१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नीराजन ६ वर्षपछि फर्किए

साफ च्याम्पियनसिप

काठमाडौँ — थ्री–स्टारका मिडफिल्डर नीराजन खड्काले ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा साफ च्याम्पियनसिप २०१८ का लागि सोमबार घोषित २० सदस्यीय नेपाली टिममा आर्मीका डिफेन्डर सुमन अर्यालले पनि पहिलोपल्ट स्थान बनाए ।

नीराजन ६ वर्षपछि फर्किए


राष्ट्रिय टिमबाट नीराजनले पछिल्लोपल्ट सन् २०१२ मा काठमाडौंमा आयोजित एएफसी च्यालेन्ज कपको फाइनल चरणमा प्यालेस्टाइनविरुद्ध खेलेका थिए । उनी साफ च्याम्पियनसिप २०१३ का लागि नेपाली टिम तयारीको एकमहिने ‘आसियन भ्रमण’ मा पनि थिए । तर, उनीसहित विजय गुरुङलाई साफ च्याम्पियनसिपको दुई दिनअघि टिमबाट हटाइएको थियो । त्यसयता राष्ट्रिय टिममा भने यसैपालि फर्किएका हुन् । उनी घरेलु फुटबलमा भने निरन्तर छाइरहेका थिए ।


२५ मार्च, २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका नीराजनले भने, ‘कडा मिहिनेत गरिरहें । त्यसैले फेरि टिममा फर्किएको छु ।’ २९ वर्षीय उनले राष्ट्रिय टिमबाट २९ खेल खेलेका छन् । नीराजन र गोलकिपर विशाल श्रेष्ठलाई बैंककमा भएको १० दिने क्याम्प र इन्डोनेसियाको १८ औं एसियाली खेलकुदबाट फर्केपछि राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाइएको थियो । तर, विशालले भने बंगलादेश यात्राका लागि स्थान बनाउन सकेनन् ।


जापानी प्रशिक्षक ग्योतोकी कोजु (नेपाल प्रवेशमा एक वर्ष रोक लगाइएका) को स्थानमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका बालगोपाल महर्जनको टिममा फरवार्ड जर्जप्रिन्स कार्की र डिफेन्डर कमल श्रेष्ठ स्थान सुरक्षित गर्न असफल रहे ।


उनीहरू एक वर्षयता राष्ट्रिय टिममा निरन्तर रहेका थिए । आर्मीका मिडफिल्डर सन्तोष तामाङ पनि फेरि क्याम्पमै रोकिए । पछिल्लो सिजन घरेलु फुटबलमा छाइरहेका आर्मीका डिफेन्डर सुमन अर्यालले राष्ट्रिय टिममा पहिलोपल्ट स्थान बनाए ।


सेप्टेम्बर ४ देखि १५ सम्म ढाकामा हुने साफ च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँगै समूह ‘ए’ मा रहेको छ । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल साफमा सेमिफाइनलभन्दा माथि उक्लिएको छैन ।

प्रकाशित : भाद्र १२, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?