थापाथलीलाई उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर स्पोटर्स क्लबलाई फाइनलमा २.५– १.५ अंकले पराजित गर्दै थापाथली चेस पार्कले तुल्सीलाल स्मृति चौथो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा थापाथलीका सुशील चौधरीले जनार्दन श्रेष्ठ तथा क्षितिज भण्डारीले बद्रीलाल नेपालीलाई पराजित गरेका थिए ।

फिडेमास्टर विमललाल श्रेष्ठ र आशिष फुयालबीचको खेल बराबरीमा सकिँदा ललितपुरका सजिन महर्जनले राजन पुरीलाई हराए । उपाधिसँगै थापाथलीले एक लाख पचास हजार र उपविजेता ललितपुरले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

Yamaha

गोल्डेनगेट इन्टरनेसनल कलेजले गजुरमुखी चेस क्लब, इलामलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो । गोल्डेनगेटले ५० हजार तथा गजुरमुखीले ३० हजार रुपैयाँ पाए ।

देशभरका २१ क्लब टिमहरूको सहभागिता रहेको प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू राज प्रजापति, मनीष हमाल, मदनकृष्ण कायस्थ, राजेन्द्र वज्राचार्य र सुशील चौधरीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे ।

Esewa Pasal

प्रकाशित : भाद्र २, २०७५ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आधा पुरियो फेवा

जलाधार क्षेत्रबाट गेग्य्रान थुप्रिने क्रम नरोकिए तालको आयु लामो नरहेको विभिन्न अध्ययनले औंल्याइसकेका छन् । ताल पुरिन नदिन फेवा जलाधार क्षेत्र घोषणा गरी संरक्षणको बृहत् योजना अघि ल्याउन ढिला भइसकेको छ ।
दीपक परियार

लेखनाथ — प्रदेशसभामा शपथलगत्तै नेकपाका युवा सांसद राजीव पहारीले घोषणा गरे, ‘साँघुरिएको फेवाताल फराकिलो बनाउन यसमा थुप्रिएको माटो झिकेर अन्तै लैजानुपर्छ । योजनै बनाएर यो काम हुन्छ, म अगुवाइ लिन्छु ।’

फेवातालको पश्चिम पामे क्षेत्रमा पुरिएर बनेको भाग । तस्बिर : भीम घिमिरे । कान्तिपुर

तर, योजना अघि बढाउन न उनको बल पुग्यो न त अरूले सघाए । ‘अतिक्रमणलाई सघाउने फेवाताल बर्सेनि पुरिएरै हो,’ पहारी भन्छन्, ‘माटो थुप्रिन नरोके तालको भविष्य लामो छैन ।’

गण्डकी प्रदेशको राजधानी पोखरा सम्झनेहरूको दिमागमा बन्ने पहिलो चित्र हो( फेवाताल र माछापुच्छ्रे । यिनैलाई देखाएर पोखराको पर्यटन व्यापार चलेको छ । त्यसैले फेवाताल जोगाउनुपर्छ भन्नेमा कसैको फरक मत छैन । पानीमुनिकै जग्गाको लालपुर्जा बोकेकाहरू र अतिक्रमणकारीलाई कारबाही गर्नुपर्ने चर्चा बारम्बार भइरहन्छ । सर्वोच्च अदालतले नै तालको साँधसिमाना प्रस्ट पारी संरक्षण गर्न सरकारलाई आदेश दिइसकेको छ । यस्ता अरू पनि थुप्रै प्रतिवेदन तयार छन् । तर, ती कतै थन्किएका छन् । कार्यान्वयनमा लैजान कोही अग्रसर छैन ।

यसरी थुप्रिन्छ माटो पोखरा महानगरको सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी, चापाकोट, भदौरेतामागी र अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी फेवा जलाधारअन्तर्गत पर्छन् । यी ठाउँको पानीढलो फेवाताल हो । यसको क्षेत्रफल १ सय २३ वर्गकिलोमिटर छ । जलाधारमा ४४.५ प्रतिशत भूभाग कृषिक्षेत्र छ । ४४ प्रतिशत वन र ४.१ प्रतिशत पानीले ओगटेको छ ।

