१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एसियाली खेलकुद: कहाँ चुक्दैछ नेपाली खेलकुद

‘हाम्रा खेलाडी कमजोर छैनन् । आफ्नो स्तरमा उन्नति गरेका छन् । तर अरूको तुलना गर्दा त्यतिले नपुग्ने रहेछ । प्रविधिमा हामी पछाडि रह्यौं, त्यो हामीले स्वीकार्नुपर्छ’
ध्रुव तुलाधर

जकार्ता — जेसीसी प्लानरी हलबाट बिहीबार मध्यान्ततिर बाहिरिँदै गर्दा दीपक विष्ट र संगीना वैद्यको अनुहारमा कुनै चमक थिएन । खुसीको रेखा थिएन । बोल्नै नपरे हुन्थ्यो कि भन्ने भाव उनीहरूको अनुहारबाट प्रस्ट झल्किन्थ्यो ।

एसियाली खेलकुद: कहाँ चुक्दैछ नेपाली खेलकुद

दुवै नेपाली तेक्वान्दोका पायोनियर खेलाडी हुन् । समकालीन उनीहरूले अद्भुत कीर्तिमान रचेका छन् । दुवैले छनोट खेलेर ओलम्पिकमा खेलिसके भने दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण थापिसके । अन्य थुप्रै अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरूको स्वर्ण पनि उनीहरूको नाममा छ । दीपकसँग त अझ साग खेलकुदमा लगातार चार स्वर्ण र एसियाली खेलकुदमा दुई कांस्य जितेको इतिहास पनि छ ।


गौरवशाली इतिहास बोकेका धेरै तेक्वान्दो खेलाडी विदेश पलायन हुँदा यी दुई तेक्वान्दोमै राष्ट्रका लागि केही गर्नुपर्छ भनेर स्वदेशमै लागिपरेका छन् । यतिखेर उनीहरूको काँधमा राष्ट्रिय तेक्वान्दो टोली हेर्ने अभिभारा छ । भनौं, दुवै खेलाडीबाट प्रशिक्षक भएका छन् ।


१८ औं एसियाली खेलकुदबाट पनि शून्यमै फर्कनुपर्दा उनीहरूको अनुहारमा त्यो निराशा छाएको हो । यो लगातार तेस्रोपल्ट हो एसियाडबाट तेक्वान्दोले पदक जित्न नसकेको । उनै दीपकसहित तीन खेलाडीले दोहा एसियाड २००६ मा तीन कांस्य जितेपछि नेपाली तेक्वान्दोले एसियाडबाट पदक थाप्न सकेको छैन । २०१० को ग्वाङझाउ र २०१४ को इन्चोन एसियाडबाट पनि यसरी नै तेक्वान्दो घर फर्केको थियो ।


त्यतिमात्र होइन दुई वर्षअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा पनि तेक्वान्दो स्वर्णविहीन भएको थियो । जबकि तेक्वान्दो सागमा लगातार स्वर्ण जित्ने सफल खेलमा पर्दथ्यो ।

राखेप सदस्य सचिव केशवकुमार विष्ट इन्डोनेसियामा पत्रकारसाग धारणा राख्दै ।तस्बिर : किरण पाण्डे


एसियाली खेलकुद इतिहासमा तेक्वान्दोको गौरवशाली इतिहास छ । एसियाडमा प्रवेश पाएसँगै तेक्वान्दोले पदक जित्दै आएको छ । नेपालले एसियाडमा जितेको एक रजतसहित २३ पदकमध्ये तेक्वान्दोकै धेरै छ । तेक्वान्दोले एक रजत र १३ कांस्य जितेको छ ।


पछिल्लो समय तेक्वान्दो ओरालोतिर झरिरहेछ । मानौं, तेक्वान्दोमात्र होइन सबै खेलले त्यही बाटो समाइरहेका छन् । एसियाड खेल्ने धेरै खेलको हालत उस्तै छ ।
विश्व खेलकुद अत्याधुनिक टेक्नोलोजी पछ्याउँदै अगाडि लम्किरहेको छ । सबै कम्प्युटराइज सिस्टममा चल्छ । जसरी टेक्नोलोजी विस्तार भएको छ त्यस्तैगरी खेलकुदमा पनि ती प्रविधि भित्रिएका छन् ।


