कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

१८ औं एसियाली खेलकुद: तेक्वान्दोकै पथमा कराँते र बक्सिङ

जकार्ता — एसियाडमा पदक जितेको इतिहास बोकेका कराँते र बक्सिङ पनि १८ औं एसियाली खेलकुदमा पदकविहीन भएका छन् ।

१८ औं एसियाली खेलकुद: तेक्वान्दोकै पथमा कराँते र बक्सिङ

पदकको भरपर्दो आशा गरिएको दुवै खेलमा सोमबार नेपालको अन्तिम प्रतिस्पर्धा थियो । यसअघि पदक जित्ने बलियो इतिहास बोकेको तेक्वान्दो पदक नजिती जकार्ताबाट स्वदेश फर्किसकेको छ ।

कराँते ५० केजी तौल समूहको कांस्यपदक भिडन्तमा पुगेकी अनु अधिकारी जापानी प्रतिद्वन्द्वी मियाहारा मिहोसँग पराजित भएपछि कराँतेबाट नेपालको पदक सम्भावना टुटेको थियो । अनुसहित काताकी चञ्चला दनुवार र कुमितेकी रीता कार्कीले कांस्यपदकका लागि प्रतिस्पर्धा गरेका थिए ।


जीसीसी हलको तातामी १ मा कुमिते ५० केजी तौल समूहकी अनुले मिहोसँग आक्रामक खेल खेल्नुअघि लगातार तीन फाइट खेलिसकेकी थिइन् । त्यसमा दुई फाइट जितेकी थिइन् । त्यसले गर्दा मिहोलाई अनुको खेलशैली बुझ्न सजिलो भयो । पदकको फाइटमा भने लगातार अनुमाथि हाबी भइन् । उनी ९–० अंकले पराजित भइन् । अनुले दुई इप्पोन र तीन युकोबाट अंक गुमाइन् । विश्व वरीयताको पहिलो नम्बरमा रहेकी मिहो वल्र्ड च्याम्पियनसिपकी रजत विजेता हुन् ।


पहिलो खेलमा मकाउकी चिन चेयुङलाई ५–१ ले हराउँदै क्वाटरफाइनल पुगेकी अनु त्यहाँ चाइनिज ताइपेईकी सियाउसुङ गुसँग पराजित भइन् । ताइपेईकी गु भने उनै मिहोलाई हराउँदै फाइनल पुगेपछि अनुले रिपिचेजको अवसर पाइन् । त्यसमा उनी लाओसकी सिरिभिमोनलाई ३–१ ले हराउँदै पदकतर्फ लम्केकी थिइन् ।


साहसिक प्रदर्शन गर्नुका बावजुद ११ औं ढाका सागकी रजत विजेता अनुले क्वाटरफाइनलमा ताइपेईसँग जितिसकेकी खेल गुमाएकी हुन् । उनले युकोबाट अंक लिँदै राम्रो सुरुआत गरिन् । त्यसपछि उनी २–१ ले पछाडि रहिन् । फेरि युकोमा अंक बटुल्दै खेल बराबरी गरिन् । अन्तिम १० सेकेन्ड रोकिन नसक्दा उनी ७–२ ले पराजित हुँदै सेमिफाइनलबाट आउट भएकी थिइन् । यस खेलमा अनुले अन्तिममा इप्पोन र वाजारी खाइन् ।


इन्चोन एसियाडको अनुभव बटुलेकी अनुले आफूले पदक जित्नका लागि ज्यानै दिएर खेलेको बताइन् । उनले भनिन्, ‘आज देशका लागि पदक जित्ने भनेर खेलेकी थिएँ । त्यहीअनुसार नतिजा पनि आएको थियो । जापानी प्रतिद्वन्द्वी विश्व नम्बर वान खेलाडी हुन् । उनी पनि अरू पदकबाट टाढिएकाले कांस्य जित्न चाहन्थिन् । म पनि त्यही सोचमा थिएँ । तर अन्तिममा म आफैं चुक्न पुगें । पदक जित्न सकिनँ, यसका लागि ‘सरी’ ।’


अनुभवी प्रतिद्वन्द्वी भए पनि नियमित ट्रेनिङ र जापानको वैदेशिक प्रशिक्षणले आफू रिङमा ढुक्क भएर उत्रन सकेको सुनाइन् । त्यो उनले रिङमा प्रमाणित पनि गरेकी हुन् । अनुले अहिले पदक जित्न नसके पनि आउने साग खेलकुदमा पदक जित्ने आशा व्यक्त गरिन् । उनले भने, ‘१२ औं सागमा कराँते समावेश भएन । खेल्न पाइएन । अबको सागमा स्वर्ण जित्ने लक्ष्य छ ।’


कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले अनुको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताए । उनले भने, ‘अनुले निकै राम्रो खेलेकी हुन् । एसियाका उत्कृष्ट प्रतिद्वन्द्वीविरुद्ध यो स्तरमा खेल्नु भनेको धेरै राम्रो हो । यसले हामीलाई हौसला मिलेको छ ।’


