कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१८ आैं एसियाली खेलकुद : पदकको मौका गुम्यो

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — १८ औं एसियाली खेलकुदको सातौं दिन शनिबार नेपाली खेलाडीले पदक जित्ने धेरै राम्रो अवसर गुमाएका छन् ।

१८ आैं एसियाली खेलकुद : पदकको मौका गुम्यो

एउटा पदकका लागि भौतारिरहेको अवस्थामा कराँतेका रीता कार्की र चञ्चला दनुवार पदकको मुखैमा पुगेर फर्किए । रीता कुमिते र चञ्चला काताको प्रतिस्पर्धामा थिए । चञ्चलाभन्दा रीताको पदक सम्भावना प्रबल थियो ।

महिला ६६ केजीमुनि फाइटको कांस्यपदक भिडन्तमा उत्रिएकी रीता पाकिस्तानी नर्गिससँग अंकका आधारमा ३–१ ले पराजित भइन् । पहिलो खेलमा उनी चीनकी गाओ मेङमेङसँग ३–० ले हारेकी थिइन् । गाओ सेमिफाइनलमा नर्गिसलाई हराउँदै फाइनल पुगेपछि कांस्यका लागि रीता र नर्गिसबीच भिडन्तको मौका मिलेको थियो । चिनियाँ गाओसँग रीताको तुलनामा नर्गिस फराकिलो अंक अन्तर ८–० ले हारेकी थिइन् । त्यसले गर्दा पाकिस्तानीमाथि जित्ने अपेक्षा थियो । तर नर्गिसले पहिलो खेलको गल्ती सुधार्दै नेपाललाई त्यो अवसर दिइनन् ।

खेलमा रीताले युकोबाट एक अंक बटुल्दै अग्रता लिएकी हुन् । त्यसपछि नर्गिसले युकोबाट लगातार अंक बटुलिरहिन् । प्रतिद्वन्द्वीविरुद्ध उनी खरो उत्रन सकिनन् । रीतालाई हराएपछि नर्गिस जेसीसी हलको रिङमा मज्जाले उफ्रिइन् र चिच्याइन् । उनले जितेको यो कांस्यपदक पाकिस्तानका लागि दोस्रोपदक थियो । त्यसअघि पाकिस्तानले कबड्डीबाट एकमात्र कांस्य जितेको छ ।

महिला काताको गौरवशाली इतिहास चञ्चलाले कायम राख्न सकिनन् । २०१४ को इन्चोन एसियाडमा नेपालले जितेको एउटै पदक कांस्य थियो । त्यो पनि महिला काताकै थियो ।

जेसीसी हलमा चञ्चलाले थाई प्रतिद्वन्द्वी मोन्सिचा तारारातान्कुलसँगको खेल गुमाएपछि उनी पदकबाट वञ्चित भएकी हुन् । पाँचै जना जज उनको विपक्षमा रहेपछि चञ्चलाले खेल ५–० ले गुमाइन् । थाई खेलाडी एसियन च्याम्पियनसिपकी कांस्य विजेता हुन् ।

पहिलो खेलमा पराजय भोगे पनि चञ्चलाले रिपिचेज राउन्डमा उत्तर कोरियाली खेलाडी जी उई काङलाई ३–२ अंक अन्तरले पराजित गर्दै कांस्यपदक भिडन्तको स्थान सुरक्षित गरेकी थिइन् ।

पहिलो खेलमा चञ्चला मकाउकी सोइ लाम साउसँग ५–० अंकले हारेकी थिइन् । सोई लाम फाइनल पुगेपछि उनैले सेमिफाइनलमा हराएकी थाई खेलाडी मोन्सिचासँग चञ्चलाले खेल्ने अवसर पाइन् ।

चञ्चला तिनै खेलाडी हुन्, जसले इन्चोन एसियाडमा खेल्न पाएकी थिइनन् । उनको ठाउँमा विमला तामाङले खेल्दै पदक जितेकी थिइन् । तत्कालीन अवस्थामा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भन्दै दुवै कराँते महासंघले खेलाडीलाई इन्चोन पुर्‍याएका थिए । उनी त्यसकै मारमा परेकी थिइन् ।

