पाकिस्तानसँग पनि पराजित

जकार्ता — एसियाड फुटबलमा जितविहीन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली समूह ‘डी’ को अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २–१ ले पराजित भएको छ ।

पाकिस्तानसँग पनि पराजित

सन् १९८२ मा पहिलो सहभागिता जनाएदेखि नै एसियाली खेलकुदको फुटबलमा जित दर्ता गर्न नसकेको नेपालले इन्डोनेसियाको बेकासीस्थित प्याट्रियट चन्द्रभाघा रंगशालामा आत्मघाती गोलको मदतले अग्रता लिएको थियो ।

खेलको १२ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र गरेको हेडिङ बल पाकिस्तानी डिफेन्डर सहबाज युनासलाई लाग्दै गोलमा परिणत भएको थियो । नेपालले एसियाली खेलकुदअन्तर्गत कुवेतविरुद्ध सन् १९८२ मा पहिलो खेलमा गरेको गोलपछि कुनै गोल गर्न सकेको थिएन । यामबहादुर (वाईबी) घलेको गोलपछि नेपाल आइतबार पहिलोपटक गोलविहीन रहनुपरेन । पहिलो हाफमा गोल गरेपछि पनि पाकिस्तानलाई दबाब दिएको नेपालले थप गोल गर्न भने सकेन ।

दोस्रो हाफमा पाकिस्तानले राम्रो सुरुआत गर्‍यो । ५५ औं मिनेटमा ३० यार्ड टाढाबाट मन्सुरले प्रहार गरेको फ्रिकिकमा वैकल्पिक खेलाडी बिलाल मुहम्मदले हेडरमार्फत गोल गरे । मध्यान्तरपछि मैदान छिरेका बिलाल नेपाली डिफेन्सको टाउको दुखाइ बनेका थिए । कप्तान सद्दाम हुसेनले ७२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए । त्यसअघि उनले पेनाल्टी क्षेत्रभित्र गरेको हेडर प्रहार रोहितको हातमा लाग्दा रेफ्रीले पाकिस्तानलाई पेनाल्टी दिएका थिए ।

समूहको अर्को खेलमा भियतनाम जापानलाई १–० ले पराजित गर्दै समूहको शीर्षस्थानमा रह्यो । जापान दोस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्‍यो । समूहको तेस्रो स्थानमा रहेको पाकिस्तान पनि उत्कृष्ट ४ अन्तर्गत तेस्रो स्थानको टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?