अधिक वर्षा, कमजोर चट्टान, भिरालो जमिनमा खेती, जथाभावी खनिएका ग्रामीण सडकजस्ता प्राकृतिक र मानवीय कारणबाट जलाधार क्षयीकरण भइरहेको छ । ताल खुम्चिई उकासिएका जग्गामा अनधिकृत खेतीपाती बढ्दो छ । उपल्लो तटीय क्षेत्रमा खेतीपाती, वनजंगल, बस्ती, ग्रामीण सडकका कारण तल्लो तटीय क्षेत्रमा ढुंगामाटो थुप्रिने क्रम बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

हर्पन र त्यसका सहायक खोलाले तालमा बालुवा, माटोलगायत गेग्य्रान थुपार्ने गरेका छन् । सेती नहर, बुलौंदी र फिर्के खोलाले सहरी क्षेत्रको फोहोरमैलासमेत तालमा ओसार्छन् ।

वन मन्त्रालयले सन् २०१४ मा पन्चासे संरक्षित क्षेत्रमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम (ईबीए) लागू गरेको थियो । ईबीएले फेवाताल संरक्षण गर्न थिग्रेनी नियन्त्रण प्रविधि तथा थिग्रेनी बाँध डिजाइनको विकास गर्‍यो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयको रेखदेखमा विज्ञ टोलीले विस्तृत अध्ययन गरेको थियो ।

ऊर्जा तथा वातावरण विकास मञ्च प्रालि (फिड) का इन्जिनियर सञ्जय देवकोटा र डा. वसन्तराज अधिकारी नेतृत्वको विज्ञ टोलीले सरकारलाई प्रतिवेदन बुझायो । प्रतिवेदनअनुसार आठ उपजलाधारबाट हर्पन खोला उपत्यकामा जम्मा भएको थिग्रेनीको परिमाण झन्डै २७ लाख ८४ हजार घनमिटर छ । फेवा जलाधारको भूउपयोगबाट वार्षिक १ लाख २९ हजार ४ सय ९० घनमिटर भूक्षय हुन्छ ।

यसको धेरै परिमाण खेतबाट बग्छ । अध्ययनले अनियमित वर्षालाई भूक्षयको अर्को कारण मानेको छ । पामेको हर्पनभन्दा केराबारी र घाँटीछिनामा पाइएका थिग्रेनी मोटा छन् । नदी ताल पुग्ने बेला प्रवाह घट्ने भएकाले मोटा थिग्रेनीजति पछाडि थुप्रिन्छन् र मसिना मात्र बग्छन् । अध्ययनले तालको पिँधमा मसिना थिग्रेनी जम्मा भएको देखाएको छ । खहरे खोलाले ल्याएको मोटो थिग्रेनीको ठूलो परिमाण केराबारी क्षेत्रमै थुप्रिन्छ ।

जिल्ला भूसंरक्षण कार्यालयको अध्ययनअनुसार वार्षिक भूक्षय १ लाख ७५ हजारदेखि २ लाख २५ हजार घनमिटरसम्म छ । फेवामा बगेर आउने माटोको अवस्थामाथि शोध गरेकी मिलन भट्टराई भन्छिन्, ‘फेवाताल जोगाउन वरिपरिको जलाधार क्षेत्रकै संरक्षण जरुरी छ । बर्सेनि माटो, बालुवा र गेग्य्रान बगेर फेवामा पुग्छ ।’

सहरीकरणले समस्या
विसं २०५० मा खनिएको कास्कीकै जेठो ग्रामीण मोटरबाटोमध्ये एक बैदाम(पामे सडक खण्ड हो । सन् १९९० पछि ग्रामीण सडक थुप्रै बनेका छन् । हाल जलाधार क्षेत्रमा ३ सय ५ किमि सडक खनिएको छ । फेवातालछेउको रानीवनकै बीचबाट बाटो लगिएको छ ।

सराङकोटमा ग्रामीण सडक, व्यापारिक भवन र मनोरञ्जन केन्द्र खुलेका छन् । बिनायोजना भिराला पाखामा बनाइएका त्यस्ता संरचना पनि ताल पुरिने कारण बनेका छन् । पक्की सडकजस्ता कंक्रिट संरचनाले सतहमा बग्ने र ओरालो लाग्ने भलको मात्रा बढाउँछन् । भल एकत्रित हुँदा गल्छी बन्न जान्छ । इन्जिनियर देवकोटा अध्ययन नै नगरी ट्रयाक खोल्ने काम भइरहेको बताउँछन् । उनी भन्छन्, ‘बाटो पनि चाहिन्छ तर कहाँ बनाउने, अध्ययन गर्न जरुरी हुन्छ ।’