कराँते टोलीका दीपक श्रेष्ठले म्याच एक्सपोजरको कमीले गर्दा आफ्ना खेलाडीले मुखैमा आएको पदक गुमाउनुपरेको बताए । उनले भने, ‘रीतासँग खेल्ने पाकिस्तानी अन्तर्राष्ट्रिय अनुभव बटुलेकी खेलाडी हुन् । हाम्रा खेलाडी पहिलोपल्ट अन्तर्राष्ट्रिय रिङमा उत्रिएका हुन् । खेलमा त्यसले धेरै फरक पार्छ । हामी त्यसमै चुक्यौं ।’

पुरुष कातामा भने पुरुषोत्तम बाँस्तोला कतारका एडम हसमसँग पहिलो खेलमै ५–० अंकको अन्तरले पराजित भए । कराँतेको कुमितेको ५ तौल समूहमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एथलेटिक्स
जेरोला बुुङकार्नो स्टेडियममा बिहानी सत्रमा भएको पुरुष म्याराथनमा नेपाली धावकद्वय कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले बीचमै दौड त्यागे । कृष्णबहादुरले ४० किलोमिटर र गोपीचन्द्रले ३० किलोमिटर दौडिएपछि छाडेका हुन् । २१ धावकले म्याराथनमा प्रतिस्पर्धा गर्दा १५ धावकले मात्र दूरी पार गरे ।

४० किमिमा दौड छाडदा कृष्णबहादुरको समय २ घण्टा २३ मिनेट १३ सेकेन्ड भइसकेको थियो । जतिबेला उनी १२ औं स्थानमा थिए । उसले व्यक्तिगत म्याराथन टाइमिङ छोइसकेका थिए । कृष्णको २ घण्टा २१ मिनेट ३१ सेकेन्डको म्याराथन टाइमिङ हो । अन्तिम २ दशमलव १९५ किमि बाँकी हुँदा उनले दौड छाडे ।

गोपीचन्द्र भने ३० किमिसम्म प्रतिस्पर्धामा थिए । उनी १ घण्टा ५१ मिनेट २० सेकेन्ड दौडिए । व्यक्तिगततर्फ गोपीको २ घण्टा २१ मिनेट ०४ सेकेन्डको टाइमिङ छ ।दुवैले मांसपेशीमा समस्या आएपछि दौड त्यागेको एथलेटिक्सका प्रशिक्षक आमिरी यादवले बताए । जकार्ताको उच्च आद्र्रताका कारण धेरै खेलाडीलाई दौडिन कठिनाइ भएको थियो ।

कोही पनि धावक आफ्नो गतिमा दौडिन सकेनन् । जबकि जापानका स्वर्ण विजेता हिरोतो इनोई पनि आफ्नो समयभन्दा निकै पछाडि रहेर दौड पूरा गरे । उनले २ घण्टा १८ मिनेट २२ सेकेन्डसाथ स्वर्ण जितेका हुन् । उनको उत्कृष्ट टाइमिङ २ घण्टा ०६ मिनेट ५४ सेकेन्डको हो । हिरोतोसँगै समान टाइमिङमा २ घण्टा १८ मिनेट २२ सेकेन्ड दौड पूरा गरेका बहराइनका इहासन इलाबासी दोस्रो भए । उनी मिलि सेकेन्डमा पछाडि परे । चीनका बुजेइ डुओले कांस्यपदक जित्दा २ घण्टा १८ मिनेट २८ सेकेन्ड लगाए ।

प्रशिक्षक यादवले भने, ‘जकार्ताको मौसमसँगै मांसपेशीमा समस्या आएकाले हाम्रा खेलाडीले दौड पूरा गर्न सकेनन् । उच्च आद्र्रता छ । त्यसले हाम्रो मात्र होइन, धेरै धावकलाई गाह्रो भयो । उनीहरूले आफ्नो पेसमा दौडिन सकेनन् ।’

