स्वर्णिम अवसर

विनोद पाण्डे

काठमाडौँ — नेपाली क्रिकेटले पछिल्लो समय धेरै अवसरको सदुपयोग गरेको छ । ७ महिनाअघि मात्र विश्व क्रिकेट लिग डिभिजन २ खेलिरहेको पृष्ठभूमिमा अहिलेको वान–डे अन्तर्राष्ट्रिय मान्यता परीको कथा जस्तो भइसकेको छ । एसिया कप छनोटले नेपाललाई एउटा अर्को ठूलो अवसर प्रदान गर्नेछ ।

एसिया कपको छनोटको आधार हो मलेसियामा बुधबार सुरु हुने प्रतियोगिता । अर्थात एसिया कप छनोटको विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । नेपाल जस्तै यूएई, हङकङ, मलेसिया, सिंगापुर, ओमानलाई यो अवसर छ । एसिया कप छनोटमा खेल्ने यी राष्ट्रको विजेताले मात्र एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमा खेल्न पाउनेछन् ।


भारत, पाकिस्तानसँग खेल्न पाउने सम्भावनालाई इंगित गर्दै कप्तान पारस खड्का एसिया कप छनोटलाई स्वर्णिम अवसर भन्छन् । ‘यो वर्षैभरि राम्रो क्रिकेट खेल्दै आएका छौं, जसोतसो आफूअनुकूल नतिजा ल्याएका छौं,’ पारस भन्छन्, ‘एसिया कप छनोट जस्तो अवसर बारम्बार आउँदैन, त्यही भएर हामीले आफ्नातर्फबाट सक्दो प्रयास गर्नेछौं । एउटा खेलाडी र एउटा टिमका रूपमा हामी यो प्रतियोगिताको पर्खाइमा छौं । यस्तो अवसर सदुपयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।’

Yamaha


२०१५ मा यूएईमा पपुवा न्यु गिनीसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्नुअघि पाकिस्तानसँग अभ्यास (मान्यता नपाएको) खेल खेल्न पाउनु नेपाली क्रिकेटको ठूलो फड्कोका रूपमा थियो । एसिया कप छनोटले नेपाललाई एसिया कपबाट भारत र पाकिस्तानसँग वान–डे अन्तर्राष्ट्रिय खेल्ने सपनालाई यथार्थ बनाइदिन सक्छ । नेपाल अहिले वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र भए पनि भारत र पाकिस्तान जस्ता ठूलो राष्ट्रको संरचनाको लिकबाट धेरै बाहिर छ । त्यसैले एसिया कप छनोट जस्ता प्रतियोगिताले मात्र नेपालको भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पुल जोड्न सक्छ ।


एसिया कप छनोट सुरु हुनुअघि नै एसिया कपको खेल तालिका आइसकेको छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । एसिया कप छनोटमा खेल्ने नेपाल, यूएई, हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाको विजेता समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै रहेर प्रतिस्पर्धा गर्नेछन् ।


विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी ८ टोलीमा सातौं स्थानमा रहेपछि नेपाल डिभिजन २ मा झरेको थियो । फेब्रुअरीमा डिभिजन २ खेलेको नेपालले त्यसको अर्को महिना जिम्बावेमा विश्वकप छनोट खेल्दै आठौं स्थान हात पारी वान–डे अन्तर्राष्ट्रिय टोली बनेको थियो । त्यस हिसाबमा नेपाललाई दाबेदार राखिएको उनी स्विकार्छन् ।


‘वान–डे अन्तर्राष्ट्रिय राष्ट्र भएकाले हामीमाथि जिम्मेवारी छ । राम्रो प्रदर्शन गर्न अलिकति दबाब पनि छ । जुन क्रिकेट पछिल्लो समय खेलेका छौं, त्यसलाई निरन्तरता दिन जरुरी छ । वरीयताका हिसाबमा हामी दाबेदार हुन सक्छौं तर जुनै पनि प्रतियोगिता र खेल सुरुदेखि खेल्नुपर्छ यो बिर्सन हुन्न,’ पारस भन्छन् ।