प्रशिक्षक श्रेष्ठले समग्रमा कराँतेले पदक जित्न नसक्नुको कारण खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर नहुनु र तयारी नपुग्ने भएको बताए । उनले भने, ‘हामी विश्वका उत्कृष्ट खेलाडीसँग फाइट गर्न आउँछौं । तर हाम्रो तयारी दुई महिना पनि हुँदैन । अन्तर्राष्ट्रिय एक्सपोजर भनेको खेलाडीका लागि परीक्षा हो । त्यसबाटै आफ्नो स्तर थाहा हुन्छ । त्यसैले लामो तयारी गरेर आयौं भने मात्र पदक जित्न सकिन्छ । तयारी त हामीमात्र होइन प्रतिद्वन्द्वीले पनि गरेका हुन्छन् । त्यसैले ऊभन्दा अब्बल गर्न सक्छु भन्ने गरी हुनुपर्छ ।’


त्यसअघि कराँतेको पुरुषतर्फ ८४ केजीमुनिको तौलमा नेपालका दिवस श्रेष्ठ इरानका जाबिउल्लाह पुरसबसँग ८–० ले पराजित भए ।


त्यस्तै बक्सिङमा सोमबार पुरुष ७५ केजी तौल समूहमा दीपक श्रेष्ठ ताइपेईका चियावेई कानसँग अंकका आधारमा ५–० ले पराजित भएसँगै बक्सिङमा नेपालको एसियाड यात्रा सकिएको हो ।


सेपाकटाक्रो
मेन्स रेगुतर्फ नेपालले समूह चरणका एउटै खेल जित्न सकेन । समूह ‘बी’ मा रहेको नेपालले सोमबार अन्तिम खेल भारतसँग २–० ले गुमायो । नेपालले पहिलो गेम २१–५, दोस्रो गेम २१–१५ ले गुमाएको हो । यसअघि मलेसिया, दक्षिण कोरिया र चीनसँग पराजित भएको थियो । समूह ‘बी’ बाट मलेसिया र कोरिया सेमिफाइनल पुगे । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रूपेश सुनार र सञ्जित धिमालको सहभागिता थियो । नेपालले सेपाकटाक्रोको क्वाडरान्ड इभेन्टमा प्रतिस्पर्धा गर्न बाँकी छ ।


स्क्वास
मेन्स टिम इभेन्टमा नेपाल सोमबार दक्षिण कोरियासँग ३–० ले पराजित भयो । अमृत थापा मगर कोरियाका योङजिओ कोसँग ११–२, ११–२, ११–४ ले पराजित भए । अर्को खेल राजेन्द्र शाक्यले ली सेयुङटेकसँग ११–०, ११–५, ११–५ ले गुमाएका थिए । तेस्रो खेलमा अरहान्तकेशर सिंह पनि सेन ह्युन लीसँग हारे । उनले ११–४, ११–३, ११–४ ले खेल गुमाए ।
सोमबारै पाकिस्तानसँग नेपाली टोली ३–० ले नै हारेको थियो । अमृत पाकिस्तानी मोहम्मद असिमसँग ११–२, ११–२, ११–२ ले, ज्ञानु चौधरी पाकिस्तानी अहमद फरिदसँग ११–२, ११–४, ११–१ ले र अरहान्तकेशर इस्रार अहमदसँग ११–५, ११–२, ११–४ ले पराजित भए । नेपालले टिमतर्फ जापानसँग मंगलबार, फिलिपिन्ससँग बुधबार र हङकङसँग बिहीबार खेल्नेछ ।


टेबलटेनिस
मेन्स टिम इभेन्टमा नेपालले तेस्रो खेलमा लाओसलाई ३–१ ले हराएको छ । अमरलाल मल्लले दुई खेल जित्दा स्यान्टु श्रेष्ठले एक खेल जितेका थिए । तेस्रो खेलमा दीप साउन लाओसका खेलाडीसँगको खेल ३–१ सेटले गुमाएका थिए । अमरले साथाथोनलाई ८–११, ११–७, ११–४, ११–७ ले हराए । स्यान्टुले मोन्गासिंहलाई ११–६, ११–६, ११–३ र अमरले फेरि अर्को खेलमा सेन अर्थिडलाई ९–११, ११–९, ११–९, ११–६, ९–११, ११–३ ले पराजित गरेका थिए ।


त्यसअघि लगातार दोस्रो खेल हारेको थियो । अघिल्लो दिन चीनसँग पराजित नेपाल सोमबार उत्तर कोरियासँग ३–० ले पराजित भयो । पहिलो खेलमा राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ कोरियाली जी सङसँगको खेल ११–४, ११–६, ११–६ ले टुंग्याएका थिए । अर्कोमा अमललाल मल्लले यु सङ हमसँगको खेल ११–६, ११–९, ११–७ ले गुमाएका थिए । सिन
ह्योक पाकविरुद्धको खेलमा नेपालका दीप साउनले पहिलो सेट ११–३ ले गुमाए पनि पछिल्लो दुई सेटमा उत्कृष्ट खेल्दै अंक बटुले । उनले ११–९, १२–१० ले सेट गुमाएका थिए ।