शनिबारै नेपाली धावक यामसाजन सुनार १ सय मिटर दौडको हिट चरणबाटै बाहिरिए । यस इभेन्टमा २१ प्रतिस्पर्धी हुँदा हिट नम्बर ३ मा रहेर दौडिएका उनले ११ दशमलव ३९ सेकेन्ड लगाए । उनले १७ औं एसियाडका लागि भएको छनोटमा आफैंले बनाएको हाते टाइमिङ १०.३ सेकेन्डभन्दा निकै टाढा रहे । नेपालको राष्ट्रिय कीर्तिमान १०.७१ सेकेन्डको रामकृष्ण चौधरीको नाममा छ । जुन उनले आठौं साफ १९९९ मा बनाएका थिए । यामसाजनले भने १२ औं साग खेलकुदमा ११.०१ र इन्चोन एसियाडमा ११.४३ मा १ सय मिटरको दौड पूरा गरेका थिए ।

आर्चरी
रिकर्भ मेन्स टिमतर्फ नेपालले शनिबार मिश्रित नतिजा निकालेको छ । कतारलाई ६–० को सेट प्वाइन्टले पराजित गर्दै अगाडि बढेको नेपाल अन्तिम १६ को चरणमा चाइनिज ताइपेईसँग पराजित भयो । ताइपेईसँग नेपाल सोही अन्तरमा हारेको हो । नेपालबाट असिम शेरचन, मीनप्रसाद गौचन, रोशन नगरकोटी र तिलक पुनमगरले प्रतिस्पर्धा गरेका थिए । शनिबारको खेलसँगै एसियाडमा आर्चरीको यात्रा पनि सकिएको छ ।

स्पोर्ट्स क्लाइम्बिङ
पुरुषतर्फ कम्बाइन्ड लिडमा नेपाली खेलाडीद्वय पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ १९ र २० औं स्थानमा रहेर यात्रा टुंग्याए । उनीहरूभन्दा मंगोलिया, फिलिपिन्स र थाइल्यान्डका खेलाडी पछाडि रहे । जापानका दुई खेलाडी अगाडि रहेका थिए ।नेपालले पहिलोपल्ट एसियाड खलेको हो । यो खेल एसियाडमा राखिएको पनि पहिलोपल्ट नै हो । जकाबारिङ स्पोटर्स सिटीको रक क्लाइम्बिङ स्थलमा आयोजित प्रतियोगितामा आयोजक इन्डोनेसियाले महिला विधाबाट स्वर्ण जितेको थियो ।

क्लाइम्बिङमा दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए । नेपाल स्पोटर््स क्लाइम्बिङ संघका महासचिव मेघराज पौडेलले क्लाइम्बिङको एसियाड सहभागिताबारे भने, ‘पदकबाट धेरै टाढा छैनौं । खेलाडीहरूले राम्रो गरेका छन् । हामीलाई भौतिक पूर्वाधार अभाव छ । सरकार र ओलम्पिक कमिटीले सहयोग गरे टोकियो ओलम्पिकमा राम्रो नतिजा ल्याउन सक्छौं ।’

बक्सिङ
जकार्ता इन्टरनेसनल एक्स्पो हलमा शनिबार नेपालका तीनैजना बक्सर अंकका आधारमा पराजित भएका छन् । उनीहरू सबैले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका हुन् । महिला लाइटवेट ६० केजीमुनि पुनम रावल चीनकी वेङ्लु याङसँग ५–० अंकले पराजित भइन् । पुरुष लाइट फ्लाइवेटमा तेजबहादुर देउजा लाओसका खामसातोनसँग ३–१ अंकले निराश भए । लाइट वेल्टरवेटमा नेपालका भूपेन्द्र थापाले जोर्डनका अल्खासवहसँगको भिडन्त ४–० ले गुमाए । एसियाडमा सहभागी ८ बक्सरमध्ये शुक्रबार एक जनाले पराजय भोगिसकेका छन् । अब चार जनाको खेल मात्र बाँकी छ ।