जिम्बावेमा विश्वकप छनोट खेलेयता नेपालले पहिलो पटक प्रतियोगिता खेल्न लागेको हो । गत महिना एमस्ट्राडममा नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला खेल्दै नेपाल वान–डे अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरेको थियो । दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै नेपालले वान–डे अन्तर्राष्ट्रिय जितको स्वाद चाखेको थियो । पारस एसिया कपसम्म पुग्न आफ्नो स्तर अझ माथि लैजानुपर्ने बताउँछन् ।


लामो समयपछि नेपालसहित यूएई र हङकङले एसियाली प्रतियोगितामा खेल्दै छन् । नेपाल जस्तै यूएई पनि वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र हो । हङकङलाई उछिन्दै नेपाल वान–डे अन्तर्राष्ट्रिय राष्ट्र बनेको थियो । यी तिनै राष्ट्रलाई नै एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । प्रशिक्षक जगत टमाटा डिभिजन २ देखि नेपालले लगातार राम्रो खेलिरहे पनि अहिलेको चुनौती फरक रहेको स्विकार्छन् ।


‘विश्व क्रिकेट लिग सकिए पनि एसिया कप छनोट त्यस्तै संरचनामा छ । त्यसैले यो चुनौतीपूर्ण छ । एसियन कन्डिसनमा सबै टोली बराबर हैसियतका छन् । तर नेपाल टिम त्यसका लागि तयार छ,’ पारसले भने, ‘यो प्रतियोगितामा खेल्ने सबै टिमले सबै टिमका खेलाडीलाई चिनेको पनि छैन । यूएई, हङकङ, मलेसिया, सिंगापुर, ओमानका सबै खेलाडीले हामीलाई चिन्दैनन्, हामी पनि उनीहरूलाई चिन्दैनौं । त्यसैले रणनीतिक हिसाबमा अगाडि बढ्न जरुरी छ । उनीहरूले पनि हामीलाई त्यही हिसाबमा हेर्छन् होला ।’

नेपालले १९९६ देखि नै एसीसी ट्रफी खेल्दै आएको थियो । विगतमा एसिया कपको छनोटको आधार यही एसीसी ट्रफी हुने गथ्र्यो । २००२ को एसीसी ट्रफीको फाइनल पुगेर पनि नेपालले भारत र पाकिस्तानको लडाइँका कारण एसिया कप खेल्न पाएको थिएन । २०१२ यता एसीसी ट्रफी भएको छैन । पछिल्लो पटकको एसीसी ट्रफीमा फाइनल खेल ‘टाई’ भएसँगै नेपाल र यूएई संयुक्त विजेता भएका थिए । एसिया कप छनोट दाबेदार नेपाल र यूएईसहित अन्य राष्ट्रलाई ठूलो अवसर लिएर आएको छ, एसिया कप खेल्नलाई ।

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ ०८:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

युग फेरेका टमाटा

नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बन भएको अढाइ वर्ष पुग्न लागिसक्यो । यस क्रममा जगत टमाटा नेपाली क्रिकेटका सर्वेसर्वा जस्तै छन् । उनले नेपाली क्रिकेट हाँकिरहँदा आईसीसीबाट कुनै पारिश्रमिक भने पाएका छैनन् ।
विनोद पाण्डे

काठमाडौँ — ४०–५० को दशक वा त्यसअघिका खेलाडी एउटै खेलबाट अघाउने कमै हुन्थे । उनीहरू धेरै खेलमा जमेका हुन्थे । जगत टमाटा पनि त्यस्तै थिए । उनलाई पनि क्रिकेटमात्र खेलेर पुग्दैनथ्यो । समयअनुसार हकी पनि मजाले खेल्थे । उनको हकी स्टिकको स्किलमा भारतीय संस्कार झल्कन्थ्यो ।

