सागर र विनोदको पुनरागमन

काठमाडौँ — सागर पुन र विनोद भण्डारीलाई समेट्दै नेपालले एसीसी एसिया कप छनोटका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

सागर र विनोदको पुनरागमन

एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म प्रतियोगिता हुँदैछ ।

नेपालले एसिया कप छनोटमा आयोजक मलेसिया, यूएई, ओमान, सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिनमा एकले अर्कोसँग प्रतिस्पर्धा गरेपछि प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् । उपाधि जित्ने टोलीले सेप्टेम्बर १५ देखि २८ सम्म यूएईमा हुने एसिया कपमा स्थान पाउनेछ ।

नेपालले यसै महिनाको सुरुआतमा नेदरल्यान्ड्ससँग खेल्दै वान–डे अन्तर्राष्ट्रिय खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गर्दै सागर र पुनलाई टोलीमा ल्याएको हो । नेदरल्यान्ड्समा खेलेको टोलीका स्पिनर शक्ति गौचनले विदेशी भूमिमा आफ्नो खेलजीवन टुंगाइसकेका छन् । त्यस्तै नेपालले पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्दा हातको औंलामा चोट बोकेका शरद भेषावकर मलेसिया भ्रमणका लागि उपलब्ध छैनन् ।

नोभेम्बरमा अबुधावीमा भएको यूएईसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलयता सागर र विनोद दुवै राष्ट्रिय टोली बाहिर थिए । मलेसियामा मलेसिया प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले पनि सागरलाई पुनरागमन गर्न सजिलो भएको हो ।

आफ्नो टोली क्वालालम्पुरलाई विजेता नै बनाउनेक्रममा सागरले दुई शतक र एक अर्धशतसहित १० खेलको ९ इनिङ्समा ४ सय ५२ रन बनाएका थिए । उनको औसत ५० भन्दा माथि थियो । उनले ९ विकेट पनि लिएका थिए ।‘घरेलु क्रिकेटको पछिल्लो ५० ओभरको प्रतियोगिता प्रधानमन्त्री कपमा पनि सागरले राम्रो खेलेका थिए, मलेसियामा पनि उनले राम्रो नै खेले । सागरलाई हामीले अलराउन्डरका रूपमा हेरेका छौं र उनले मध्यपंक्तिमा खेल्नेछन् । विनोदलाई ब्याटिङमा फिनिसिङको जिम्मा दिएका छौं,’ नेपालका प्रशिक्षक जगत टमाटाले भने, ‘शरद र शक्ति पनि नभएकाले टिम सन्तुलन बनाउन मध्यपंक्तिलाई हेरेर टिम छनोट गरेका छौं ।’

टमाटा र कप्तान पारस खड्काको नेतृत्वले खेलाडी छनोट गरेको हो । छनोट खेलाडीमा पारस, सागर र विनोदबाहेक, ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिल शाह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् । वैकल्पिकमा सुनील धमला, किशोर महतो, प्रदीप ऐरी र सुशन भारी छन् ।

नेपाली टोली सोमबार अभ्यास खेलका लागि श्रीलंका जानेछ । नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेल्नेछ । नेपालले आर्मी क्रिकेट क्लबसँग पानागोडामा अगस्ट २२ मा, ब्लुमफिल्डसँग अगस्ट २४ मा ब्लुमफिल्डमा र कोल्ट्ससँग कोल्टमा अगस्ट २६ मा अभ्यास खेले खेल्नेछ । नेपाली क्रिकेट टोली श्रीलंकाबाट अगस्ट २७ मा मलेसिया लाग्नेछ ।

नेपालले ओमानसँग अगस्ट २९ मा वायुमास ओभलमा खेलेर एसिया कप छनोटको यात्रा सुरु गरेपछि ३० मा यूएई, सेप्टेम्बर १ मा मलेसिया, २ मा सिंगापुर, ४ मा हङकङसँग खेल्नेछ ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?