१८ औं एसियाली खेलकुद : तेक्वान्दोबाट आस

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — एसियाडमा गौरवशाली इतिहास बोकेको तेक्वान्दोबाट आइतबार हुने खेलबाट नेपालले पदक आस गरेको छ । जकार्ता जिरोला बुङ कार्नो स्टेडियमस्थित जीसीसी हलमा १८ औं एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडीले पुम्सेमा प्रतिस्पर्धा गर्दै छन् ।

१८ औं एसियाली खेलकुद : तेक्वान्दोबाट आस

सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोले रजतपदक जितेर इतिहास बनाएको हो । एसियाडमा अहिलेसम्म नेपालले १ रजत र २२ कांस्यपदक जितेको छ । त्यसमा एक रजत र १३ कांस्य तेक्वान्दोको हो ।

तेक्वान्दोका हस्ती खेलाडीद्वय संगीना वैद्य र दीपक विष्टको निगरानीमा दक्षिण कोरियामा तेक्वान्दो टोलीले दुई महिना वैदेशिक प्रशिक्षण गरेर आएको हो ।

आइतबार नेपालले पुम्सेमा प्रतिस्पर्धा गर्नेछ । एकलतर्फ महिलामा पार्वती गुरुङ र पुरुषमा कमल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । दुवैको प्रतिद्वन्दी चाइनिज ताइपेईका खेलाडी परेका छन् । पार्वतीले वेन सुन र कमलले चिङसँँग खेल्नेछन् । त्यस्तै महिला टिम पुम्सेमा पार्वतीसहित नीता गुरुङ र सिना मादेनले प्रतिस्पर्धा गर्नेछन् । टिमतर्फ नेपालले उज्वेकिस्तानसँग अन्तिम १६ मा खेल्नेछ । नेपाली खेलाडीले उक्त खेल जिते क्वाटरफाइनलमा चाइनिज ताइपेईसँग भेट हुनेछ ।

एसियाडमा दोहोरो कांस्यधारी तथा वर्तमान प्रशिक्षक दीपक विष्टले पदकका लागि आफ्ना खेलाडीले सक्दो मिहिनेत गरिरहेको बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको पदक नै हो । मिहिनेत गरेका छौं । खेल हो केही भन्न सकिन्न । अरूको तयारी पनि हेर्नुपर्छ ।’ सन् २०१० को ग्वाङझाउ र २०१४ को इन्चोन एसियाडमा नेपाली तेक्वान्दो पदकविहीन भएको थियो ।


इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले मोटरसाइकलमा चढेर गई उद्घाटन गरेर पहिलो दिनमै रौनकता थपेका थिए । तस्बिर: रोयटर्स

सुटिङ
नेपालले सुटिङको मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्दै छ । सुटिङको खेल भने पालेम्बाङमा हुनेछ । दुई महिलासहित तीन खेलाडी एसियाड प्रतिस्पर्धामा छन् ।कल्पना परियार, सुस्मिता नेपाल र सुसे चौधरीले भाग लिएका छन् । १० मिटर एयर राइफल मिक्स टिममा सुस्मिता र सुसेले भाग लिनेछन् । मिक्स टिममा पनि नेपालले पहिलोपल्ट भाग लिन लागेको हो । परिवर्तित नियमका कारण यसपालिदेखि महिला/पुरुष दुवैले ६ सय पूर्णांकमा खेल्नुपर्नेछ । यसअघि महिलाले ४ सय पूर्णांकमा प्रतिस्पर्धा गर्थे । मिक्समा ८ सय पूर्णांकमा प्रतिस्पर्धा हुनेछ । जसमा महिलाले ४० र पुरुषले ४० शट हान्नेछन् ।


एसियाडलाई छनोट खेलाडीमध्ये सुस्मिताले मात्र एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेकी छन् । कल्पना र सुसे दुवैको पहिलो वैदेशिक सहभागिता हो । एसियाडमा एमक्युएस (न्यूनतम छनोट स्कोर) अन्तर्गत ६ सय पूर्णांकमा ५ सय ७० अंक प्राप्त गरे ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ लाई आवेदन दिन पाइनेछ ।