वुमेन्स टिममा नेपाली टोलीले लगातार तेस्रो खेल गुमाएको छ । नेपालले सोमबार हङकङसँगको खेल ३–० ले गुमायो । अघिल्लो दिन मलेसिया र सिंगापुरसँग पनि नेपाल सोही अन्तरमा हारेको हो । नेपाली नम्बर एक नविता श्रेष्ठ हङकङकी ली चिङ वानसँग ११–७, ११–३, ११–३ ले, स्वेच्छा नेम्वाङ भने याम मिन्नी सु वाईसँग ११–६, ११–२, ११–४ ले र रविना महर्जन हङकङकी कारेन लेयसँग ११–६, ११–१, १२–१४, ११–१ ले पराजित भएका थिए । महिलामै नेपालले भियतनामसँगको खेल पनि ३–० ले गुमाएको थियो ।

इतिहास र यसपालिका तीन
एसियाडको पदक इतिहासमा नेपालले तीन खेलमा मात्र पदक जितेको छ । ती तेक्वान्दो, बक्सिङ र कराँते हुन् । तर तीनै खेलले जकार्ता एसियाडमा एउटै पदक जित्न सकेनन् । पछिल्लो दुई एसियाडमा समेत पदक नजितेको तेक्वान्दोले खाली हात फर्केर पदक शून्यतामा ह्याट्रिक गर्दा बक्सिङ र कराँतेको पनि उही हालत भयो ।


एसियाडमा नेपालले जितेको १ रजत र २२ कांस्य तेक्वान्दो, बक्सिङ र कराँतेका हुन् । त्यसमा बक्सिङले ६ र कराँतेले ३ कांस्य जितेका थिए । अरू सबै तेक्वान्दोका हुन् । यसपल्ट तेक्वान्दोका १४ खेलाडीले खेलेका थिए । बक्सिङका लागि सोल एसियाड, १९८६ मा स्व.दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य जितेका थिए ।

त्यसपछि १९९० को बेइजिङ एसियाडमा चित्रबहादुर गुरुङले कांस्य जित्दै बक्सिङको पदक जितलाई कायम राखेका थिए । यो बेइजिङमा नेपालले जितेको एक्लो पदक पनि हो । ग्वाङझाउ एसियाड २०१० मा दीपक महर्जनले जितेको कांस्यपदक बक्सिङको पछिल्लो एसियाड पदक हो । यस संस्करणमा पनि अरू खेलका खेलाडीले पदक जित्न सकेनन् ।

त्यस्तै आयोजक जापानले हिरोसिमा एसियाड १९९४ मा कराँतेलाई डेब्यु गरायो । नेपालका लागि कुमिते ६० केजीमाथि तौलमा सीता राईले डेब्यु संस्करणमै कांस्यपदक जितिन् । १९९८ को बैंकक एसियाडमा समरबहादुर गोलेले कांस्य जितेर कराँतेको गौरव कायमै राखे । त्यसपछि एकचोटि इन्चोन एसियाड २०१४ मा कराँतेले कांस्य जितेको थियो ।

विमला तामाङले व्यक्तिगत कातामा कांस्य जितेर कराँते र नेपालको सान राखेकी थिइन् । इन्चोनमा नेपालले जितेको कांस्य पनि एक्लो पदक हो । एसियाली खेलकुदमा दक्षिण एसियाली राष्ट्रबाट नेपाल र श्रीलंकाले मात्र कराँतेबाट पदक जितेका छन् । श्रीलंकाले एक कांस्य जितेको छ, जुन २००२ को बुसान एसियाडमा कातामा थियो ।


बक्सिङतर्फ जकार्तामा पुरुष ५ र महिला ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ विमला श्रेष्ठ, पुनम रावल र संगीता सुनुवारले सहभागिता जनाएका हुन् । पुरुषमा तेजबहादुर देउजा, प्रेम चौधरी, भूपेन्द्र थापा, विष्णुप्रसाद घले र दीपक श्रेष्ठ थिए । सबै खेलाडीले प्रतिस्पर्धात्मक बाउट खेल्दै अंकका आधारमा खेल गुमाए । बक्सिङ टोली एसियाडका लागि थाइल्यान्डमा प्रशिक्षण गरेर आएको हो । कराँतेमा ४–४ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कातामा चञ्चला दनुवार र कुमिते ६९ केजीमुनि प्रतिस्पर्धा गरेकी रीता कार्की कांस्यपदकको मुखैबाट टाढा हुनुपर्‍यो । अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन । पुरुषोत्तम बाँस्तोला (काता), कुमितेका सोनाम लामा, विजय लामा, दिवस श्रेष्ठ, सुनीता महर्जनले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?