१८ औं एसियाली खेलकुद: सोमबहादुरको राष्ट्रिय कीर्तिमान

जकार्ता — १८ औं एसियाली खेलकुद भइरहेको मुख्य रंगशाला जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार पुरुष ८०० मिटरमा नेपालका धावक सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

१८ औं एसियाली खेलकुद: सोमबहादुरको राष्ट्रिय कीर्तिमान

उनले निर्धारित दूरी १ मिनेट ५०.२५ सेकेन्डमा पूरा गरे । यसअघि सन् १९९५ को मद्रास साफ खेलकुदमा धनीराम चौधरीले १ मिनेट ५०.६० को कीर्तिमान कायम गरेका थिए ।

राष्ट्रिय कीर्तिमान कायम गरे पनि ८ सय मिटर दौडमा सोमबहादुर हिट चरण पार गर्न सकेनन् । १ मिनेट ४८.६४ भन्दा माथि दूरी पार गर्ने ८ धावक अघिल्लो चरणमा प्रवेश गरेका थिए । सहभागी २७ धावकमध्ये सोमबहादुर १३ औं स्थानमा रहे । १२ औं दक्षिण एसियाली खेलकुदमा छैटौं स्थानमा रहँदा सोमबहादुरले १ मिनेट ५५.०२ सेकेन्डको टाइमिङ बनाएका थिए ।


सोमबारै धाविका सरस्वती भट्टराईले महिला ८०० मिटर दौडमा सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले २ मिनेट १२.८५ सेकेन्डमा दूरी पार गरिन् । २० धाविकाले प्रतिस्पर्धा गर्दा सरस्वती १३ औं स्थानमा रहेकी थिइन् । उनी थोरैले फाइनल चरण पुग्नबाट वञ्चित भइन् । २ मिनेट १०.५० सेकेन्डसम्म दौड पूरा गर्ने खेलाडी फाइनल चरणलाई छानिएका थिए ।


सन् २०१६ को रियो ओलम्पिक खेलेकी सरस्वतीको भारतको भुवनेश्वरमा गत वर्ष सम्पन्न एसियन च्याम्पियनसिपमा बनाएको २ मिनेट १३.९९ सेकेन्ड उनको उत्कृष्ट टाइमिङ हो ।

१२ औं दक्षिण एसियाली खेलकुदमा ८०० मिटरको दूरी २ मिनेट १४.३५ सेकेन्डमा पूरा गर्दा उनी पाँचौं स्थानमा रहेकी थिइन् । दक्षिण एसियाली राष्ट्रबाट दुई श्रीलंकन धाविकामात्र फाइनल चरण पुगेका छन् । बंगलादेश, पाकिस्तान र माल्दिभ्सका खेलाडी सरस्वतीभन्दा पछाडि रहे ।


एथलेटिक्सका प्रशिक्षक आमिरी यादवले सरस्वतीको प्रदर्शन राम्रो भएको बताए । उनले भने, ‘सरस्वतीले राम्रो प्रदर्शन गरिन् । सिजनको उनको यो उत्कृष्ट प्रदर्शन हो । तयारीअनुसार हामीले यो नतिजालाई राम्रो मान्नुपर्छ ।’


महिला ८०० मिटरको राष्ट्रिय कीर्तिमान भने राजकुमारी पाण्डेको नाममा छ । उनले सन् १९८९ को चौथो साफ गेम्स, इस्लामाबादमा २ मिनेट ११.०५ को राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।


विश्वरूपाको विश्वास
नेपाली धाविका विश्वरूपा बुढाले मंगलबार महिला ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । उनले लक्ष्य राष्ट्रिय कीर्तिमान भए पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार्न सफल हुने विश्वास व्यक्त गरिन् ।


उनले १० हजार मिटर दौडमा भाग लिन पाइनन् । शनिबार भएको उक्त इभेन्टमा उनी ट्रयाकमा पुगेर फर्कनुपरेको थियो । इन्ट्री लिस्टमै नभएपछि विश्वरूपाले दौडिन नपाएकी हुन् । सोमबार रंगशालामा भेटिँदा उनले खेल्न नपाएकोमा कुनै गुनासो नरहेको बताइन् । उनले भनिन्, ‘इन्ट्री छ होला भनेर खेल्न गएकी थिएँ । तर लेट इन्ट्रीका कारण नामै रहेनछ । फर्केर आउनुपर्‍यो ।’


विश्वरूपाले १० हजार मिटरलाई आफ्नो खासै तयारी नभएको पनि बताइन् । उनले आफूले ५ हजार मिटरकै लागि भनेर तयारी गरेको र त्यसमै व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिन् ।


एसियाका तीव्र धावक
एसियाडमा पुरुष १०० मिटरको स्वर्ण चिनियाँ धावक सु विङटियनले जितेका छन् । एसियाकै तीव्र गतिका धावक बनेका उनले ९.९२ सेकेन्डमा दौड पूरा गर्दै नयाँ एसियन गेम्सको कीर्तिमान कायम गरेका छन् । १०.०० सेकेन्डमा दौड पूरा गरेका कतारका टोसिन ओगुनोडेले रजत र जापानका यामागाताले कांस्य जिते । उनको पनि टाइम १०.०० सेकेन्ड रहेको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?