सञ्जुको कीर्तिमान, सकियो उसुको आस

जाकार्ता, इन्डोनेसिया — नेपाली महिला भारोत्तोलक सञ्जु चौधरीले १८ औं एसियाली खेलकुदमा तीन राष्ट्रिय कीर्तिमान कायम गरेको मंगलबारको दिन उसुको पदक आस सकिएको छ । उसुको सान्सौं महिला ६० केजीमा लुमन्ती श्रेष्ठबाट पदक आस गरिएको थियो ।

सञ्जुको कीर्तिमान, सकियो उसुको आस

वाई पाएर क्वाटरफाइनल पुगेकी उनी मंगलबार अबेर सकिएको खेलमा थाई प्रतिद्वन्द्वी सुचया बुलुङसँग चेज प्वाइन्टका आधारमा पराजित भएपछि उसुमा नेपालको पदक आस सकिएको हो । उसुको बुधबार नेपालले खेल्ने थाउलुको एउटा मात्र इभेन्ट छ । त्यसमा सुस्मिता तामाङले प्रतिस्पर्धा गर्नेछिन् ।


भारोत्तोलनमा सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी छन् । उनले स्न्याचमा ७२ केजी र क्लिन एन्ड जर्कमा ८६ केजी उठाएकी थिइन् । उनको कुल १ सय ५८ केजी भएको थियो । यसअघि स्न्याचमा ७१ र क्लिन एन्डमा ८५ केजीसहित कुल १ सय ५६ केजीको राष्ट्रिय कीर्तिमान उनको नाममा थियो । उक्त कीर्तिमान उनले काठमाडौंमा सम्पन्न अन्तरक्लब राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा बनाएकी थिइन् ।


जेआई एक्स्पोको हल ए को प्लेटफर्ममा सञ्जुले पहिलोमा ६८ र दोस्रोमा ७२ केजी सफलसँग उठाइन् । क्लिन एन्डमा पनि पहिलोमा ८२ र दोस्रोमा ८६ केजी उचालिन् । दुवैतर्फको उनको तेस्रो लिफ्ट भने असफल भयो । स्न्याचमा ५८ केजी र क्लिन एन्डमा ८८ केजीका लागि प्रयास गरेकी थिइन् ।


कीर्तिमान बनाएकी सञ्जुले भनिन्, ‘एसियाड जस्तो ठूलो प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउँदा एकदमै खुसी छु । आउँदा दिनमा अझै यो भन्दा राम्रो गर्ने लक्ष्य छ ।’
ओलम्पियन तथा एसियाडमा टिमको नेतृत्व गर्दै झन्डा बोकेका कमलबहादुर अधिकारीले बुधबार खेल्नेछन् ।

नेपालकी ज्ञानी चुनारा तेक्वान्दो ५७ केजीमा फिलिपिन्सकी पाउलिन लोपेज (नीलो) सँग भिड्दै । तस्बिर : किरण पाण्डे


तेक्वान्दो
ओलम्पियन निशा रावलसहित तीन खेलाडीले मंगलबार प्रतिस्पर्धा गरेपछि एसियाडमा तेक्वान्दोबाट पनि पदक सम्भावना टाढिएको छ ।


जाकार्तास्थित जिरोला बुङ कार्नो स्टेडियमको जीसीसी हलमा मंगलबार बिहान भएको महिला ६७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी निशा पहिलो खेलमै पराजित भइन् । अन्तिम १६ को उक्त खेलमा सशक्त प्रतिद्वन्द्वी चीनकी खेलाडी पान जाओसँग २२–६ अंकले हारेकी हुन् । पहिलो दुई राउन्डसम्म एसियन च्याम्पियन जाओलाई कडा टक्कर दिएकी निशाले तेस्रो राउन्डमा तीन हेड किक (एक बराबर ३ अंक) खाइन् । दोस्रो चरण सकिँदा उनी ६–३ ले मात्र पछाडि थिइन् ।