धनगढीमा २०५१ सालमा भएको जय ट्रफी राष्ट्रिय क्रिकेटमा टमाटा कैलाली जिल्लाका कप्तान थिए । दोस्रो खेल हारेपछि कैलाली प्रतियोगिताबाट बाहिरियो । धनगढी रंगशालाबाहिर कैलालीको हकी टिम तयारी गर्दै थियो । टमाटाले स्कुल स्तरमा हकी पनि खेलेका थिए । उनी क्रिकेटको क्रिजबाट सिधै हकी मैदानमा ड्रिब्लिङ गर्न पुगेका थिए ।

उनको स्किल देखेर प्रशिक्षकले पत्याइहाले । टमाटा क्याम्पमै परे । स्टामिना राम्रो भएकाले उनले लास्ट डिफेन्सको भूमिका पाए । क्याम्पमा राम्रो गरेपछि उनलाई नेपाल हकी टोलीको बन्द प्रशिक्षणमा राखियो । अन्तत: टमाटा दक्षिण एसियाली खेलकुद जाने नेपालको हकी टोलीमा नै परे । सन् १९९५ मा भारतको मद्रासमा भएको दक्षिण एसियाली खेलकुदमा खेले नै । नेपालबाट हकी खेल्छु भनेर आफूले नचिताएको उनले सुनाए ।
०००

टमाटाको उद्देश्य भने क्रिकेट नै थियो । उनले एउटा अवसर पाउँदा राष्ट्रिय खेलाडी हुँदै प्रशिक्षकको भूमिकामा नेपाललाई वान–डे अन्तर्राष्ट्रिय मान्यतादेखि गत साता नेदरल्यान्ड्समा ऐतिहासिक पहिलो जितसमेतको उपलब्धि दिलाए ।

नेपालले १९९६ मा एसीसी ट्रफीबाट मलेसियामा अन्तर्राष्ट्रिय क्रिकेट यात्रा थाल्दाका सदस्य हुन् टमाटा । अफ स्पिनरको रूपमा टोलीमा रहेका उनी तल्लोक्रममा ब्याटिङ गर्थे । त्यतिखेर नै उनी राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षक भइसकेका थिए । दुई वर्षपछि नेपालले अर्को एसीसी ट्रफी खेल्नेक्रममा थियो । खेलाडीको रूपमा टमाटा बन्द प्रशिक्षणमै थिए । तत्कालीन उपाध्यक्ष स्व. टीबी शाहले उनलाई प्रशिक्षणमा केन्द्रित हुन भनेपछि टमाटा खेलाडी बन्न भन्दा पनि खेलाडी निर्खान व्यस्त भए ।

अल्ताफ बालुच, हारुन रशिद, रोय डायस र पुबुदु दसानायके जस्ता अन्तर्राष्ट्रिय प्रशिक्षक नेपाल आएको उनलाई बाँदरलाई भर्‍याङजस्तै भयो । सबै विदेशी प्रशिक्षक नेपाल आउँदा उनी सहायक थिए । उनकै भाषामा भन्नुपर्दा सबै विदेशीको मिश्रण उनले आफ्नो प्रशिक्षणमा उतारेका छन् । दुईपल्ट उनले यू–१९ टोलीलाई विश्वकपमै उतारिसके । आफ्नै योजनाअनुसार खेलाउँदा उनलाई छुट्टै आनन्द आउँछ ।

दसानायके नेपाली क्रिकेट विवादबाट वाक्क भएर गइसकेका थिए । नेपालले २०१६ को अप्रिलमा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँग खेल्दै थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का एसिया हेर्ने बन्दुला वार्नापुराले टमाटालाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिए । त्यसयता नेपाली क्रिकेटको विवाद मिलेको पनि छैन । टमाटा भने नेपालको प्रशिक्षकमा निरन्तर छन् । यही अवधिमा नेपालले च्याम्पियनसिपको अनुभव गर्दै डिभिजन २ र विश्वकप छनोटको चुनौती पन्छाएर वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको हो ।