तालवरिपरिका डाँडा खन्दा निस्कने माटो फेवातालमै पुग्ने भएकाले कम क्षति हुने तरिका अपनाउनुपर्ने उनको धारणा छ । सहायक भूसंरक्षण अधिकृत नृपेश अवस्थी बाटो खन्ने बजेटको ५ प्रतिशत मात्रै वातावरण संरक्षणमा छुटयाए माटो रोक्न सकिने बताउँछन् । उनका अनुसार एकैपटक लामो दूरीभन्दा बाया(इन्जिनियरिङ प्रविधि अपनाएर छोटोछोटो दूरीमा बाटो खन्ने उपाय अपनाउन सकिन्छ ।

आयु कति ?
सन् १९९८ मा जापानी सहयोग नियोग (जाइका) ले गरेको अनुसन्धानअनुसार सन् १९५६ मा झन्डै १० वर्गकिलोमिटर ओगटेको ताल सन् १९७६ मा आइपुग्दा ५.५ वर्गकिमिमा सीमित थियो । सन् १९९८ मा ४.४ वर्गकिमि मात्र थियो । पाँच दशकको अन्तरालमा क्षेत्रफल ५० प्रतिशतभन्दा बढी घटेको छ । हाल ४.२ वर्गकिमि मात्रै छ ।

भूसंरक्षण कार्यालयको अध्ययनले १९ उपजलाधार क्षेत्रबाट वार्षिक १ लाख ४२ हजार ३ सय ५९ टन माटो बगाएको देखाउँछ । सन् १९९० देखि १९९४ सम्मको मापन गर्दा वार्षिक १ लाख ७५ हजार देखि २ लाख २५ हजार घनमिटर गेग्य्रान थुप्रिएको छ । प्रतिहेक्टर १७.३७ घनमिटर प्रतिवर्ष जलाधार क्षेत्रबाट भूक्षय भएको पाइन्छ । पुरिने क्रम नरोकिए ७५ देखि १ सय वर्षबीचमा ताल लोप हुन सक्ने कार्यालयले औंल्याएको छ ।

पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले सन् १९९७ मा फेवा जलाधार क्षेत्रमाथि विद्यावारिधि गरे । उनको विद्यावारिधिको निष्कर्ष छ( यही क्रम चलिरहे २ सय ८७ वर्षमा फेवाताल पुरिन्छ । वि.सं. १९७४ मा बाम्दीमा र २०७२ साउन १३ मा जस्तै पहिरो गइरहे आयु अझै कम हुने उनी बताउँछन् । विश्व वन्यजन्तु कोषको सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमको अध्ययनले १ सय ९० वर्षमा फेवाताल पुुरिने अनुमान गरेको छ । सन् २०१३ को अध्ययनअनुसार वार्षिक सरदर १ लाख ८० हजार घनमिटर गेग्य्रान तालमा पुग्छ । अहिले ४३९ हेक्टरमा फैलिएको फेवातालको सबैभन्दा गहिरो भाग २३ मिटर छ भने सरदर गहिराइ ९.६ मिटर ।

उपाय : सिल्टेसन चेक डयाम
ईबीए अध्ययनले फेवातालमा निम्तिएका चुनौती विश्लेषण गरी थिग्रेनीकरण समस्या हटाउन सुझाएको थियो । मुख्य सुझाव थियो( तालमा माटो पस्न नदिन दुई ठूला सिल्टेसन चेक डयाम र थिग्रेनी जम्मा गर्ने डिसिल्टेसन बेसिन बनाउनुपर्ने । वन तथा वातावरण मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा हर्पनखोलाका लागि घाँटीछिना र खहरे खोलाका लागि केराबारीमा वातावरणमैत्री बाँध बनाउनुपर्ने उल्लेख थियो ।

उक्त बाँधले ठूला थिग्रेनी रोक्ने बताइएको छ । मसिना थिग्रेनी रोक्न पामेमा डिसिल्टेसन बेसिन बनाउन सुझाइएको छ । प्रतिवेदनअनुसार हर्पनखोलाको ३ सय मिटर लम्बाइ भागलाई अझै बढाएर ६० मिटर चौडा र गहिराइ ३ मिटर बढाउनुपर्छ, जसले पानीको सतह कायम राख्न मद्दत मिल्छ । जम्मा हुने थिग्रेनीलाई हरेक वर्ष निकाल्नुपर्छ । प्रस्तावित पोखरीले अनुमानित ५४ हजार २ सय ३४ घनमिटर थिग्रेनी जम्मा गर्नेछ ।

