कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नङसलको मिश्रित नतिजा

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — ब्याडमिन्टनमा नेपालले सात इभेन्टमा प्रतिस्पर्धा गर्दा दुई खेल जितेको छ । वुमेन्स सिंगल्समा नङसल तामाङले माल्दिभ्सकी अब्दुल रज्जाकलाई २१–१९, २१–१५ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेकी छन् । नेपालकी पहिलो वरीयताकी नङसलले अब अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नङसलको मिश्रित नतिजा

मेन्स डबल्समा विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले सफलता पाएको थियो । उनीहरूले पहिलो खेल (राउन्ड अफ ३२) मा मंगोलियाका सुमियासुरेन र तेमुलेनलाई २१–१२, २१–१९ ले हराएर अगाडिको यात्रा तय गरे । मिक्स डबल्सको दुवै खेलमा नेपाली खेलाडी पराजित भए । नेपालका शीर्ष वरीयताप्राप्त रत्नजित र नङसल तामाङको जोडी आयोजक इन्डोनेसियाको जोडीसँग २१–१३, २१–७ ले पराजित भयो ।

अर्को खेलमा दीपेश धामी र जेसिका गुरुङको जोडीले हङकङका ली चुन र चाउ होईको जोडीसँग २१–११, २१–११ को सेटमा खेल गुमाएको थियो । वुमेन्स सिंगल्समै जेसिका भने थाई खेलाडी इन्तानोनसँग २१–७, २१–७ ले सहजै हारिन् ।

मेन्स डबल्समा रत्नजित र दीपेशको जोडीले कठिन प्रतिस्पर्धाका बावजुद पाकिस्तानका रिजवान अजाम र सुलेरी कसिफ अलीको जोडीलाई २१–१९, २०–२२ ले खेल सुम्पेका थिए । वुमेन्स डबल्समै नङसल र जेसिकाको जोडी थाइल्यान्डकी जोङकोल्फान र रिवान्डासँग २१–७, २१–५ ले पराजित भएको थियो ।

भारोत्तोलन
एसियाडको भारोत्तोलनमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउने क्रमलाई विकास थापाले पनि निरन्तरता दिन सकेनन् । उनले पुरुष ७७ केजीमुनि तौलमा स्न्याचमा १ सय १३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीसहित कुल २ सय ४८ केजी तौल उठाए । यसअघि पनि विकासको व्यक्तिगत स्कोर त्यति नै थियो । स्न्याचमा १ सय १८ केजीका लागि प्रयास गर्दा दुवै लिफ्टमा असफल भए । समग्रमा उनी पाँचौं स्थानमा रहे । विकास १२ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।

यस तौल समूहमा कमलबहादुर अधिकारीको नाममा स्न्याचमा १ सय २२ र क्लिन एन्ड जर्कमा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान छ । कमलले भने यसपल्ट तौल घटाएर ६९ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।

गल्फ
नेपाली गल्फरले जकार्तास्थित पोन्डोक इन्दाह गल्फ कोर्समा जारी गल्फको पहिलो दिन खराब सुरुआत गरेका छन् । नेपालबाट शुक्रबहादुर राई ९ ओभर ८१ स्कोरसहित समग्रमा ६४ औं स्थानमा छन् । टंकबहादुर कार्की १० ओभर ८२ तथा अजित विक ११ ओभर ८३ अंकसहित संयुक्त ६८ र ७१ औं स्थानमा छन् । पृथ्वी मल्ल १६ ओभर ८८ अंकसहित ८० औं स्थानमा छन् । ८६ गल्फरको सहभागिता रहेकोमा जापानका केइटा नाकाजिमा ४ अन्डर ६८ अंकसहित शीर्षस्थानमा छन् । पहिलो दिनको खेल सकिँदा ११ खेलाडीले मात्र अन्डर पार स्कोरमा खेलिरहेका छन् ।

बक्सिङको ‘ड्र’
एसियाड बक्सिङअन्तर्गत नेपाली महिला बक्सरद्वय पुनम रावल र संगीता सुनुवारले सीधै क्वाटरफाइनल खेल्ने भएका छन् । बिहीबार भएको ‘ड्र’ अनुसार महिला ६० केजीमुनिको तौल समूहमा पुनमले क्वाटरफाइनलमा चीनकी वेन्लु याङको सामना गर्नेछिन् । ५७ केजीमुनि संगीता थाइल्यान्डकी निलवान टिचासुइपसँग खेल्नेछिन् । दुवैले एक खेल जिते कम्तीमा कांस्यपदकको हकदार हुनेछन् । बक्सिङको खेल शुक्रबार सुरु हुनेछ ।

यसपालि बक्सिङमा नेपालले ८ खेलाडीलाई सहभागिता गराएको छ । महिला ५१ केजीमुनि विमला श्रेष्ठले बाई पाएकी छन् । उनले प्रिक्वाटरफाइनलमा मंगोलियाकी ओचिर्बात जार्गालनसँग प्रतिस्पर्धा गर्नेछिन् । पुरुष ५७ केजी तौल समूहमा दीपक श्रेष्ठ बाई पाएर प्रिक्वाटरफाइनल खेल्नेछन् । उनको भिडन्त चाइनिज ताइपेईका कान चियावेइसँग हुनेछ । ५२ केजी तौल समूहमा प्रेम चौधरीले फिलिपिन्सका रोजेन लादोनसँग प्रतिस्पर्धा गर्नेछन् । बाई पाएका उनले प्रिक्वाटरफाइनलमा खेल्नेछन् ।

पुरुष ६४ केजीमुनि नेपालका भूपेन्द्र थापाको पहिलो भिडन्त जोर्डनका ओबादा अल्कास्बेहसँग हुनेछ । ६९ केजी तौल समूहमा विष्णुप्रसाद घलेले कतारका थारुमलिङ्गमसँग प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमुनिको तौल समूहमा तेजबहादुर देउजाले लाओसका खेलाडी खाम्साथोनसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?