पदक नजिकतिर पुुगेकी ज्ञानी चुनारा क्वाटरफाइनलमा पराजित भइन् । महिला ५७ केजीमुनि ज्ञानीले भुटानकी छोदेन किन्जाङलाई २८–६ अंकले हराउँदै अन्तिम आठ पक्का गरेकी थिइन् । लगत्तै भएको खेलमा फिलिपिन्सकी पाउलिन लोपेजसँग एकपक्षीय हार बेहोरिन् । एसियन तथा विश्व वरीयताको २६औं स्थानकी लोपेजले ज्ञानीलाई कुनै मौका दिइनन् ।


इन्चोन एसियाड पनि खेलेकी ज्ञानी त्यहाँ पनि अन्तिम १६ मै पराजित भएका थिइन् । उनी १२औं सागकी पदकधारी हुन् । पुरुष ८० केजीमाथि अनोज पुजारीले पहिलो खेलमै माथ खाए । आफूूभन्दा निकै अग्ला कजाकिस्तानका झापारोभ रुस्लानको सामना गरेका उनले सुरुकै राउन्ड तीन हेड किक खाए । ६ फिट ६ इन्च उचाइका एसियन च्याम्पियनसिपका रजत विजेता रुस्लानले ५ फिट ४ इन्चका अनोजलाई किक हान्ने कुनै मौका दिएनन् ।


बुधबार दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भूूपेन्द्र श्रेष्ठले ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलमा खेल्नेछन् ।


तेक्वान्दोबाट पदक सम्भावनाबारे सोध्दा तेक्वान्दोका प्रशिक्षक तथा एसियाडका दोहोरो कांस्य विजेता दीपक विष्टले भने, ‘पदकभन्दा हामी आफ्नो प्रदर्शन कस्तो गरिरहेका छौं र अरूले कस्तो प्रदर्शन गरेका छन् भन्ने हेर्नुपर्छ । अरू देशले तेक्वान्दोमा धेरै लगानी गरिहेका छन् । हामी भने चार वर्षअघि जस्तो स्थितिमा आएका छौं । चार वर्षपछि पनि यही स्थितिमा हुन्छौं । खेलाडीले आफूले सक्दो प्रदर्शन दिने हो । त्यो दिएका छन् ।’


पौडी
जाकार्ता एक्वाटिक सेन्टरको ५० मिटर फ्रिस्टाइलको हिट २ मा प्रतिस्पर्धा गरेका नेपाली पौडीवाज शिरीष गुरुङले उक्त दूूरी २६.३३ सेकेन्डमा पूरा गरे । आफ्नो हिटमा उनी तेस्रोमा रहे । समग्रमा ५१ प्रतिस्पर्धी हुँदा शिरीष ४६ औं स्थानमा थिए ।


शिरीषको नाममा ५० मिटर फ्रिस्टाइलमा २५.८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । त्यसअघि इन्चोन एसियाडमा शिरीषको यस इभेन्टमा २७.२३ सेकेन्डको प्रदर्शन थियो । जाकार्ता एसियाडमा शिरीषका अरू दुई इभेन्ट बाँकी छन् ।


नेपाली पौडीका कीर्तिमानी शिरीषले सुरुआत ढिलो हुुँदा आफ्नो प्रदर्शन अपेक्षाकृत हुन नसकेको बताए । उनले भने, ‘५० मिटर फ्रिस्टाइल मेरो आफ्नै इभेन्ट हो । त्यसैमा केन्द्रित भएर तयारी गरेको थिएँ । यसमा सुधार गर्छु भन्ने अपेक्षा थियो तर हुन सकेन ।’


जम्पिङ स्टयान्ड अत्याधुनिक भएका कारण जम्प गर्ने बेलामा नै आफू ढिला हुन पुुगेको शिरीषले प्रस्टयाए । ‘अब १०० मिटरमा राम्रो प्रदर्शन गर्ने सोच छ,’ उनले भने । उनको १०० मिटर फ्रिस्टाइल बिहीबार हुनेछ ।


बुधबार गौरिका सिंहले २ सय मिटर फ्रिस्टाइल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।


उसु
सागका रजत पदक विजेता युवराज थापाले पुरुष थाउलुुअन्तर्गत नान क्वानमा उष्कृष्ट प्रदर्शन गरेका छन् ।


जाकार्ता इन्टरनेसनल एक्स्पोको बी हलमा युवराजले तीन दक्षिण एसियाली प्रतिद्वन्द्वीसहित ६ खेलाडीलाई पछाडि पारे ।


