२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अभ्यासमा नेपालको दोस्रो जित

काठमाडौँ — नेपालले एसिया कप छनोटको तयारीका क्रममा श्रीलंकामा दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस पद्धतिमा १ सय ७६ रनले पराजित गर्‍यो । नेपालले बुधबार पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गरेको थियो ।

अभ्यासमा नेपालको दोस्रो जित

दीपेन्द्रसिंह ऐरी र सागर पुनले पाँचौं विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेपछि ब्लुमफिल्ड मैदानमा टस जितेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २३ रन बनायो । जवाफमा ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाई १ सय ३४ रन बनाएको समयमा खराब प्रकाशका कारण खेल रोकिएपछि नतिजाका लागि डकवर्थ लुइस लगाइएको थियो ।


कप्तान पारस खडका टोलीमा फर्किए पनि नेपालबाट शुक्रबारको खेलमा पनि माथिल्लोक्रम चल्न सकेन । अघिल्लो खेलमा आराम दिइएका पारस २३ बलमा ४ चौका प्रहार गरी २३ रन बनाएर आउट भए । यसअघि ओपनरहरू सुवास खकुरेल ९ र अनिलकुमार शाह १७ रनमा आउट भएका थिए । पारसको अनुपस्थितिमा अघिल्लो खेलमा कप्तानी गरेका ज्ञानेन्द्र मल्ल ब्लुमफिल्डविरुद्ध खेलेनन् । चौथो नम्बरमा आएका रोहितकुमार पौडेल पनि ११ रनमा आउट भए ।


दीपेन्द्रले १ सय २१ रन बनाए । उनले ९६ बल खेली ९ चौका र ५ छक्का प्रहार गरे । अघिल्लो खेलमा नखेलेका सागरले ९२ रन बनाए । उनको ८३ बलको इनिङ्समा ४ चौका र १ छक्का समावेश छन् । करण केसीले १२ बलमा ४ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए । वसन्त रेग्मी शून्यमा आउट भए । आरिफ शेख १ रनमा नटआउट रहे । ब्लुमफिल्डका सनोज धर्सिकाले ३ विकेट लिए ।


घरेलु टोली ब्लुमफिल्ड लक्ष्यको नजिक देखिएन । टोलीबाट सचिन जयबद्र्धनेले ३०, सनोजले ३८ तथा कसुन इकानायके र सेसन फर्नान्डोले समान १६ रन बनाए । नेपालबाट सागरले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै १६ रन खर्चे । ललितसिंह भण्डारीले ६ ओभरमा ३१ रन खर्चेर २ तथा पारस, ललितनारायण राजवंशी र वसन्तले १–१ विकेट लिए ।


अगस्ट २९ बाट मलेसियामा सुरु हुने एसिया कप छनोटअघि नेपालले श्रीलंकामा आइतबार कोल्ट्स क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

प्रकाशित : भाद्र ८, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?