थिग्रेनी नियन्त्रणमा नदी किनार र गल्छी संरक्षण, भीर स्थिरीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । जलाधार क्षेत्रको भूक्षय रोक्न बिरुवारोपण, जैविक बार, बाटलिङ, जैविक चेकडयाम, बाँस रोप्नेजस्ता बायोइन्जिनियरिङ प्रविधि अपनाउन सकिन्छ । ढुंगाको पर्खाल, तारजालीको चेकडयामलगायत साधारण सिभिल इन्जिनियरिङ प्रविधि पनि उपनाउन सकिने प्रतिवेदनले सुझाएको छ ।

जलाधार क्षेत्रका १ सय १७ स्थानमा भीर स्थिरीकरण गर्नुपर्ने औंल्याइएको छ । हर्पन खोलामा पानीको बहाव नाप्ने केन्द्र, कम्प्युटर जडित साधारण पिजोमिटर र मौसम विज्ञान केन्द्र स्थापना गर्नुपर्ने टोलीको सुझाव छ । फिडका इन्जिनियर सापकोटाले उक्त सुझाव वन मन्त्रालयमै थन्किएको बताए । ‘सरकारी निकायबीच समन्वय अभावले प्रतिवेदन त्यसै थन्कियो,’ उनले भने । सहायक भूसंरक्षण अधिकृत अवस्थी ताल संरक्षणमा एकीकृत योजना नहुँदा करोडौंको अध्ययन खेर गइरहेको बताउँछन् । फेवातालमा पाँच दर्जनजति संस्थाले काम गरिरहे पनि ठोस उपलब्धि नभएको उनको भनाइ छ । ‘सबै लगानी एकद्वार नीतिबाट हुनुपर्छ,’ उनी भन्छन्, ‘यसो भए मात्र देखिने गरी काम हुन्छ ।’

महानगरले पामेमा डिसिल्टेसन चेक डयामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेकै एक वर्ष बितिसक्यो । निर्माण कार्य भने हालसम्म सुरु हुन सकेको छैन । महानगरले गत वर्ष ईशानेश्वर कन्सल्टेन्सीलाई डीपीआर बनाउन जिम्मा दिएको थियो । कन्सल्टेन्सीले क्षमताअनुसार २० देखि २२ करोड रुपैयाँसम्ममा चेकडयाम बनाउन सकिने गरी डिजाइन तयार पारेको थियो ।

महानगरका इन्जिनियर एवं फेवाताल संरक्षण आयोजना प्रमुख महेन्द्र गोदार खानेपानी तथा सरसफाइ मन्त्रालयसँग सहकार्यमा यसै वर्ष डयाम निर्माण सुरु गर्ने बताउँछन् । ‘मन्त्रालयको सहलगानी कोषबाट ८५ प्रतिशत र महानगरले १५ प्रतिशत बेहोर्ने गरी प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘डयाम बनेपछि ताललाई बचाउन सकिन्छ ।’

उता वन तथा वातावरण मन्त्रालयले आव ०७४/७५ मा फेवाताल जलाधार क्षेत्र संरक्षण विशेष कार्यक्रम ल्यायो । भूसंरक्षण कार्यालयमार्फत डेढ करोड रुपैयाँ विनियोजन गर्‍यो । उक्त रकमबाट अँधेरीखोलामा तीन ससाना सिल्टेसन चेक डयाम बनाइएका छन्, मिलनढुंगा, जन्मजय ढुंगा र अटलेको थुम्कामा । पैरे खोलामा पनि तीन चेकडयाम बनाइएका छन् । चेक डयामले ठूल्ठूला ढुंगा, गेग्य्रान रोक्छ ।

खोलाको बहाव पनि कम गर्छ । खहरेमा बनाइएको सब सर्फेस ब्रेकरले खोला गहिरिन दिँदैन । कार्कीको तहरा, ठूलाखेतमा मेसनरी साइड डयाम बनेका छन् । कार्यालयका सबइन्जिनियर शिवशंकर शाह अँधेरी खोलामा मात्रै १२ सिल्टेसन डयाम बनाउनुपर्ने आवश्यकता देख्छन् ।

प्रकाशित : भाद्र २, २०७५ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT