१८ औं एसियाली खेलकुद : टिसा र निमाको प्रदर्शन सुधार

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — १८ औं एसियाली खेलकुदमा चीनले दोस्रो दिन सोमबार पनि आफ्नो वर्चस्व कायमै राखिरहेको छ । नेपाली खेलाडी भने पदक नजिक पुुग्न सकिराखेका छैनन् । चीन १३ स्वर्णपदक जितेर पदक तालिकामा अगाडि छ । जापान चार स्वर्णसहित दोस्रोमा छ ।

१८ औं एसियाली खेलकुद : टिसा र निमाको प्रदर्शन सुधार

आयोजक इन्डोनेसिया र दक्षिण कोरियाले ४–४ स्वर्ण जितेका छन् । आयोजकको सुुरुआती तीन स्वर्ण महिला खेलाडीले जितेका हुन् ।

नेपालका लागि सोमबार पौडीकी टिसा शाक्य, उसुुकी निमा घर्तीमगरले आफ्नो प्रदर्शनमा निकै सुधार गरेका छन् भने टेनिसमा राणा दिदीबहिनी मायांका र माहिकाले एउटा जित नतिजा निकालेका छन् । तेक्वान्दोका सागर गुुभाजुले एकमा जिते पनि अगाडिको यात्रा बढाउन सकेनन् ।

जेबीके स्टेडियमस्थित एक्वाटिक सेन्टमार सोमबार पौडीवाज टिसाले महिला १०० मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी हुुन् । बिहानी प्रतिस्पर्धामा टिसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरिन् ।

हिट ४ मा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहिन् । उनको यसअघि व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको थियो । टिसाले आफ्नो लक्ष्य व्यक्तिगत प्रदर्शन सुधार्नु रहेकामा त्यसलाई पूरा गर्दा खुसी लागेको बताइन् । उनले भनिन्, ‘एसियाडमा मेरो लक्ष्य व्यक्तिगत प्रदर्शनमा राम्रो गर्नु थियो । त्यसलाई सुुधारेको छु । खुसी लागेको छ ।’

यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने चर्चित खेलाडी गौरिका सिंहको नाममा छ । गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । सोमबार गौरिकाले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पार गरिन् ।

नेपाली स्विमरद्वय गौरिका सिंह र टिसा शाक्य खेलपछि ।

१२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्यपदक जितेकी गौरिकाले हिट २ मा प्रतिस्पर्धा गरेकी थिइन् । जहाँ उनले मंगोलिया र माल्दिभ्सका खेलाडीलाई पछाडि पार्दै छैटौं स्थान ओगटिन् । २७ खेलाडी प्रतिस्पर्धा गर्दा गौरिका १८ औं र टिसा शाक्य २२ औं स्थानमा रहे ।

रियो ओलम्पिकमा कान्छी खेलाडी बनेर विश्वको ध्यान केन्द्रित गरेकी गौरिकाले १२ औं सागमा २०० मिटर मिड्लेमा रजत, १०० मिटर ब्याकस्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक र ४०० मिटर फ्रिस्टाइलमा कांस्यपदक जितेकी थिइन् ।

किशोरी कीर्तिमानी पौडीवाज गौरिकाले जुनसुकै अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआतमा गाह्रो हुने बताइन् । उनी आफ्नो प्रदर्शनबाट भने सन्तुष्टि थिइन् । पहिलो एसियाड खेलिरहेकी गौरिकाले भनिन्, ‘ठूलो प्रतियोगिताको सुरुआत जहिल्यै कठिन हुन्छ । तर आजको प्रदर्शनबाट खुसी छु । बाँकी इभेन्टमा राम्रो गर्ने अपेक्षा छ ।’ उनले ५० र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न बाँकी छ । २०० मिटर फ्रिस्टाइल आफ्नो मनपर्ने विधा रहेकाले त्यसमा राम्रो गर्ने गौरिकाको लक्ष्य छ । यसको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ । जुन २ मिनेट १४.५९ सेकेन्डमा दूूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

सुटिङ
पालेम्बाङमा जारी सुटिङमा सोमबार प्रतिस्पर्धा गरेका तीनै खेलाडीले ओलम्पिक छनोटका लागि आवश्यक अंक पूरा गर्ने गरी प्रदर्शन गरेका छन् । १० मिटर एयर राइफलको महिलातर्फ प्रतिस्पर्धा गरेका कल्पना परियारले ५९४.४ र सुम्मिता नेपालले र ५८७.१ स्कोर गरेका थिए । ६०० पूर्णांकका लागि ४८ खेलाडीले प्रतिस्पर्धा गर्दा उनीहरू ४५ र ४६ औं स्थानमा रहे । एसियाडमा एमक्युएस (न्यूनतम छनोट स्कोर) ५ सय ७० स्कोर पूरा गरेकाले उनले ओलम्पिक सहभागिताका लागि वाइल्ड कार्डलाई आवेदन दिन पाउनेछन् । सुटिङका प्रशिक्षक प्रदीप खातीका अनुसार नेपालका लागि सबै खेलाडीको प्रदर्शन उत्साहजनक रहेको छ ।

पुरुष १० मिटर एयर राइफलमा सुसे चौधरीले ५ सय ८१ स्कोर गरेका छन् । ६०० पूर्णांकको इभेन्टमा उनले पहिलो सिरिजमा ९८.४, दोस्रोमा ९४.७, तेस्रोमा ९६.८, चौथोमा ९६.१, पाँचौंमा ९८.९ र छैटौंमा ९९.८ स्कोर गरेका थिए । सुुसेको यो पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हो । ४४ खेलाडीले प्रतिस्पर्धा गर्दा सुसे ४२ औं स्थानमा रहे । उनीभन्दा पछाडि माल्दिभ्स र इस्ट टिमोरका खेलाडी थिए । सन् १९८२ को दिल्ली एसियाडदेखि निरन्तर सहभागिता जनाउँदै आएको सुटिङले यसपालि तीन खेलाडीलाई सहभागी गराएको छ ।

उसु
सागकी स्वर्ण विजेता निमा घर्तीमगर एसियाडको पदक छेउछाउमा पुग्न नसके पनि आफ्नो प्रदर्शनमा राम्रो गरेकी छन् । महिला थाउलोको नान छ्वान र नान तावमा सहभागिता जनाएकी उनले सागमा स्वर्ण जितेको प्रदर्शन उछिनेकी छन् । निमाले सोमबार नान ताव (खाली हात प्रदर्शन) मा ९.१७ स्कोर गरिन् । जबकि १२ औं सागमा उनले यसमा ८.४६ स्कोर गरेकी थिइन् । अघिल्लो दिन नान छ्वान (तरबारसहित प्रदर्शन) मा उनले ८.७० अंक बटुलेकी थिइन् । दुवैको प्रदर्शनपछि अलराउन्डमा निमाले १७.८७ अंक जोडिन् । भारतमा सम्पन्न सागमा नेपालका लागि पहिलो स्वर्ण जित्दा उनले कुल १६.९१ अंकसाथ स्वर्ण जितेकी थिइन् । एसियाडको उक्त इभेन्टमा १२ खेलाडीले भाग लिँदा निमा ११ औं स्थानमा थिइन् ।

त्यस्तै पुरुष थाउलोको नान छ्वानमा युवराज थापाले पनि ८.२२ स्कोर गरेका छन् । तरबारसहितको प्रदर्शनमा उनले दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानका इब्राहम जम्सेद (७.८७) र पाकिस्तानका मोहम्मद दाउद (६.६५) लाई पछाडि पारेका छन् । २३ खेलाडी प्रतिस्पर्धामा थिए । यसमा चीनका ली जिङदे ९.९५ स्कोरसहित अगाडि छन् ।

सागका रजतपदक विजेता युवराजले मंगलबार नान तावमा प्रतिस्पर्धा गर्नेछन् । उसुका मुख्य प्रशिक्षक अमरकुमार थिङले सोमबार निमा र युवराजले पहिलाको तुलनामा राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘दुवै खेलाडीले राम्रो गरेका छन् । ब्यालेन्स, स्ट्रेन्थमा अझ मिहिनेत गर्नुपर्ने खाँचो छ । यतिको प्रदर्शन हुनुु भनेको पनि ठूलै उपलब्धि हो । यसले साग खेलकुदमा राम्रो नतिजा दिन सहयोग गर्नेछ ।’

टेनिस
महिला डबल्सको राणा दिदीबहिनी मायांका र माहिकाले २–० को सोझो सेटमा जित निकालेका छन् । पालेम्बाङमा जारी टेनिसमा दिदीबहिनीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित हासिल गरे । उनीहरू ६–४, ६–१ को सोझो सेटमा विजयी हुँदै अन्तिम १६ मा पुुगेका छन् । दिदीबहिनीले अब क्वाटरफाइनल पुग्नका लागि बुधबार जापानी जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष डबल्समा संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतका सुमित नागल र रामकुमार रामनाथनको जोडीसँग ६–१, ६–१ ले पराजित भए ।

तेक्वान्दो
एसियाडमा सबैभन्दा सफल खेल दरिएको तेक्वान्दोले दोस्रो दिन तीन खेलाडी प्रतिस्पर्धामा उत्रँदा एक खेलमा जितको नतिजा निकालेको थियो । पुरुष ५८ केजीमुनि तौलमा सागर गुभाजु एक खेल जित्दै अर्को चरण पुगे पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् ।

उनले भुटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले हराएर अन्तिम १६ को स्थान पक्का गरेका थिए । तर क्वाटरफाइनल पुग्न उनका लागि एसियन च्याम्पियनसिपका पदकधारी भियतनामी प्रतिद्वन्द्वी क्युच हुङ बाधक बने । उनले पहिलो राउन्डमा १४ र दोस्रोमा ११ अंक सुम्पिँदा आफूले २ र ३ अंकमात्र बटुलेका थिए ।

महिलातर्फ दुवै खेलमा भने नेपाली खेलाडीले हार बेहोरेका छन् । ६७ केजीमुनि तौलमा संगीता बस्याल नेपालीले थोरै अंकले खेल गुमाइन् । उनी फिलिपिनी खेलाडी अर्पोन डार्लेनीसँग २०–१७ अंकले हारिन् । अन्तिम १६ को चरणमा संगीताले पूरै राउन्ड खेलिन् । उनले पहिलोमा ४–७, दोस्रोमा ९–१० र तेस्रोमा ४–३ को स्कोर बनाएकी थिइन् । संगीताले दोस्रो राउन्डमा बडी किकबाट ६ र पञ्चबाट २ अंक बटुल्दै विपक्षीलाई बलियो चुनौती पेस गरेकी थिइन् ।

महिला ५३ केजी तौलमा निमा गुरुङ पराजित भइन् । सागकी रजत विजेता उनी प्रिक्वाटरफाइनलमा लेवनानकी एओन लातितियासँग अंकका आधारमा २३–१० ले पराजित भएकी हुन् । सुुरुको दुई राउन्डमा १४–१ ले पछाडि परेकी निमाले तेस्रो राउन्डमा लेवनानीसँग ९–९ को प्रदर्शन गरेकी थिइन् । मंगलबार ओलम्पियन निशा रावलको भेट चिनियाँ पान झाओसँग हुनेछ भने ज्ञानी चुनाराले महिला ५७ केजीमुनि भुटानी किन्झाङ चोडेनसँग खेल्नेछिन् । पुरुष ८० केजीमाथि अनोज पुजाराले कजाकिस्तानका रुस्लान जाप्रोभसँग खेल्नेछन् । तीनै जनाको खेल अन्तिम १६ चरणको हो ।

ब्याडमिन्टनका रत्नजित तामाङ चाइनिज ताइपेईविरुद्ध  खेल्दै । तस्बिर : किरण पाण्डे

ब्याडमिन्टन
एक खेल जित्दै मेन्स टिम इभेन्टको क्वाटरफाइनल पुुगेको नेपाली टोली सोमबार सशक्त प्रतिद्वन्द्वी चाइनिज ताइपेईसँग पराजित भएको छ । पाकिस्तानविरुद्ध महत्त्वपूर्ण जित हात पारेको नेपालले ३–० ले सहजै खेल गुमाएको हो । नेपालले तीनवटै खेल गुमाएपछि डबल्स खेल्नुुपरेन । शीर्ष वरीयताका रत्नजित तामाङ तियानचेन चोउसँग २१–१३, २१–१६ ले, दीपेश धामी ताइपेईका वाङ तिजुवेईसँग २१–५, २१–१४ ले, विकास श्रेष्ठ जेनहाओ एचएससँग २१–१०, २१–११ ले पराजित भएका थिए ।