ब्याडमिन्टन
पुरुष टिम इभेन्टमा आइतबार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम १६ राउन्डमा नेपालले पाकिस्तानसग खेल्नेछ । टिम इभेन्टमा ५ खेल हुनेछन् । नेपालका रत्नजित तामाङ, दीपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । रत्नजितले मोहम्मद इरफान सइद भाटी, दीपेशले अजिम सरवार, नवीनले रिजवान अजमसँग सिंगलतर्फ खेल्दा दीपेश र रत्नजितको जोडीले रिजवान र कसिफ अली सुलेरीको जोडीसँग खेल्नेछ । विकास र नवीनको जोडीको भेट अजिम र इरफान सइदको जोडीसँग हुनेछ ।महिला टिम इभेन्टको अन्तिम १६ मा नेपालले आइतबारै माल्दिभ्ससँग खेल्नेछ । नेपालबाट नङसल तामाङ, अमिता गिरी, जेसिका गुरुङ र रसिला महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

फेन्सिङ
नेपालले फेन्सिङतर्फ महिला व्यक्तिगत साब्रेमा प्रतिस्पर्धा गर्नेछ । नेपालकी कमला श्रेष्ठ र रविना थापाले खेल्नेछिन् । यस इभेन्टमा २२ खेलाडी प्रतिस्पर्धी छन् । त्यसमा कमलाले १९ र रविनाले २१ औं वरीयता पाएका छन् ।कबड्डी लामो समयपछि एसियाडमा फर्केको नेपाली कबड्डी टोलीले आइतबार पहिलो खेलमा आयोजकको सामना गर्नेछ । नेपालले सन् १९९८ को एसियाडपछि पहिलोपल्ट कबड्डीमा खेल्न लागेको हो ।

कुस्ती
कुस्तीतर्फ यस एसियाडमा सहभागी तीन जना खेलाडीले पहिलो चरणमा आज प्रतिस्पर्धा गर्नेछन् । भागवती साहले तेली फ्रिस्टाइल ५७ केजी, सरोज यादवले फ्रिस्टाइल ६५ केजी, सुरेश चुनाराले फ्रिस्टाइल ७४ केजीमा सहभागिता जनाउनेछन् । उनीहरू धनगढीको महेन्द्रनगरमा बन्द प्रशिक्षण र भारत उत्तरप्रदेशस्थित नन्दानी नगर स्पोर्ट्स कम्प्लेक्समा वैदेशिक प्रशिक्षण लिएर एसियाड खेल्न आएका हुन् ।

फुटबल
दुई खेलमा पराजय भोगिसकेको नेपालले आइतबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । जापानसँग १–० र भियतनामसँग २–० ले पराजित नेपालले पाकिस्तानसँग जितको आस गरेको छ । यस खेलमा जितेमा नेपालले एसियाडमा इतिहास रच्नेछ ।एसियाडमा नेपालले अहिलेसम्म एक गोलमात्र गरेको इतिहास छ । १९८२ मा नेपालले पहिलो खेल खेल्नेक्रममा कुवेतविरुद्ध वाइवी घलेले गोल गरेका थिए । त्यसयता नेपालले कुनै खेल जित्नु त के अर्को गोल थप्न पनि सकेको छैन । नेपालले पाकिस्तानलाई पराजित गरेमा उत्कृष्ट तेस्रो टोलीका रूपमा दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ, त्यसमा ४ समूहको उत्कृष्ट तेस्रो हुने टोली पनि दोस्रो चरण पुग्नेछ ।

व्यवस्थापनमा कमजोरी
एसियाली खेलकुदको उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा बोक्ने जिम्मेवारी पाएका भारोत्तोलक कमलबहादुर अधिकारीले व्यवस्थापनको कमजोरीका कारण झन्डै उक्त अवसर गुमाउन पुगेका छन् । नियमअनुसार झन्डा बोक्ने प्रतिनिधि कम्तीमा एक दिन अगाडि आयोजना स्थल पुग्नुपर्नेमा कमल शनिबार दिउँसोमात्र इन्डोनेसिया पुगेका थिए । नेपाल ओलम्पिक कमिटीले उनले नपाएको अवस्थामा ओलम्पियन निशा रावललाई झन्डा बोक्ने जिम्मेवारी सुम्पने तयारीसमेत गरिसकेको थियो । तर अन्तिम समयमा भए पनि कमल आफैंले नेपालको झन्डा बोकेका थिए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?