तर नेपाली खेलकुद ती प्रविधिसँग अभ्यस्त हुन सकेको छैन । पुरानै ढर्रामा चलेको छ । त्यो पाराले विश्व खेलकुदमा नेपाललाई पदक जित्न त्यति सजिलो छैन । विगतमा खेलाडीले प्रदर्शन देखाउनुपथ्र्यो । कडा मिहिनेत गरे पुग्थ्यो । थोरै टेक्निकले पनि साथ दिन्थ्यो । उस्तै परे पदकै हात पथ्र्यो । सबै काम हाते पद्धतिमै हुन्थ्यो । रेफ्री–जजले पनि जिताउन चाहेकोलाई जिताइदिन सक्थे । अहिले फोरजीमा आधारित टेक्नोलोजीसँग विश्व खेलकुद चलिरहेछ । त्यसैले कम्प्युटरका स्क्रिनबाट अंक गनिन्छ । चिप र डिभाइसले साथ दिन्छ ।


पुराना तेक्वान्दो खेलाडी तथा राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकको भनाइसँग सहमत हुने हो भने पछिल्लो समय विश्व खेलकुदमा विज्ञान प्रविधिले स्थान पायो भने नेपाली खेलकुदमा राजनीति हाबी भयो । हो, नेपाली खेलकुदलाई राजनीतिले थिलथिलो पारेको छ । हरेक खेल संघहरू राजनीतिको चपेटामा छन् । विवाद नभएको संघ सायदै होलान् । दर्शक पाउने ठूलो खेल फुटबल, क्रिकेट, भलिबलदेखि झिनामसिना खेल संघभित्र पनि चरम विवाद छ । अनि वर्षौंदेखिको नेपाल ओलम्पिक कमिटी विवादले पनि निकास पाउन सकेको छैन । नेपाली खेलकुद हाँकिरहेका सरकारी संस्था खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् पनि सरकार परिवर्तनसँगै आउने नेतृत्व परिवर्तनबाट अछुतो छैनन् । जसले गर्दा नेपाली खेलकुदको दीर्घकालीन खाका कोर्ने सक्षम नेतृत्वको अभाव छ ।


विश्व बजारमा अहिले खेलकुद राष्ट्रको ऐनाका रूपमा जोडिएको छ । जसले सबै कुरा छर्लंग पारिदिन्छ । त्यही कुरालाई यतिखेर इन्डोनेसियाले पनि प्रस्तुत गरिरहेको छ । जनसंख्याको हिसाबले विश्वको चौथो ठूलो देशमा पर्ने इन्डोनेसिया जमिन र समुद्रका हिसाबमा सातौं ठूलो देशमा पर्दछ । पछिल्लो समय दु्रत आर्थिक विकास गरिरहेको इन्डोनेसियाले आफ्नो उन्नतिलाई एसियाली खेलकुदमार्फत विश्व बजारमा पुर्‍याउँदै छ । उसले विश्वका ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक, पदाधिकारी, पत्रकारलगायत १० औं हजार व्यक्तिलाई आतिथ्यता दिन कुनै कसर बाँकी राखेको छैन । राजधानी सहर जकार्ता विश्वकै चौथो ठूलो ट्राफिक जाम हुने सहरमा गनिन्छ । तर यतिखेर ट्राफिक जामको कुनै छनक छैन । सरकारले अड नम्बरमा सवारी सुचारु गरेको छ भने कैयौं विद्यालयलाई एसियाड अवधिभर बन्द गराएको छ । त्यसैले उसले एसियाडको नारा नै ‘इनर्जी अफ एसिया’ राखेको छ ।


१२–१५ वर्षको अवधिमा इन्डोनेसियाले विकासमा धेरै फड्को मारेको अनुभव नेपाली खेल प्रतिनिधिसँग पनि छ । सन् २००५ मा एउटा खेलकुद कार्यक्रममा भाग लिन आएका सुजनलाल श्रेष्ठ सम्झन्छन्– ‘म त छक्कै परें, जकार्ता सहर देखेर । त्यतिखेर यहाँ खासै ठूला संरचना नै थिएनन् । नाम चलेका २–४ वटा होटल पाउन पनि मुस्किल थियो । अहिले छ्यापछ्याप्ती स्टार होटल भेटिन्छन् । ठूलाठूला अर्पाटमेन्ट त्यत्तिकै बनेका रहेछन् । सहर संरचना र बाटोघाटो त्यस्तै राम्रो बनेको छ । त्यत्तिकै हरियाली पारिएको छ । जकार्ताले धेरै परिवर्तन ल्याइसकेछ । विकास गर्ने भनेको यस्तो पो हो ।’