साइक्लिङ
वेस्ट जाभामा भएको माउन्टेन बाइक साइक्लिङ प्रतिस्पर्धा गरेका नेपालका रमेश मगर सातौं स्थानमा रहे । पुरुष डाउनहिलमा उनीसहित १० प्रतिस्पर्धी थिए । उनले २ मिनेट २८.५३८ सेकेन्ड लगाए । पहिलो स्थानमा रहेका आयोजक इन्डोनेसियाका मुखिबले २ मिनेट १६.६८७ सेकेन्डको समय लिएका थिए । महिला डाउनहिलको उपाधि पनि इन्डोनेसियाकै खेलाडीले जितिन् । तिएरा एनदिनी आयोजकका लागि यस एसियाडमा तेस्रो स्वर्ण जित्ने महिला खेलाडी बनिन् । यसअघि उसुु र तेक्वान्दोको पुम्सेमा महिला खेलाडीले स्वर्ण जितेका थिए ।

आशा पाराग्लाइडिङमा
एसियाडमा पहिलोपल्ट समावेश पाराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको सुरुआतको दुई चरणको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा परेका छन् । आयोजक इन्डोनेसियाका मेगावान्तो जाफ्रो अगाडि हुँदा थाइल्यान्डका विटेहाम जिरासाक दोस्रोमा छन् । यो इभेन्ट १० राउन्डसम्म चल्नेछ । बुधबार सकिने इभेन्टमा २९ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्का नेपाली खेलाडी सुशील गुरुङ भने २५ औं स्थानमा छन् ।

उता एक्युरेसीको महिला टिम इभेन्टको दोस्रो चरण समाप्तिमा नेपाल चौथो स्थानमा छ । इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन् । यो इभेन्टमा ९ राष्ट्र सहभागी छन् ।

पुरुष टिम इभेन्टको दुई चरण सकिँदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धामा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छन् । यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पाराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्नेछ । पाराग्लाइडिङको प्रतिस्पर्धा वेस्ट जाभाको गुनुङ मासमा भइरहेको छ ।

१३ औं सागबारे चासो
जकार्ता– दक्षिण एसियाली खेलकुदमा भाग लिने राष्ट्रहरूले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाबारे नेपालको तयारीप्रति गहिरो चासो राखेका छन् । १८ औं एसियाली खेलकुदका इन्डोनेसियामा भाग लिन आएका दक्षिण एसियाली ओलम्पिक काउन्सिलका पदाधिकारीहरूको ‘साइडलाइन’ बैठकमा आयोजनाबारे सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूले चासो राख्दै छिटोभन्दा छिटो औपचारिक पत्राचार गर्न नेपाललाई दबाब दिएका छन् ।

काठमाडौंमा अघिल्लो महिना सम्पन्न काउन्सिलको बैठकले आउँदो मार्च ८ देखि १८ सम्म १३ औं साग नेपालमा गर्ने मिति तोकेको थियो । दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनौपचारिक बैठकबारे जानकारी गराउँदै नेपाल सरकार र ओलम्पिक कमिटीका तर्फबाट पत्राचार गरेपछि सहभागी सबै देशका सरकारले औपचारिक तयारी थाल्नुपर्ने भएकाले पत्राचार गर्न आग्रह गरेको बताए । तोकिएकै मितिमा प्रतियोगिता गर्न नसकिए सम्पूर्ण खेलाडीमाथि अन्याय हुने श्रेष्ठको भनाइ थियो ।

नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गर्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा मूूल आयोजक समिति गठन गरे पनि भौतिक पूर्वाधारलगायत अत्यावश्यक तयारी सुरु गर्न सकेको छैन । नेपालको तयारीप्रति शंका गर्दै श्रीलंकाले प्रतियोगिता गर्न आन्तरिक तयारी गरिरहेकोसमेत बुझिएको छ । प्राविधिक वा प्रशासनिक कारणले नेपालले साग आयोजना गर्न नसके स्वाभाविक रूपले आयोजनाको अधिकार अर्को मुलुुकमा सर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?