कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्वर्णिम अवसर

विनोद पाण्डे

काठमाडौँ — नेपाली क्रिकेटले पछिल्लो समय धेरै अवसरको सदुपयोग गरेको छ । ७ महिनाअघि मात्र विश्व क्रिकेट लिग डिभिजन २ खेलिरहेको पृष्ठभूमिमा अहिलेको वान–डे अन्तर्राष्ट्रिय मान्यता परीको कथा जस्तो भइसकेको छ । एसिया कप छनोटले नेपाललाई एउटा अर्को ठूलो अवसर प्रदान गर्नेछ ।

स्वर्णिम अवसर

एसिया कपको छनोटको आधार हो मलेसियामा बुधबार सुरु हुने प्रतियोगिता । अर्थात एसिया कप छनोटको विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । नेपाल जस्तै यूएई, हङकङ, मलेसिया, सिंगापुर, ओमानलाई यो अवसर छ । एसिया कप छनोटमा खेल्ने यी राष्ट्रको विजेताले मात्र एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमा खेल्न पाउनेछन् ।


भारत, पाकिस्तानसँग खेल्न पाउने सम्भावनालाई इंगित गर्दै कप्तान पारस खड्का एसिया कप छनोटलाई स्वर्णिम अवसर भन्छन् । ‘यो वर्षैभरि राम्रो क्रिकेट खेल्दै आएका छौं, जसोतसो आफूअनुकूल नतिजा ल्याएका छौं,’ पारस भन्छन्, ‘एसिया कप छनोट जस्तो अवसर बारम्बार आउँदैन, त्यही भएर हामीले आफ्नातर्फबाट सक्दो प्रयास गर्नेछौं । एउटा खेलाडी र एउटा टिमका रूपमा हामी यो प्रतियोगिताको पर्खाइमा छौं । यस्तो अवसर सदुपयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।’


२०१५ मा यूएईमा पपुवा न्यु गिनीसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्नुअघि पाकिस्तानसँग अभ्यास (मान्यता नपाएको) खेल खेल्न पाउनु नेपाली क्रिकेटको ठूलो फड्कोका रूपमा थियो । एसिया कप छनोटले नेपाललाई एसिया कपबाट भारत र पाकिस्तानसँग वान–डे अन्तर्राष्ट्रिय खेल्ने सपनालाई यथार्थ बनाइदिन सक्छ । नेपाल अहिले वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र भए पनि भारत र पाकिस्तान जस्ता ठूलो राष्ट्रको संरचनाको लिकबाट धेरै बाहिर छ । त्यसैले एसिया कप छनोट जस्ता प्रतियोगिताले मात्र नेपालको भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पुल जोड्न सक्छ ।


एसिया कप छनोट सुरु हुनुअघि नै एसिया कपको खेल तालिका आइसकेको छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । एसिया कप छनोटमा खेल्ने नेपाल, यूएई, हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाको विजेता समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै रहेर प्रतिस्पर्धा गर्नेछन् ।


विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी ८ टोलीमा सातौं स्थानमा रहेपछि नेपाल डिभिजन २ मा झरेको थियो । फेब्रुअरीमा डिभिजन २ खेलेको नेपालले त्यसको अर्को महिना जिम्बावेमा विश्वकप छनोट खेल्दै आठौं स्थान हात पारी वान–डे अन्तर्राष्ट्रिय टोली बनेको थियो । त्यस हिसाबमा नेपाललाई दाबेदार राखिएको उनी स्विकार्छन् ।


‘वान–डे अन्तर्राष्ट्रिय राष्ट्र भएकाले हामीमाथि जिम्मेवारी छ । राम्रो प्रदर्शन गर्न अलिकति दबाब पनि छ । जुन क्रिकेट पछिल्लो समय खेलेका छौं, त्यसलाई निरन्तरता दिन जरुरी छ । वरीयताका हिसाबमा हामी दाबेदार हुन सक्छौं तर जुनै पनि प्रतियोगिता र खेल सुरुदेखि खेल्नुपर्छ यो बिर्सन हुन्न,’ पारस भन्छन् ।


जिम्बावेमा विश्वकप छनोट खेलेयता नेपालले पहिलो पटक प्रतियोगिता खेल्न लागेको हो । गत महिना एमस्ट्राडममा नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला खेल्दै नेपाल वान–डे अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरेको थियो । दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै नेपालले वान–डे अन्तर्राष्ट्रिय जितको स्वाद चाखेको थियो । पारस एसिया कपसम्म पुग्न आफ्नो स्तर अझ माथि लैजानुपर्ने बताउँछन् ।


लामो समयपछि नेपालसहित यूएई र हङकङले एसियाली प्रतियोगितामा खेल्दै छन् । नेपाल जस्तै यूएई पनि वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र हो । हङकङलाई उछिन्दै नेपाल वान–डे अन्तर्राष्ट्रिय राष्ट्र बनेको थियो । यी तिनै राष्ट्रलाई नै एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । प्रशिक्षक जगत टमाटा डिभिजन २ देखि नेपालले लगातार राम्रो खेलिरहे पनि अहिलेको चुनौती फरक रहेको स्विकार्छन् ।


‘विश्व क्रिकेट लिग सकिए पनि एसिया कप छनोट त्यस्तै संरचनामा छ । त्यसैले यो चुनौतीपूर्ण छ । एसियन कन्डिसनमा सबै टोली बराबर हैसियतका छन् । तर नेपाल टिम त्यसका लागि तयार छ,’ पारसले भने, ‘यो प्रतियोगितामा खेल्ने सबै टिमले सबै टिमका खेलाडीलाई चिनेको पनि छैन । यूएई, हङकङ, मलेसिया, सिंगापुर, ओमानका सबै खेलाडीले हामीलाई चिन्दैनन्, हामी पनि उनीहरूलाई चिन्दैनौं । त्यसैले रणनीतिक हिसाबमा अगाडि बढ्न जरुरी छ । उनीहरूले पनि हामीलाई त्यही हिसाबमा हेर्छन् होला ।’

नेपालले १९९६ देखि नै एसीसी ट्रफी खेल्दै आएको थियो । विगतमा एसिया कपको छनोटको आधार यही एसीसी ट्रफी हुने गथ्र्यो । २००२ को एसीसी ट्रफीको फाइनल पुगेर पनि नेपालले भारत र पाकिस्तानको लडाइँका कारण एसिया कप खेल्न पाएको थिएन । २०१२ यता एसीसी ट्रफी भएको छैन । पछिल्लो पटकको एसीसी ट्रफीमा फाइनल खेल ‘टाई’ भएसँगै नेपाल र यूएई संयुक्त विजेता भएका थिए । एसिया कप छनोट दाबेदार नेपाल र यूएईसहित अन्य राष्ट्रलाई ठूलो अवसर लिएर आएको छ, एसिया कप खेल्नलाई ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?