कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् ।

१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

सन् २०१० को ग्वाङझाउ र २०१० को इन्चोन एसियाडबाट पनि रित्तो हात फर्केको थियो । एसियाडमा नेपाली तेक्वान्दोले एक रजत र १३ कांस्यपदक जितेको इतिहास छ ।


जकार्ता एसियाडको पाँचौं दिन सकिँदासम्म नेपाल पदकको छेउसम्म पुग्न सकेको छैन । पदक आस गरिएको उसु पनि पदकविहीन भएर फर्केको छ । एसियाडमा उसुले एउटै पदक जितेको छैन । नेपालले तेक्वान्दोका १४ र उसुका १० खेलाडीलाई एसियाडमा उतारेको थियो । १ सय ८५ खेलाडीको जम्बो टोली एसियाडमा उतारेको नेपालको आस अब जुडो, बक्सिङ र कुराँस खेलमा मात्र बाँकी छ ।


दक्षिण एसियाली राष्ट्र भारत र अफगानिस्तानले पदकको खाता खोलिसकेका छन् । अफगानले उसुबाट एक कांस्य जित्दा भारतले सुटिङ, कुस्ती, सेपाकटाक्रो, टेनिस र उसुबाट पदक भित्र्याएको छ । ४ स्वर्णसहित १६ पदक जितेको भारतले सुटिङबाट सबैभन्दा बढी ७ पदक जितेको छ । पदक तालिकामा चीन, जापान र दक्षिण कोरियाको प्रभुत्व हुँदा आयोजक इन्डोनेसिया ७ स्वर्ण जित्दै पाँचौं स्थानमा छ ।


बिहीबार तेक्वान्दोको ६८ केजीमुनि ज्ञानेन्द्र हमालले एउटा खेल जितेका थिए । अर्को खेलमा नराम्ररी पराजित हुन पुगे । अन्तिम १६ को पहिलो खेलमा ज्ञानेन्द्र भुटानका जिग्मे वाङचुकलाई ३९–१७ अंकले हराउँदै अन्तिम १६ मा पुगेका थिए । उनले पहिलो राउन्डमै भुटानीविरुद्ध चार ह्याम्मर किक हाने र १५(११ को अग्रता बनाए ।


पछिल्लो दुई राउन्डमा उनले विपक्षीलाई खासै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे । उनलाई क्वाटरफाइनल पुग्नका लागि भने मलेसियाका रोजाली रोजामी बाधक बने । साउथ इस्ट एसियन गेम्सका स्वर्ण तथा एसियन इन्डोर तथा मार्सल आर्टका रजत विजेता रोजालीले ज्ञानेन्द्रलाई ३०(२ को फराकिलो अंकमा हराए । आसियन च्याम्पियनसिपका वेस्ट फाइटर रोजालीले उचाइको फाइदा लिँदै तेस्रो राउन्डअगाडि नै खेल जितेका थिए ।

महिला ४९ केजीमुनि तौल समूहमा अस्मिता खडका पनि इरानी प्रतिद्वन्द्वीसामु निरीह बनिन् । विश्व वरीयताको ३५ औं वरीयतामा रहेकी निहादले २८४ औं वरीयताकी खेलाडी अस्मितालाई पहिलो राउन्डमै ६ हयाम्मर किक हानेर खेललाई आफ्नो पक्षमा पारिन् । निहाद एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी खेलाडी हुन् भने अस्मिताको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।


प्रशिक्षक दीपक विष्टले बिहीबारको खेलबारे भने, ‘भुटानसँगको पहिलो खेलमा ज्ञानेन्द्रले जसरी खेलेका थिए, त्यसरी दोस्रो खेल खेल्न सकेनन् । पहिलोमा उनी थोरै घाइते थिए । त्यसले गर्दा पनि उनले खुलेर खेल्न सकेनन् । मलेसियाली प्रतिद्वन्द्वी अन्तर्राष्ट्रिय अनुभवी र पदकविजेता खेलाडी हुन् । उनले उचाइको एडभान्टेज लिए ।’

नेपालले पदक आस गरेका तेक्वान्दो र उसु दुवैको प्रतिस्पर्धा सकिएको छ । दुवै खेल पदकविहीन बने ।

पौडी

राष्ट्रिय कीर्तिमानधारी शिरीष गुरुङले पनि जारी एसियाडमा आफ्नो एउटै कीर्तिमान सुधार्न सकेनन् । बिहीबार पुरुष १०० फ्रिस्टाइल प्रतिस्पर्धा गरेका उनले ५७.९२ सेकेन्डमा दूरी पार गरे । जबकि उनी रियो ओलम्पिकमा आफैंले बनाएको कीर्तिमान सुधार्न असफल रहे । उनले सन् २०१६ मा रियो द जेनेरियोको पोखरीमा ५७.७६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।


आफ्नो हिटमा पुछारमा रहेका शिरीष समग्रमा ४७ खेलाडीमध्ये ४० औं स्थानमा थिए । शिरीषले दुई दिनअघि २० मिटर फ्रिस्टाइलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन् । इन्चोन एसियाडमा समेत सहभागिता जनाएका शिरीषको यहाँ इभेन्ट सकिएको छ ।


अर्की पौडीवाज टिसा शाक्यले महिला ५० मिटर ब्रेस्टस्ट्रोकको दूरी ३९.४६ सेकेन्डमा पार गरिन् । १०० मिटर फ्रिस्टाइलमा आफ्नो प्रदर्शन सुधारेकी टिसाले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।


हिट चरणमा ३० खेलाडीले प्रतिस्पर्धा गर्दा उनी २६ औं स्थानमा थिइन् । ३२.३४ सेकेन्डमा दूरी पार गर्ने फाइनल चरणलाई छानिएका थिए ।

भारोत्तोलन

एसियाडको भारोत्तोलनमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउने क्रमलाई विकास थापाले पनि निरन्तरता दिन सकेनन् । उनले पुरुष ७७ केजीमुनि तौलमा स्न्याचमा १ सय १३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीसहित कुल २ सय ४८ केजी तौल उठाए । यसअघि पनि विकासको व्यक्तिगत स्कोर त्यति नै थियो । स्न्याचमा १ सय १८ केजीका लागि प्रयास गर्दा दुवै लिफ्टमा असफल भए । समग्रमा उनी पाँचौं स्थानमा रहे । विकास १२ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।


यस तौल समूहमा कमलबहादुर अधिकारीको नाममा स्न्याचमा १ सय २२ र क्लिन एन्ड जर्कमा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान छ । कमलले भने यसपल्ट तौल घटाएर ६९ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । अघिल्लो दिन कमलले त्यसमा तीनवटा कीर्तिमान बनाए ।


चार खेलाडी सहभागी रहेको भारोत्तोलनमा अब तारादेवी पुनको खेल बाँकी छ ।


कबड्डी

नेपाली टोली बिहीबार पाकिस्तानसँग ३८(२० अंकले पराजित भयो । समूह ‘बी’ मा पाँच टोली रहेकोमा नेपालले एक खेलमात्र जित्यो । नेपालले अघिल्लो दिन मलेसियालाई हराएको थियो । नेपाल आयोजक इन्डोनेसिया, जापान र इरानसँग पराजित भयो ।


सबै टोलीसँग प्रतिस्पर्धात्मक खेलेको नेपाली कबड्डी २४ वर्षपछि एसियाड खेल्न जकार्ता आइपुगेको थियो । नेपालले यसअघि दुई एसियाडमा कबड्डीलाई सहभागी गराएको थियो । सन् १९९० को बेइजिङमा चौथो र १९९४ को हिरोसिमा एसियाडमा पाँचौं स्थानमा रहँदै फर्केको थियो ।

यसपल्ट पनि वरीयता सुधार्ने लक्ष्यमा मात्र नेपाली टोली जकार्ता आएको थियो ।

पेनकेक सिलात

पेनकेकमा प्रतिस्पर्धी रहेका एक्लो नेपाली खेलाडी विवेककुमार विक पनि पहिलो खेलमै पराजित भए । बिहीबार अन्तिम १६ को ६० देखि ६५ केजीबीच तौल समूहमा प्रतिस्पर्धा गरेका विवेककुमारले इरानका मोहम्मद रहिमिबल्लाहदेजाइसँग हार बेहोरे । उनी ५(० अंकले पराजित भए । पेनकेक इन्डोनेसियाको परम्परागत मार्सल आर्टस हो । यसमा पनि पञ्च, किकबाट अंक लिइन्छ । एसियाली खेलकुदमा पनि यसले पहिलोपल्ट प्रवेश पाएको थियो ।


आर्चरी

जीबीके आर्चरी फिल्डमा बिहीबार तीन नेपाली खेलाडीले रिकर्भको एकल इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ तिलक पुन मगरले पहिलो खेलमा भुटानका निमा वाङीलाई हराएर राम्रो सुरुआत गरे । तिलकले ६(० स्कोरले खेल जितेका थिए । अन्तिम १६ को खेलमा उनी चीनका तियान्सु जुसँग ६(४ को अन्तरमा हारे ।


त्यस्तै रोशन नगरकोटी श्रीलंकन खेलाडी सञ्जीव डी सिल्भासँग ६(० को स्कोरमा पराजित भए ।


महिला रिकर्भको अन्तिम ३२ को खेलमा नेपालकी ज्ञानु अवाले हङकङकी सुक चिङ लामसँग ६(२ ले हारिन् ।


नेपालले शनिबार पुरुष रिकर्भ टिममा कतारसँग खेल्नेछ । नेपाली टोलीमा तिलक, असिम शेरचन र रोशन नगरकोटी छन् ।


आर्चरीका प्रशिक्षक रमेश सिवाकोटीले चिनियाँ खेलाडीसँग तिलकले त्यत्तिको खेल्नु राम्रो भए पनि ज्ञानु र रोशनले भने बिगारेको बताए ।


पाराग्लाइडिङ

पुरुष व्यक्तिगत एकुरेसीमा आयोजक राष्ट्रका जाफ्रो मेगावान्टाले स्वर्ण जित्दा नेपालका विजय गौतमले आठौं स्थानमा रहेर खेल टुंग्याए । ३३ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालका सुशील गुरुङ २४ औं स्थानमा रहे । यो १० राउन्डसम्म चलेको थियो ।


सोही इभेन्टको महिलातर्फ नेपालका त्रिशा श्रेष्ठ बोम्जन १४ र प्रतिभा भुजेल १५ औं स्थानमा रहन सफल भए । यसमा आयोजकको स्वर्ण जित्ने आसलाई असफल पार्दै थाई खेलाडी नुनापातले स्वर्ण जितिन् । दक्षिण कोरियाकी ली दाले रजत जित्दा आयोजककी रिकाको पोल्टमा कांस्यपदक परेको थियो ।


स्क्वास

नेपाली खेलाडीद्वय अरहान्तकेशर सिंह र अमृत थापामगर दुवै पहिलो खेलमै पराजित भए । बिहीबार जीबीकेको स्क्वास स्टेडियममा पुरुष एकलको अन्तिम १६ खेलमा अरहान्त पाकिस्तानका तैयव अस्लामसँग ११(६, ११(५, ११(५ ले हारे । पाकिस्तानीले सोझो सेटमा ३(० ले खेल जित्दा १८ मिनेटमात्र लगाए ।


अर्को खेलमा अमृत भने हङकङका हो यिन लीसँग ११(१, ११(४, ११(२ ले पराजित भए । उनीहरूले डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।


स्पोर्टस क्लाइम्बिङ

मेन्स स्पिड क्लालिफिकेसन राउन्डमा प्रतिस्पर्धा गरेका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ पुछारको दुई स्थानमा रहे । २७ खेलाडीको सहभागितामा १६ खेलाडी दोस्रो चरणलाई छानिए । पेम्बाले १२.०० सेकेन्ड र प्रनिलले १२.२६ सेकेन्डमा चढेका थिए ।


क्वाइन्ड क्वालिफिकेसनमा प्रनिल २१ र पेम्बा २२ औं स्थानमा रहेका थिए ।


प्रकाशित : भाद्र ७, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?