टमाटाको आफ्नै सिद्धान्तको प्रशिक्षण छ । उनी टिमलाई कसरी हयान्डल गर्नेभन्दा पनि कसरी सन्तुलन राख्ने भन्ने जरुरी ठान्छन् । ‘खेलाडीलाई माया गर्ने हो कि सम्झाउने हो त्यो विचार गर्नुपर्छ । अहिले जुन स्तरमा खेलिरहेको छ, त्यहाँ १७–१८ वर्षदेखि खेलिरहेको खेलाडीलाई यसरी खेल खेल्नुभन्दा पनि उसलाई मानसिक हिसाबमा ठीक राख्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ,’ उनी आफ्नो प्रशिक्षण शैलीबारे भन्छन्, ‘नयाँ खेलाडी छ भने निश्चय पनि उसलाई आधारभूत हिसाबमा सिकाउन सकिन्छ ।’ मैदानभित्र उनले नेपाली खेलाडी अनुशासित पाएका छन् । उनीहरूले आफूले भनेको कुरालाई मैदानमा उतारेका छन् । मैदानबाहिर के गर्छन् त्यो उनी सरोकार पनि राख्दैनन् ।

नेपाली प्रशिक्षक भएकैमा धेरैले खिसिटिउरी गरेको पनि उनले पाएका छन् । यसले कै नै गर्छ भन्ने खालको तिखा भनाइ सुनेका छन् । आफ्नो र अरुको टिम भन्नेमा फरक हुने उनले अनुभूति गरेका छन् । ‘म नेपाली भएकाले मलाई जहिल्यै आफ्नो टिमजस्तो हुन्छ । विदेशी प्रशिक्षकमा पनि त्यो फिलिङ्स आउला, तर विदेशी प्रशिक्षकले केही दिन सम्झेपछि उसले बिर्सिसकेको हुन्छ,’ नेपाली प्रशिक्षकले टिमलाई राम्रोसँग बुझेको हुनाले उसको माया बढी हुने टमाटाको बुझाइ छ ।

यसको मतलब उनी विदेशी प्रशिक्षकको विरोधीमा आफूलाई राख्दैनन् । उनी मान्छन्, विदेशी प्रशिक्षक ल्याउनुपर्छ विशेष गरी खेलाडीलाई अनुशासनमा राख्न पनि । ‘अहिले हामी वान–डे अन्तर्राष्ट्रिय मान्यतामा खेलिरहेका छौं र टेस्टका लागि दौडिरहेका छौं । नयाँ पुस्ता पनि आउनेवाला छ । त्यसका लागि पनि विदेशी प्रशिक्षक चाहिन्छ । विदेशी प्रशिक्षक ल्याउँदा राम्रो हुन्छ,’ मेरै गोरुको बाह्रै टक्का भन्नेमा उनी छैनन्, ‘नेपाली क्रिकेट माथि जानु महत्त्वपूर्ण छ, प्रशिक्षकको विषय त्यसमा गौण हुन्छ ।’

राखेपमा जागिरे भएकै २२ वर्ष भयो । ४–५ वर्षपछि उनले अवकाश पाउने छन् । त्यसपछि पनि उनी क्रिकेटमै रहनेमा निश्चित गर्छन् । यसक्रममा परिवारलाई कहिल्यै राम्रोसँग हेर्न नपाएकामा उनले दुखेसो छ । जेठो छोराले पढाइ सकेर जागिर सुरु गरिसके । क्रिकेटमै रहेका कारण छोराको पढाइ कस्तो रहयो आफूले कहिल्यै हेर्न नपाएको उनको गुनासो छ । छोराको बिहे भएर बच्चा भइसक्यो ।

टमाटा हजुरबुवा भइसके । छोरी र कान्छो छोराले पनि पढाइ सकिसकेका छन् । ८० वर्षीया आमा, श्रीमती, दाइ र बहिनीका कारण आफू क्रिकेटमा मस्त लाग्न पाएकाले छोराछोरी राम्रोसँग हुर्कन पाएकोमा उनी सन्तुष्ट पनि छन् । धेरैजसो परिवारसँग फोनवार्ता हुन्छ । दशैंमा भेटघाट हुन्छ, त्यति नै हो । उनको परिवार कैलाली, टीकापुरमा छ र उनको जागिर राजधानीमा । त्यसमा पनि अधिकांस समय टिमसँग बाहिरै हुन्छन् ।

