बटलरको शतक

एएफपी

नटिङ्घम — इंग्ल्यान्डका जोस बटलरले शतक बनाउँदै बेन स्टोक्ससँग पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि भारतविरुद्ध जारी तेस्रो टेस्टमा इंग्ल्यान्ड खेल बचाउन संघर्ष गरिरहेको छ ।

बटलरको शतक

चौथो दिन मंगलबारको पहिलो सेसनको अन्त्यमा इंग्ल्यान्ड ६२–४ को स्थितिमा रहेपनि त्यसपछि बलियो साझेदारी अगाडि बढेको थियो ।


सिरिजमा २–० ले अगाडि रहेको इंग्ल्यान्ड चौथो दिनमा ८० ओभरको खेल सकिँदा २२३–४ को स्थितिमा छ । भारतले जितका लागि प्रस्तुत गरेको ५ सय २१ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्डले जित दर्ता गर्न निकै कठिन हुनेछ । जित हासिल गरे टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध सन् २०१३ मा पछ्याएको सर्वाधिक ४ सय १८ रनको कीर्तिमान लक्ष्य पनि तोडिनेछ ।


बटलर र स्टोक्सले पाँचौं विकेटका लागि १ सय ६१ रनको साझेदारी गरेका छन् । बटलरले १ सय ६ रन जोड्दै खेलिरहेका छन् भने स्टोक्स ५२ रनमा अविजित छन् । बटलरले १ सय ५२ बलको सामना गर्दै २१ औं चौका प्रहार गरेर शतक पूरा गरेका थिए ।


दुवैले उत्कृष्ट ब्याटिङ गर्दा दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले कुनै विकेट गुमाएन । इंग्ल्यान्डका दुई खेलाडीले भाग्यको साथ पनि पाएका थिए । बटलर १ रनमा छँदा डेब्यु गरिरेहका विकेटकिपर रिसभ पन्तले क्याच ड्रप गरेका थिए भने ३५ रनको स्थितिमा चेतेश्वर पुजारा क्याच लिन असफल रहे । स्टोक्स पनि ३८ रनमा छँदा रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु अपिलमा बाँचे ।


पहिलो इनिङ्समा १ सय ६१ रनमा अलआउट भएको इंग्ल्यान्डले दोस्रो इनिङ्समा पनि सोही प्रदर्शन दोहोर्‍याउने संकेत दिएको थियो । दिनको पाँचौं बलमै किटन जेनिङ्स १३ रन जोडदै ईशान्त शर्माको बलमा कट बिहाइन्ड भए । ईशान्तकै बलमा एलेस्टर कुक १७ रन जोडदै पहिलो स्लिपमा समातिए । इंग्ल्यान्डले ६४ रनको स्थितिमा थप दुई विकेट गुमायो । कप्तान जो रुट (१३ रन) र ओल्ली पोप (१६ रन) दुवै क्याचआउट हुँदै पेभेलियन फर्केका थिए ।


सोमबार औंलामा चोट बोकेका कारण विकेटकिपरको भूमिका निभाउन असमर्थ रहेका जोनी बेरस्टो पाँचौं नम्बरमा ब्याटिङ गर्न आएनन् । उनीभन्दा अगाडि आएका स्टोक्स र बटलरले इंग्ल्यान्डको पारी सम्हाल्न मद्दत गरे ।

प्रकाशित : भाद्र ६, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?