सेपाकटाक्रो
सेपाकटाक्रोको पुरुष रेगुतर्फ समूह ‘बी’ मा रहेको नेपालले शनिबार खेलेका दुवै खेल गुमाएको छ । नेपालको समूहमा भारत, दक्षिण कोरिया, मलेसिया र चीन रहेका थिए ।नेपाली टोली दक्षिण कोरिया र मलेसियासँग समान २–० को अन्तरमा पराजित भयो । आइतबार समूहका अन्य राष्ट्रसँग खेल्नेछ ।ब्याडमिन्टन मेन्स डबल्सतर्फ अन्तिम १६ को खेलमा शनिबार नवीन श्रेष्ठ र विकास श्रेष्ठको जोडी मलेसियाका वी किओङ तान र गोह भी सेमको जोडीसँग २१–९, २१–१२ को सेटमा पराजित भयो ।

महिला एकलतर्फ नङसलदेवी तामाङ विश्व वरीयताको दोस्रो स्थानकी जापानी अकाने यामागुचीसँग सोझो सेटमा पराजित भइन् । नेपालकी शीर्ष वरीयताकी नङसलले २१–७, २१–१२ ले खेल गुमाइन् । विश्व वरीयताको सिंगलतर्फ नङसलको कुनै वरीयता छैन । डबल्समा भने उनी २५४ औं स्थानमा छिन् । नङसलले एसियाडमा पाँच इभेन्टमा खेल्दा माल्दिभ्सविरुद्धको सिंगलतर्फ खेलमा मात्र जित हात पारेकी थिइन् । एसियाडमा नेपाली ब्याडमिन्टनको प्रतिस्पर्धा सकिएको छ ।

बास्केटबल
महिला थ्री बाई थ्री बास्केटबलअन्तर्गत शनिबार नेपालले खेलेका दुवै खेलमा हार बेहोर्‍यो । पहिलो खेल निकै प्रतिस्पर्धात्मक रहेपनि नेपाल मंगोलियासँग १२–११ ले निराश भयो । नेपालबाट एलिना गुरुङले २, श्रेया खड्काले ४, भावना लामाले ३ र अनुशा मल्लले २ अंक जोडेका थिए । समूहको पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको नेपालले दिनको दोस्रो खेलमा जापानसँग २१–४ को हार बेहोर्‍यो । जापानविरुद्ध अनुशाले ३ तथा एलिनाले १ अंक जोडे । यस समूहबाट जापान र चाइनिज ताइपेई अगाडि बढे ।

गल्फ
पोन्डोक इन्दाह गल्फ कोर्समा जारी गल्फको तेस्रो दिन नेपाली खेलाडीले औसत प्रदर्शन गरेका छन् । शुक्रबहादुर राईले दोस्रो दिन ५ ओभर ७७ स्कोर जोड्दै समग्रमा १८ ओभर स्कोरसहित ५४ औं स्थानमा रहे । तेस्रो दिन ९ ओभर ८१ जोडेका टंकबहादुर कार्की २४ ओभरको स्कोरसहित ६३ औं स्थानमा छन् । अजित विक ९ ओभर ८१ खेल्दै २८ ओभर स्कोरका साथ ७४ औं तथा पृथ्वी मल्ल ७ ओभर ७९ सहित कुल ३१ ओभर स्कोरका साथ ७७ औं स्थानमा छन् ।

कुल ८६ गल्फरमध्ये जापानका केइटा नाकाजिमा शीर्षस्थानमा यथावत् छन् । उनले तेस्रो दिन २ अन्डर ७० खेल्दै कुल १० अन्डरको स्कोरसाथ ३ स्ट्रोकको अग्रता बनाए । टिम इभेन्टमा नेपाल १७ औं स्थानमा यथावत् छ । तेस्रो दिन २ सय ३७ अंक जोडेको नेपालले समग्रमा ६८ ओभर स्कोर बनाएको छ । जापान २२ अन्डरसहित शीर्षस्थानमा छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?