यसअघि उनी खेलकुद परिषद्को प्रशिक्षक भएर भैरहवा र पोखरामा थिए । सोर्स–फोर्स लगाएर कतै नगएको उनको दाबी छ । क्रिकेटलाई केही गर्नुपर्छ भन्ने उनमा ईख छ । आफ्नो कार्यकालमा केही राम्रो होस्, क्रिकेट माथि जाओस् भन्ने उनको भावना छ । त्यसका लागि आफूले धेरै संघर्ष गरेको दाबी गर्छन् । अन्तर्राष्ट्रिय स्तरमा जुन टिम हुनुपर्ने त्यो टिम अहिले आफूले नपाएको र नेपाली टोलीलाई सन्तुलन बनाउन माथिल्लो पंक्तिमा अझै ब्याट्सम्यानको कमी रहेको बताउँछन् । जे छ अहिले त्यसैलाई निखार्नु आफ्नो जिम्मेवारी मान्छन् ।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बनको समयमा उनले नेपाली क्रिकेट हाँकिरहेका छन् । एक हिसाबले यो अवधिमा उनी नै नेपाली क्रिकेटको सर्वेसर्वा जस्ता देखिन्छन् । तर क्रिकेट विवादले साह्रै गाह्रो भएको र निकै कठिनाई भोग्नुपरेका पीडा उनीसँग छ । निलम्बनयता नेपाली क्रिकेट सबै आईसीसीकै रेखदेखमा छ । केही गर्नुपरे आइसीसीसँग छलफल गर्नुपर्छ, कार्यक्रम पठाउनुपर्छ । त्यसको स्विकृतिका लागि कुरेर बस्नुपर्छ ।

‘हामीले बन्द प्रशिक्षणका लागि २ महिनाको समय माग्यौं भने आईसीसीले अहिले भर्खर खेलेर आएको किन चाहियो त्यति धेरै समय भन्छ । नेपाली क्रिकेट यो स्थितिबाट चलिरहेको छ । युवा र महिला क्रिकेटमा यो भन्दा पनि खराब हालत छ,’ टमाटा दुखेसो पोख्छन्, ‘आईसीसीलाई केही भनेर पठायो भने त्यसको जवाफ आउदा गुनासोको मिति सकिसकेको हुन्छ । मागेको बजेट पनि घटाएर पठाइएको हुन्छ । आईसीसीले पनि नेपाली क्रिकेटलाई धेरै गरेको छ, जति गर्नुपर्ने हो त्यति भएको छैन ।’

खेलाडी छनोट उनलाई सबैभन्दा टाउको दुखाइ छ । ‘न खेल छ न प्रतियोगिता । कसरी खेलाडी छनोट गर्ने ? त्यही पनि अपजसी कार्य गर्नुपरेको छ । खेलाडी छनोटमा मुख्य भूमिका प्रशिक्षक र कप्तानको जिम्मामा छ । खेलाडीहरू अनुशासित छन् र भनेको मान्छन् । जसले बन्द प्रशिक्षणमा प्रदर्शन देखाएको छ, उसलाई राखेको छौं । प्रदर्शन देखाउन नसक्नेलाई उसको कमजोरी भनेका छौं । यस्तो छनोटमा विवाद पनि धेरै भएका छन्,’ टमाटा कसैलाई व्यक्तिगत रूपमा कहिल्यै छनोट नगरेको दाबी गर्छन् । उनी भन्छन्, ‘उत्कृष्टमध्ये टिम छान्ने हिसाबमा नै खेलाडी चयन गरेका छौं । छनोट गरेर पठाएको नाम आईसीसीबाट स्विकृत भएर आउनै ५–६ दिन लाग्छ ।’