उनले चिनियाँ खेलाडी ली जिङदेकै समकक्षमा रहेर प्रदर्शन गरेका थिए । खाली हातको प्रदर्शन रहेको नान क्वानमा युवराजले ९.२० स्कोर बटुले, जुन प्रदर्शनले १२ औं सागमा स्वर्ण जित्ने खेलाडीको भन्दा बढी थियो । लीले भने ९.३९ स्कोर बटुलेका थिए । अघिल्लो दिन तरबारसहितको प्रदर्शन नान छानमा ली नै ९.९५ स्कोरसहित अगाडि थिए । त्यसमा युवराजले ८.२२ स्कोर गरेका थिए ।


युवराजले १२ औं सागमा रजत जित्दा १७.६६ स्कोर बटुलेका थिए । भारतीय खेलाडी पुन्सिभ मेतेईले १८.६० स्कोरबाट स्वर्ण जितेका थिए । एसियाडमा पुन्सिभले नानक्वानमा ८.९५ स्कोर मात्र गरे । अफगानिस्तानका इब्राहम जम्सेद (७.७८) र पाकिस्तानका मोहम्मद दाउद (६.३९) पुछारमा रहे । २३ खेलाडीले प्रतिस्पर्धा गर्दा युवराजले म्यानमार, थाइल्यान्ड र भियतनामका खेलाडीलाई पनि पछाडि पारे । यस इभेन्टमा मकाउका जुुनाह हुुङले ९.७३ स्कोरसहित स्वर्ण जिते ।


उसुका प्रशिक्षक अमरबहादुर थिङले युवराजले प्रदर्शनप्रति तारिफ गरे । उनले भने, ‘युवराजले नानक्वानमा निकै राम्रो प्रदर्शन गरे । चिनियाँ खेलाडीभन्दा हामी थोरै मात्र पछाडि रह्यौं । यसले हामीलाई उत्साहित बनाएको छ । दक्षिण एसियामा पदक जित्न सक्छौं ।’


कबड्डी
आफ्नो वरीयता सुधार्ने लक्ष्य बोकेर आएको कबड्डी टोलीले हारका बाबजुद प्रभावशाली प्रदर्शन गरेका छन् । नेपालले मंगलबार जापानसँग ३१–२८ को साँघुरो अन्तरमा खेल गुमाएको थियो । कबड्डी टोलीले सन् १९९८ मा बैंककपछि एसियाली खेलकुदमा भाग लिएको हो ।


थिएटर गरुडाको कोर्ट नम्बर १ मा महेश बोहराको कप्तानीमा उत्रेको नेपालले जापानसँग अन्तिम समयमा मात्र खेल गुमाएको हो । पहिलो हाफमा १७–१२ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ११ अंकमात्र बटुल्न सक्यो । जवकि जापानले १९ अंक लिएको थियो । पहिलो खेलमा आयोजक इन्डोनेसियासँग पनि प्रतिस्पर्धात्मक खेलमा ३३–२९ ले हारेको थियो । समूह ‘बी’ मा रहेको नेपालले पाकिस्तान, मलेसिया र इरानसँग खेल्नेछ ।


कबड्डी प्रशिक्षक तारासिंह भाटले भने, ‘लामो समयपछि नेपालले एसियाडमा भाग लिएको हो । त्यसले गर्दा हाम्रो लक्ष्य नै वरीयता सुधार्ने हो । त्यसमा सफल हुन्छौं भन्ने विश्वास छ ।’

बास्केटबल
जीबीकेस्थित बास्केटबल हलमा मंगलबार नेपालले खेलेको दुवै खेल गुमाएको छ । पहिलो खेलमा जापानविरुद्ध सुरुआती प्रदर्शनलाई निरन्तरता दिन नसक्दा नेपाल २२–११ स्कोरले पराजित भयो । नेपालबाट मविन्द्र भण्डारी र निश्चल महर्जनले ४–४, आशिष बस्नेतले २ र अजय कुशवाहले १ स्कोर जोडे । उनीहरूले सुरुमा चुस्त प्रदर्शन गरेर विपक्षीलाई स्कोर गर्नबाट रोकेका थिए ।


