२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

१८ औं एसियाली खेलकुद : नेपाल पुरुष ब्याडमिन्टनको क्वाटरफाइनलमा

चीनलाई पहिलो स्वर्ण, निमाको प्रदर्शनमा सुधार
ध्रुव तुलाधर

जकार्ता — १८ औं एसियाली खेलकुदको ब्याडमिन्टन पुरुष टिम इभेन्टमा आइतबार विजयी हुँदै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाली खेलाडीले पाकिस्तानलाई ३–१ गेमले हराएका छन् ।

१८ औं एसियाली खेलकुद : नेपाल पुरुष ब्याडमिन्टनको क्वाटरफाइनलमा

टिममा नेपालका रत्नजित तामाङ, दीपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले टिम इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

रत्नजितले मोहम्मद इरफान सइद भाटी २–०, दीपेशले अजिम सरवारलाई २–०, नवीनले रिजवान अजमलाई २–१ को सेटमा हराए भने सिंगलतर्फ खेल्दा दिपेश र रत्जजितको जोडी रिजवान र कसिफ अली सुलेरीको जोडीसँग २–१ को सेटमा हारेको थियो ।


महिला टिम इभेन्टको अन्तिम १६ मा नेपाल आइतबारै माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको थियो । नेपालबाट नङसल तामाङ, अमिता गिरी, जेसिका गुरुङ र रसिला महर्जनले प्रतिस्पर्धा गरेका थिए ।


निमाको प्रदर्शनमा सुधार

१८ औं एसियाली खेलकुदको पहिलो स्वर्ण पदक चीनका उसु खेलाडी पेइयुयान सनले जितेका छन् । आइतबार पुरुष छान छ्वानबाट स्वर्ण जितेका हुन् । सनले ९ दशमलब ७५ अंक बटुल्दै इन्डोनेसिया एसियाडको पहिलो स्वर्ण आफ्नो देशमा भित्र्याएका छन् ।


आयोजक राष्ट्रका इडगर जाभियर मार्भेलोले ९ दशमलब ७२ अंक र चाइनिज ताइपेईका सेमिन तिसाईले ९ दशमलब ७० अंक बटुल्दै रजत र कांस्य पदक जितेका थिए ।


यसै इभेन्टमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी विजय सिन्जली १४ औं स्थानमा रहे । १७ खेलाडीले प्रतिस्पर्धा गर्दा विजयले ८ दशमलब २५ अंक बटुलेर उक्त स्थान हासिल गरे । उनीभन्दा पछाडि अफगानिस्तान, यमन र पाकिस्तानका खेलाडी रहे ।


१२ औं साग खेलकुदमा रजत जित्दा विजयले ८ दशमलब ८० अंंकको प्रदर्शन गरेका थिए । त्यतिखेर श्रीलंकन खेलाडीले ८ दशमलब ८६ अंक ल्याएर स्वर्ण जितेको थियो ।


सागकी स्वर्ण विजेता निमा घर्तीमगर ११ औं स्थानमा रहिन् । महिला नान छ्वानमा उनी पुछारबाट दोस्रोमा रहेकी छन् । उनले ८.७० अंक बटुलेकी थिइन् । उनको अलराउन्डको प्रतिस्पर्धा बाँकी नै छ । उक्त इभेन्ट सोमबार हुनेछ । दुवैको प्रदर्शनपछि मात्र उक्त इभेन्टको नतिजा आउनेछ ।


१२ औं साग खेलकुदमा उनले कुल १६ दशमलब ९१ अंकबाट स्वर्ण जितेकी थिइन् । उनले नानछ्वानमा ८.४३ र अलराउन्डमा ८.४६ अंक ल्याएकी थिइन् । भारतमा सम्पन्न सागमा नेपालका लागि निमाले नै पहिलो स्वर्ण जितेकी हुन् । उनले नान्छ्वानमा सागको प्रदर्शन सुधार गरेकी छन् । सागमा ८.४३ अंक बटुल्दा यहाँ ८.७० अंक ल्याएकी हुन् ।


उनको इभेन्टमा चीनकी लु ताङ ९.७५ अंक बटुलेर अगाडि छिन् ।


प्रकाशित : भाद्र ३, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?