२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एन्फामा बालगोपाल नै कार्यवाहक

सुबास हुमागाईं

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

एन्फामा बालगोपाल नै कार्यवाहक

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाएपछि एन्फाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गर्‍यो । एन्फामा नयाँ नेतृत्वको आगमनपछि राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहेका बालगोपालले बुधबारदेखि नै प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

बालगोपालले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा तत्कालीन प्रशिक्षक प्याट्रिक अजेम्स एन्फासँग असमझदारीका कारण नेपाल नफर्केपछि बंगबन्धु गोल्डकपमा बालगोपालले टोलीको जिम्मेवारी सम्हालेका थिए । भारतको केरालामा सन् २०१५ को डिसेम्बर महिनामा भएको साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोली समूह चरणबाट बाहिरियो । पहिलो खेलमा श्रीलंकासँग इन्ज्युरी समयमा गोल खाएपछि १–० ले पराजित नेपालले दोस्रो खेलको सुरुआतमै अग्रता लिए पनि भारतसँग ४–१ को हार बेहोर्‍यो । नेपाल अप्रत्याशित रूपमा समूह चरणबाट बाहिरिएपछि अजेम्स निकै दबाबमा रहेका थिए ।


त्यसबेला टोलीसँगै नेपाल फर्केका अजेम्स बिनाकुनै जानकारी भोलिपल्टै स्वदेश फर्के । त्यसपछि नियमित सम्पर्कमा नरहेका अजेम्सले पारिवारिक समस्याले अकस्मात् फर्केको बताए पनि केही समय एन्फा र प्रशिक्षकबीच दोषारोपणको जुहारी नै चल्यो । एन्फाले अजेम्सको अनुपस्थितिमा बालगोपाललाई टोलीको प्रशिक्षणलाई निरन्तरता दिन सुझाव दियो । अजेम्सको सहायकमा त्यसबेला बालगोपालसँगै हरि खड्का र उपेन्द्रमान सिंह पनि थिए ।


दक्षिण एसियाली खेलकुद (साग) लाई ध्यानमा राख्दै अधिकांश युवा खेलाडी समेटेर महर्जनले टोलीको प्रारम्भिक छनोट पनि गरे । अजेम्सले आफ्नो स्वीकृतिबिना खेलाडी छनोट भएका कारण आफू नफर्कने अडान लिए । एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षक र उपेन्द्रमानलाई सहायकको जिम्मेवारी दिंदै बंगलादेश पठायो । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपालले अपराजित रहँदै उपाधि पनि उचाल्यो ।


बंगलादेश बालगोपालका लागि भाग्यमानी साबित हुँदै आएको छ । सन् १९९३ को ढाका सागमा फुटबलमा स्वर्णपदक जित्दा महर्जन टोलीका सदस्य थिए । उनले त्यसपछि ब्रदर्स युनियन क्लबमा रहेर व्यावसायिक फुटबल पनि खेले । बंगबन्धु कपमा उनको प्रशिक्षणबाट प्रभावित भएर क्लबले उनलाई सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पनि सुम्पिएको थियो । त्यस वर्ष उनले पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षकको उपाधि पनि हात पारेका थिए । बालगोपालकै प्रशिक्षणमा नेपालले सन् २०१५ को साफ यू–१९ च्याम्पियनसिपको उपाधि पनि जितेको थियो ।


बंगलादेशमा आफू भाग्यमानी रहँदै आए पनि अहिले अझै बढी मिहिनेत गर्नुपर्ने बालगोपाल बताउँछन् । ‘बंगलादेशमा मेरो नतिजा राम्रो रहेको छ । त्यसलाई निरन्तरता दिन अझै मिहिनेत गरेर अगाडि बढ्नुपर्छ । हामीले छोटो समयमा धेरै तयारी गर्नुछ,’ महर्जनले थपे, ‘साफ च्याम्पियनसिपमा हाम्रो इतिहास राम्रो छैन । अहिलेसम्म फाइनल पुग्न नसकेको तथ्यांकलाई तोड्नु मेरो लक्ष्य हो । यसपटक नयाँ नेतृत्व र नयाँ टिमसँगै नयाँ जोस लिएर केही हासिल गर्ने अपेक्षा छ ।’


तीन महिनादेखि कोजीसँग सहायकका रूपमा कार्यरत बालगोपालले अब आफ्नैअनुसार टोलीको तयारी अगाडि बढाउने बताए । ‘मैले सहायक प्रशिक्षकका रूपमा काम गर्दा जापानी प्रशिक्षकबाट टोलीबारे धेरै थाहा पाएको छु । अब कमजोर पाटोलाई सुधार्दै साफका लागि टोली तयार पार्नेछु ।


आफ्नो योजनाअनुसार टोली तयार गर्न पाउँदा नतिजा राम्रो हुने आशा छ,’ उनले थपे । हालको टोलीमा बंगबन्धु गोल्डकप जित्दाका अधिकांश खेलाडी रहेका छन् ।
उक्त प्रतियोगितामा कार्यवाहक कप्तानको भूमिका निर्वाह गरेका रक्षक विराज महर्जन अहिले राष्ट्रिय टोलीका कप्तान छन् । एसियाडमा बलियो टोलीविरुद्ध गरेको प्रदर्शनले टोलीको मनोबल उच्च रहेको उनले बताए । ‘एसियाडमा जापान र भियतनामविरुद्ध रक्षात्मक रणनीतिमा टोलीले राम्रो प्रदर्शन गर्‍यो । अब सिनियर खेलाडी र युवा टोली मिसिएर टोली झनै बलियो हुनेछ । यसपटक साफमा सुखद नतिजा आत्मसात् गर्ने लक्ष्य लिएर अगाडि बढेका छौं,’ उनले भने ।


एसियाडमा नेपाली टोलीले रक्षात्मक रणनीतिमा प्रभाव जमाउँदा टोलीको कप्तानी गरिरहेका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले साफमा तुलनात्मक रूपमा कमजोर टोली हुने भएकाले टोली नतिजामुखी भएर अगाडि बढ्ने बताए । ‘एसियाडमा हाम्रो आक्रमण चुस्त रहन सकेन । अब सिनियर खेलाडी थपिएसँगै आक्रमणमा बलियो हुनेछौं । दक्षिण एसियास्तरमा अफगानिस्तान हाम्रो बाधक बन्दै आएकामा अहिले त्यो समस्या छैन । व्यक्तिगत रूपमा भन्नुपर्दा कम्तीमा फाइनल यात्रा तय गर्ने लक्ष्य राखेको छु,’ किरणले सुनाए ।


साफ च्याम्पियनसिपमा नेपाल हालसम्म उपाधि भिडन्तसम्म पुग्न सकेको छैन । नेपालले सन् २०११ र २०१३ मा भने सेमिफाइनल यात्रा तय गरेको थियो । १२ औं संस्करणसम्म आइपुग्दा नेपाल, पाकिस्तान र भुटानमात्र उपाधिविहीन टोली रहेका छन् । यसपटक नेपालको समूहमा उपाधिविहीन तीन टोली र आयोजक बंगालदेश रहेका छन् । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका छन् ।


एसियाडमा राष्ट्रिय टोलीका अधिकांश खेलाडी सम्मिलित युवा टोलीले पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो । भदौ १९ मा हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । एसियाली खेलकुद नै साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएको नेपाल कम्तीमा फाइनल पुग्ने लक्ष्यसहित अगाडि बढेको छ । साफमा नेपालको इतिहास र वर्तमान अवस्था हेर्दा कार्यवाहक प्रशिक्षक बालगोपालको मिहिनेतमात्र नभएर भाग्यको पनि उत्तिकै साथ चाहिने हुन्छ ।


कोजीको भविष्य अन्योलमा
एसियाली खेलकुद सकिएपछि टोलीसँग नेपाल फर्कन नपाएका प्रशिक्षक ग्योतोकु कोजी हाल थाइल्यान्डमा छन् । एन्फाले आवश्यक कागजी प्रक्रिया पूरा नगरेका कारण उनले यस वर्ष पर्यटक भिसामा नेपालमा रहेर प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए । सन् २०१६ को मार्चमा नेपाल आएका कोजीले पछिल्लो दुई वर्ष श्रम स्वीकृति लिएर नै नियमानुसार प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । तर सन् २०१८ मा नयाँ सम्झौता गरेपछि श्रम स्वीकृति हासिल गर्न एन्फालाई समस्या परेको थियो । वैदेशिक प्रशिक्षक नियुक्तिमा विगतभन्दा फरक नियम आएकाले प्रशिक्षक कोजीको श्रम स्वीकृतिमा समस्या परेको हो । एन्फा नेतृत्वमा परिवर्तन आएपछि सम्पूर्ण प्रक्रिया पुन: सुचारु गर्दा भिसा प्रक्रियामा ढिलाइ
भएको थियो ।


बालगोपाललाई कार्यवाहकको जिम्मेवारी सुम्पिएपछि कोजीले अब आफूले जापान फुटबल संघ (जेएफए) सँग कुरा गर्ने बताएका छन् । कोजीले आफू सकेसम्म चाँडो जापान फर्कने जानकारी कान्तिपुरलाई दिए । एन्फाले भने कोजीको भविष्यबारे अहिले नै कुनै निर्णय नलिएको बताएको छ । जेएफएकै सहयोगमा नेपालले पछिल्लो केही वर्ष फुटबलको प्रशिक्षण तथा विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा प्रशिक्षक ग्योतोकु कोजी र प्राविधिक निर्देशक चियाकी ताकेदा सन् २०१६ को सुरुआतमा नेपाल आएका थिए । हाल ताकेदा जाइकामार्फत प्राविधिक सल्लाहकार रहेका छन् ।

प्रकाशित : भाद्र ७, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?