समूह ‘सी’ रहेको नेपालले कतारविरुद्धको खेल २१–८ ले हारेको थियो । यसमा निश्चलले ४, मविन्द्रले ३ र अजयले १ स्कोर गरे । अब नेपालले माल्दिभ्स, सिरिया र जोर्डनसँग खेल्नेछ ।


प्याराग्लाइडिङ
वेस्ट जाभामा भइरहेको प्याराग्लाइडिङको एकलतर्फ पाँचौं राउन्डसम्म आइपुग्दा त्रिशा श्रेष्ठ बम्जन ३३० स्कोर गर्दै १० औं स्थानमा रहेकी छन् भने प्रतिभा भुजेल ३५९ अंकसाथ १६ औं स्थानमा छिन् ।


एसियाडमा पहिलोपल्ट समावेश इभेन्टमा नेपालले जाकार्ता आउनुपूर्व पदक आशा गरेको थियो । पुरुष व्यक्तिगत एक्युरेसीमा विजय गौतम १२२ अंकसाथ १४ औं र सुशील गुरुङ ४० अंकसाथ २५ औं स्थानमा छन् । यता महिला टिम एक्युरेसीमा १३९५ अंकसाथ नेपाल चौथो स्थानमा छ । यस इभेन्टमा नेपालबाट प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ र सविता तामाङले खेलेका छन् ।


पुरुष टिममा नेपाल आठौं स्थानमा छ । नेपालले मंगलबार चौथो राउन्डसम्म ३४७ अंक बटुल्दै उक्त स्थान हासिल गरेको हो । यस इभेन्टमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलेका छन् ।


आर्चरीमा आसलाग्दो प्रदर्शन


आर्चर ज्ञानु अवाले महिला व्यक्तिगत रिकर्भको एलिमिनेटर राउन्डलाई छनोट हुँदा पुरुषतर्फ तिलक पुनमगर र रोशन नगरकोटी पनि अघिल्लो चरण छानिएका छन् । पुरुषमा व्यक्तिगत विधामा असिम शेरचन र मीनप्रसाद गौचन भने मंगलबारको र्‍याङकिङ राउन्डमै असफल भए ।


महिलातर्फ ज्ञानुले ७० मिटरको पहिलो चरणअन्तर्गत ३६ एरोमा २ सय ८६ स्कोर गरिन् । दोस्रोमा ३ सय स्कोर गर्दा उनको कुल स्कोर ७ सय पूर्णांकमा ५ सय ८६ पुगेको थियो । ६६ सहभागीमध्ये ५५ औं स्थानमा रहँदै उनी बिहीबार हुने एलिमिनेसन चरणलाई छानिइन् । र्‍याङकिङ चरणमा शीर्ष ६४ भित्र पर्ने खेलाडी अघिल्लो चरणलाई छानिने प्रावधान छ ।


पुरुषमा तिलकले पहिलो चरणको ७० मिटरमा ३६ एरो प्रहार गर्दा ३ सय २४ तथा दोस्रो चरणमा ३ सय १७ गरी कुल ७ सय पूर्णांकमा ६ सय ४१ स्कोर गरेका थिए । यो तिलकको व्यक्तिगत उच्च स्कोर हो । उनले यसअघि ६ सय ४० भन्दा बढी स्कोर गर्न सकेका थिएनन् । उनी कुल ७९ सहभागीमध्ये ३७ औं स्थान हासिल गर्न सफल भएका थिए । रोशनले पहिलोमा ३ सय १८ तथा दोस्रोमा ३ सय १९ गरी कुल ६ सय ३७ स्कोर गर्दै ४०औं स्थान हासिल गरे । शीर्ष ६४ मा पर्न सफल भएपछि रोशन पनि तिलकसँगै व्यक्तिगत विधाको अघिल्लो चरणका लागि छनोट भए ।


असिम र मीनप्रसादका लागि मंगलबारको दिन सुखद् रहेन । असिमले कुल ६ सय ८ स्कोर र मीनप्रसादले कुल ५ सय ९७ स्कोर गरेका थिए । पुरुषतर्फका टिम र व्यक्तिगत दुवै इभेन्ट बिहीबार नै हुनेछन् ।


प्रकाशित : भाद्र ६, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?