हो, आफ्नो देशको उन्नति देखाउने माध्यम अहिले खेलकुद बनिरहेको छ । जसले विश्वकप, ओलम्पिक, एसियाड आयोजना गरेर आफ्नो समृद्धिलाई विश्वबजारमा पुर्‍याउने काम गरिरहेछ ।


तर नेपालले खेलकुदलाई आफ्नो प्राथमिकतामा राख्न सकेको छैन । सरकारी बजेटको सानो हिस्सा पनि खेलकुदमा पर्दैन । सरकारसँग कुनै योजना छैन । खेलकुदलाई राष्ट्रको प्रतिष्ठा र समृद्धिसँग जोड्न सकेको छैन । खेल पूर्वाधारमा लगानी छैन । खेलाडीले खेलकुदमै भविष्य छ भनेर सुनिश्चित हुने स्थिति छैन । एसियाड र सागका पदक जितेका धेरै खेलाडी पलायन भइसकेका छन् ।


यस एसियाडमा आफ्नो प्रतिस्पर्धा सकिसकेका तेक्वान्दो र उसुबाट पदक आस गरिएको थियो । तेक्वान्दोले फाइट र पुम्सेमा गरी १४ खेलाडी उतारेको थियो । पुम्सेमा पहिलोपल्ट भाग लिएको हो । २–३ खेलाडीले पहिलो चरणको बाउट जित्नुबाहेक तेक्वान्दोको प्रदर्शन बिर्सनलायक रह्यो । उसुले १० खेलाडी सहभागी गराउँदा सागमा पदक जितेका केही खेलाडीले आफ्नो प्रदर्शनमा त्यतिबेला भन्दा राम्रो गरेका छन् । अरूको हालत तेक्वान्दोजस्तै रह्यो ।


तेक्वान्दो प्रशिक्षक विष्ट पदक नजित्नुमा धेरै पक्ष कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो पाला र अहिलेको खेलस्तर आकाश–जमिनको फरक छ । अहिले पूरै प्रविधिमा आधारित खेल छ । पहिले त्यस्तो थिएन । खेलाडीले मिहिनेत गरेर मात्रै पुग्दैन, प्रविधिसँग पनि अभ्यस्त हुनुपर्छ अहिले । त्यही स्तरमा आफूलाई ढाल्नुपर्छ । खेलाडीमात्र होइन, प्रशिक्षक पनि त्यत्तिकै अपडेट हुनुपर्छ ।’


दीपकको भनाइमा संगीना पनि सहमत भइन् । भन्छिन्, ‘अहिलेको खेल स्मार्ट टेक्नोलोजीमा आधारित छ । हामी त्यो स्तरमा पुग्न सकेका छैनौं । ती सबै कुराबाट वञ्चित छौं अनि प्रतिस्पर्धाचाहिँ उनीहरूसँग गर्नुपर्छ । कसरी नतिजा राम्रो निस्कन्छ ।’


एसियाडका लागि सबैभन्दा लामो समय तेक्वान्दोले नै आफ्नो मातृभूमि दक्षिण कोरियामा प्रशिक्षण गरेर आएको हो । तर १–२ महिनाको वैदेशिक प्रशिक्षणकै भरमा एसियाडजस्तो प्रतियोगिता खेल्नलाई नपुग्ने प्रशिक्षक विष्ट भनाइ छ । उनको कुरामा यथार्थ झल्कन्छ । आयोजक इन्डोनेसियाले पनि तेक्वान्दोमा एउटै पदक जित्न सकेन । विष्ट प्रश्न गर्छन्, ‘यति भव्य एसियाड आयोजना गर्नेसँग पूर्वाधार, प्रविधि र पहुँच थिएन होला र ? उनीहरूले तेक्वान्दोबाट एउटै पदक जित्न सकेनन् । त्यो भनेर हामी आफ्नो कमजोरी ढाकछोप गर्न लागेका होइनौं । तर हामी कुनमा सबल र सक्षम छौं त्यसअनुसार केन्द्रित हुनुपर्छ ।’