खेलाडी र आफ्नो पीडा एकसाथ छ उनीसँग । सबै संघ नहुँदा अडकिएका छन् । खेलाडीहरूले १८–१९ महिनादेखि संघबाट पाउने मासिक तलब पाएका छैनन् । ‘त्यही पनि खेलाडी खेलिरहेका छन् र शतप्रतिशत योगदान दिइरहेका छन् । सबैभन्दा ठूलो उपलब्धि यही हो,’ उनी भन्छन्, ‘सबै खेलाडीको घरपरिवार छ । उनीहरूले आफ्नो परिवार हेर्नुपर्ने हुन्छ । मैले पनि नेपालको प्रशिक्षक भएपछि साढे दुई वर्षदेखि कुनै सुविधा पाएको छैन । आफूले पाउनुपर्ने सुविधाबारे आईसीसीलाई मेल पठाए, तर क्रिकेट संघ आएपछि भइहाल्छ भनेर उत्तर दियो ।’

उनी अगाडि भन्छन्, ‘म खेलकुद परिषद्को जागिरे प्रशिक्षक, तर नेपाली टिमसँग यसको कुनै मतलब नै छैन । एउटा ब्याटिङ कन्सलटेन्ट, ट्रेनर, फिजियो राख्दा आईसीसीले उसलाई तलब दिन्छ भने नेपाली प्रशिक्षकलाई नदिनुको कारण के हो ? यू–१९, यू–१६ र महिला टोली प्रशिक्षकको यही हालत छ । प्रमुख प्रशिक्षक भएर पनि पारिश्रमिक नपाउने ? दु:ख त हामीले पनि गरेका छौं । कसले भूमिका खेलेर यस्तो भएको हो थाहा भएन, यो निकै जटिल विषय हो ।’

संघ हुनु निकै जरुरी कारण खोतल्छन् उनी । जबसम्म घरेलु प्रतियोगिताहरू नियमित हुँदैन तबसम्म २०–२२ जनाले खेलेर क्रिकेट थेगिन गाह्रो देख्छन् । ‘यो स्थितिमा कहिलेसम्म सम्हाल्ने हो । क्रिकेट संघ ब्युँत्याउन सरकारले पनि घच्घचाउनुपर्छ । सरकारको पनि ठूलो भूमिका हुन्छ,’ क्रिकट संघ ब्युँत्याउन उनी सबैलाई आग्रह गर्छन् ।
०००

उनले क्रिकेटमा लागेर केही पाएका पनि छन् । आफ्नै प्रशिक्षणमा नेपाललाई २०१६ को यू–१९ विश्वकपमा क्वार्टरफाइनलसम्म पुर्‍याउनुलाई उनले सफलतामा लिएका छन् । करण केसी र सन्दीप लामिछाने नेपाली टोलीका बलिङ आधार हुन् । यी दुईले नै नामिबियामा विश्व क्रिकेट लिग डिभिजन २ मा यसै वर्ष देखाएको ब्याटिङ उनी कहिल्यै बिर्सिनन् । उनी ठान्छन् धेरै नेपाली क्रिकेटप्रेमीले पनि यसलाई बिर्सने छैनन् ।

‘अविश्वसनीय थियो, जादु नै भएजस्तो लाग्छ अहिले पनि । कसैले सोचेको पनि थिएन होला त्यत्रो लामो साझेदारी हुन्छ होला भनेर । जितका लागि ५० रन बाँकी हुँदा टिममा सबैले आस मारिसकेको थियो, त्यसमा कुनै शंका नै छैन,’ टमाटा ६ महिनाअघिको त्यो क्षण सम्झँदा २२ वर्षअघि आफूले खेल्दाझै उत्साही हुन्छन्, ‘१९–२० रन बाँकी भएपछि आशा आएको थियो । करणको फेरि लाग्यो भन्यो रोकिने खेलाडी होइन । करणले त्यो गरेर पनि देखाइदिए । सन्दीपलाई खाली टिक्नु भनेर सन्देश पठाइएको थियो, रन करणले हान्छ भनिएको थियो । त्यो हिसाबमा यी दुई खेलाडीले मजाले योजनाअनुसार खेले । सन्दीपले कमै ब्याटिङ गथ्र्यो, त्यही भएर करणको जति भूमिका थियो त्यति नै सन्दीपको पनि थियो ।’

प्रकाशित : श्रावण २९, २०७५ ०७:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT