक्छ ।

बर्नान्डो सिल्भा, डेविड सिल्भा, इल्काय गुन्डोगनसहित युवा टोलीबाट आएका प्रतिभाशाली फिल फोडेन जस्ता खेलाडी रहेकाले डे ब्रुएनको स्थान लिने खेलाडी सिटीमा देखिन्छन् ।

प्रकाशित : भाद्र २, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?