एसियाड, ओलम्पिकजस्ता ठूला प्रतियोगिता खेल्न एउटा दीर्घकालीन योजना अगाडि बढाउनुपर्नेमा उनको जोड छ । ‘सबै खेललाई एउटै बास्केटमा राखेर अगाडि बढ्ने होइन । कुन खेलको आफ्नो पूर्वाधार र पहुँच छ, त्यसलाई नै प्राथमिकतामा राख्नुपर्छ । सहभागितामात्र जनाउने हो या पदक नै जित्ने । त्यसको खाका कोरेर त्यहीअनुसार लगानी गर्नुपर्छ । सहभागिताको नाममा सहभागिता मात्र गरायौं भने यही स्थिति भोग्नुबाहेक अरू हुन सक्दैन ।’


खेलाडीले बढीभन्दा बढी खेलेर एक्सपोजर पाउनुपर्छ । स्वदेश होस् या विदेशमा खेल्न पाउनुपर्‍यो । अभ्यास गरेकै भरमा त्यसबाट नतिजा निस्कँदैन । खेलाडीको प्रदर्शन जाँच्ने भनेको प्रतिस्पर्धा नै हो । त्यो नेपाली खेलाडीले दुर्लभै पाउने गरेका छन् । वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउँदैनन् । कति खेलका त राष्ट्रिय प्रतियोगिता नै हुँदैनन् । तिनका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु त टाढाको विषय हो । एकैचोटि एसियाडजस्ता ठूलो प्रतियोगिता खेल्नुपर्दा नर्भस भएर हार्नुपरेको खेलाडी आफैं पनि स्विकार्छन् । यदि प्रशिक्षणकै भरले हुने भए त पौडीकी गौरिका सिंहको प्रदर्शनमा चमत्कार आउनुपर्ने हो । तर उनले पनि ठूलो प्रतियोगितामा एक्सपोजर पाएकी छैनन् । ओलम्पिक खेलिसकेकी उनको एसियाडमा भने डेब्यु हो ।


अर्को पूर्वाधारका कारण नेपाली खेलाडी त्यत्तिकै माथ खान्छन् । टेनिसको कुरा गर्दा नेपाली खेलाडी माटोको क्लेकोर्टमा खेल्छन् । यहाँ आएर प्रतियोगिता हार्डकोर्टमा खेल्नुपर्‍यो । मार्सल आर्टसका खेलाडीले प्रशिक्षण गर्ने ठाउँमा एउटा गतिलो म्याटसम्म पाउँदैनन् यहाँ चिल्लो म्याटमा खेल्नुपर्छ । पौडीका शिरीष गुरुङ नै प्रतिस्पर्धामा उत्रँदा डाइभिङ स्टयान्डका कारण अलमलमा परे । दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका उनीजस्ता अनुभवी खेलाडी त झुक्किए । नयाँ खेलाडीको हालत के होला । ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दा शिरीषले भनेका थिए, ‘स्टयान्डका कारण मेरो सुरुआत नै ढिलो भयो ।’


कति खेलाडीले त फाइटका प्रतिस्पर्धामा उचाइकै कारण माथ खाए । ६ फिटभन्दा अग्ला प्रतिद्वन्द्वीको सामना गर्दा टिक्न नसकेका घटना यही एसियाडमा देखियो । नेपाली खेलाडीको प्रदर्शन कमजोर नभई प्रविधिमा पछाडि परेर हार्नुपरेको कुरालाई नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्ट पनि स्वीकार्छन् । ‘हाम्रा खेलाडी कमजोर छैनन् । आफ्नो स्तरमा उन्नति गरेका छन् । तर अरूको तुलना गर्दा त्यतिले नपुग्ने रहेछ । प्रविधिमा हामी पछाडि रह्यौं । त्यो हामीले स्वीकार्नुपर्छ,’ उनले भने ।


जारी एसियाडमा २९ खेलमा नेपालले १ सय ८५ खेलाडी सहभागिता गराएको थियो । १० खेलबाट नेपाली टोली बिदा भइसकेको छ । १९ खेलमा प्रतिस्पर्धा गर्दै छ । उनले अझै पदक आस गर्ने खेल बाँकी रहेको सुनाए ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसमेत रहेका सेभ द मिसन विष्ट पदक नजित्दैमा खेलाडीलाई दोष दिनुपर्ने ठाउँ नरहेको बताउँछन् । उनले भने, ‘देशको साधन र स्रोत पाएअनुसार उनीहरूले सक्दो गरेका छन् । पदक नजित्दैमा सबै दोष खेलाडीमा थोपरिनुहुन्न । एसियाडजस्तो प्रतियोगितामा उच्चस्तरका खेलाडी खेल्छन् । विश्व च्याम्पियनहरू हुन्छन् । उनीहरूसँग त्यत्तिकै त जितिँदैन ?’


अहिलेसम्म खेलेका तेक्वान्दो र उसुबाट पदक जित्ने दाबी गरिएको आफ्नो भनाइको बचाउ गर्दै उनले भने, ‘हामीले पदक आशा राखेका थियौं । अरू खेलबाट पनि राखेका छौं । सम्बन्धित संघका पदाधिकारी र प्रशिक्षकले हामीलाई पदक ग्यारेन्टी छ भन्नुहुन्थ्यो । हामीले भनेको त्यसैलाई आधार मान्ने हो । खेलाडीले पदक जितेनन् भनेर सबै दोष उहाँहरूलाई थोपर्न चाहन्नँ । नैतिक रूपमा म जिम्मेवारी लिन्छु ।’


खेलाडीमात्र नभई नयाँ प्रशिक्षक उत्पादन र पुरानालाई अपग्रेट गराउनुपर्ने महसुस भएको सदस्य सचिव विष्टको भनाइ थियो । उनले भने, ‘समस्या प्रशिक्षकमा पनि देखियो । हाम्रो प्रशिक्षण पद्धति पुरानै ढर्रामा चलेको छ । अहिले नयाँ पद्धतिमा प्रशिक्षण गराइन्छ । अन्त विज्ञान प्रविधिमा आधारित अभ्यास चल्छ अनि हाम्रा खेलाडीले त्यहींबाट माथ खान सुरु गर्छन् । खेलाडीसँगै प्रशिक्षकलाई पनि प्रशिक्षण दिनुपर्ने आवश्यकता खटकेको छ ।’


त्यस्ता प्रशिक्षकलाई सीधै हटाउन मिल्दैन त ? सदस्य सचिव विष्ट भन्छन्– ‘नेपालका धेरै प्रशिक्षक स्थायी जागिरे छन् । उनीहरूको विकल्प पनि छैन । पुरानालाई पनि अपग्रेट गर्न सकिन्छ तर प्रशिक्षणमा पठाउँदा भाषाका कारण लक्षित सफलता मिलिरहेको छैन । त्यसैले अब नयाँ उत्पादन गर्नुपर्छ । प्रशिक्षकलाई अनुबन्धमा काम दिनुपर्छ । तबमात्र उहाँहरूमा पनि जिम्मेवारीबोध हुन्छ ।’


सदस्य सचिव विष्ट तेक्वान्दोप्रति पनि खनिए । पहिला ठूला कुरा गर्ने तेक्वान्दोका पदाधिकारी अहिले टिम मिटिङमा समेत अनुपस्थित रहेको भन्ने उनको आरोप थियो । पहिलेदेखि विवाद रहे पनि तेक्वान्दो पछिल्लो समय थप विवादमा परेको थियो । पछिल्लो समय नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो युनियनबीच रस्साकस्सी चलिरहेछ । युनियनले तेक्वान्दोमा समानान्तर हैसियत खोजिरहेको छ ।


एसियाडमा उसले पनि आफ्ना खेलाडीलाई सहभागिता गराउन चाहन्थ्यो । तर डब्लूटीए (वल्र्ड तेक्वान्दो फेडेरेसन) मान्यता पाएकाले संघका खेलाडीले एसियाडमा मात्र भाग लिन पाउँथे । राखेप नेतृत्वले आफ्नो अनुकूलमा छनोट प्रतियोगिता गरेर युनियनलाई पनि समेट्नु भनेर सहमति जनाए । तर संघ त्यो गर्न चाहँदैनथ्यो ।


तेक्वान्दोकै एक प्रशिक्षकको कुरा सुन्ने हो भने तेक्वान्दोले यति धेरै खेलाडी ल्याउनुपर्ने आवश्यकता नै थिएन । उनी भन्दै थिए, ‘नल्याई पनि भएन । नभए अर्का (युनियन) को खेलाडी सहभागी गराइदिन्थ्यो । बाध्य भएर हामीले ल्यायौं ।’


तेक्वान्दो त प्रतिनिधि पात्र मात्र हो । यसरी नै नेपाली खेलकुद चलिरहेछ । हरेक खेलका संघभित्र खेलभन्दा बढी राजनीति चल्छ । पार्टी–पार्टीको भ्रातृ संगठनमा खेलाडी विभाजित हुनुपर्छ । अनि नारा दिइएको छ– विकास, अनुशासन र गतिशीलता । यी सबै वर्तमान नेपाली खेलकुदबाट हराइरहेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?